आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एक दिवसीय विश्वकप

विश्वकप क्रिकेट : नकआउट चरणमा साह्रै खराब छ भारतको रेकर्ड

इतिहासको यो रेकर्डलाई गलत साबित गर्न सक्ला भारतले ?
शुक्रबार, २३ चैत २०८०, १३ : १२
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भारत र न्युजिल्याण्डबिच सेमिफाइनल खेल हुँदैछ ।

जारी प्रतियोगिता अन्तर्गत लिग चरणका ९ खेलमा भारतले शत प्रतिशत नतिजा आफ्नो पक्षमा पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । तर भारतले लिग चरणको सफलतालाई सेमिफाइनल र फाइनलमा पनि निरन्तरता दिन सक्ला ? अहम् प्रश्न खडा भएको छ । किनकि इतिहास पल्टाएर हेर्ने हो भने भारतका लागि नकआउट चरणका म्याच घातक बन्ने गरेका छन् ।

विगत एक दशकमा भारतीय टिमले आइसीसीका विभिन्न प्रतियोगितामा लिग चरणमा शानदार नतिजा निकालेको छ । तर नकआउट चरण अर्थात् सेमिफाइनल वा फाइनलमा उसको नतिजा निराशाजनक छ ।

न्युजिल्याण्डविरुद्ध सन् २०१९ को विश्वकप सेमिफाइनल म्याचबाहेक बाँकी ७ म्याचमा भारतीय टिमले पहिला ब्याटिङ गरेको अवस्थामा कम्तीमा ६ विकेट र पछि ब्याटिङ गरेको अवस्थामा कम्तीमा ९५ रनभन्दा बढी अन्तरले पराजित भएको छ ।

सन् २०१३ को च्याम्पियन्स ट्रफीपछि जति पनि आइसीसी प्रतियोगिता भएको छ, म्याच विजेताको हिसाबले तिनमा भारत सबैभन्दा सफल टिम बनेको छ ।

भारतले आइसीसीका विभिन्न प्रतियोगिता अन्तर्गत कुल ४४ म्याचमध्ये ३८ वटामा जित हासिल गरेको छ, अर्थात् भारतले ८६ प्रतिशत म्याच जितेको छ ।

तर, यो अवधिमा ९ मध्ये ८ प्रतियोगितामा भारतले नकआउट चरणमा पराजित हुनु परेको छ । अर्थात् भारतले नकआउट चरणमा यो अवधिमा ८९ प्रतिशत पराजय झेलेको छ ।

सन् २०१४ मा टी–२० विश्वकपको फाइनलमा भारतलाई श्रीलंकाले ६ विकेटले पराजित गरेको थियो । जबकि, फाइनल अघि भारतले लगातार ५ म्याच जितेको थियो ।

सन् २०१५ को एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई ९५ रनले पराजित गरेको थियो । जबकि सेमिफाइनल अघि भारतले लगातार ७ म्याच जितेको थियो ।

सन् २०१६ को टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा वेस्टइन्डिजले भारतलाई ७ विकेटले पराजित गरेको थियो । जबकि लिग चरणको खेलमा भारतले एउटा म्याचमात्र हारेको थियो ।

सन् २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई पाकिस्तानले १८० रनको विशाल अन्तरले पराजित गरेको थियो । जबकि लिग चरणमा भारतले एउटामात्र म्याच हारेको थियो ।

सन् २०१९ को एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतलाई न्युजिल्याण्डले १८ रनले पराजित गरेको थियो । उक्त प्रतियोगिताका लिग चरणका ९ खेलमा भारतले एउटा म्याचमा मात्र पराजित हुनु परेको थियो ।

सन् २०२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई न्युजिल्याण्डले ८ विकेटले पराजित गरेको थियो । जबकि भारत अंक तालिकाको शीर्ष स्थानमा थियो ।

सन् २०२२ को टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतलाई इङ्गल्याण्डले १० विकेटले पराजित गरेको थियो । सो प्रतियोगितामा भारतले लिग चरणका खेलमध्ये एउटामा मात्र पराजित हुनु परेको थियो ।

सन् २०२३ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई अस्ट्रेलियाले २०९ रनले पराजित गरेको थियो । उक्त प्रतियोगिताको अंक तालिकामा भने भारत पहिलो नम्बरमा थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप