आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
भूकम्प पीडित

घर आफ्नो नाममा नहुँदा क्षतिपूर्ति पाउनेको सूचीमै परेनन् वीरे

सोमबार, २४ वैशाख २०८१, १६ : १३
सोमबार, २४ वैशाख २०८१

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–१ का ४८ वर्षीय वीरे पुन ०६३ मा आफ्ना छोराछोरीको भविष्य सुन्दर बनाउने उद्देश्यसहित सदरमुकाम खलंगा आए । सामान्य परिवारका उनले सुरुमा हार्डवेयर पसल गरे । त्यसबाट खासै आम्दानी भएन, सानोतिनो भए पनि होटल चलाउने सोचे ।

तीन छोरी र दुई छोराका साथ सदरमुकाम छिरेका उनका लागि निकै चुनौतीपूर्ण बसाई थियो बजारको । ०६७ सालदेखि भेरी नगरपालिका–३, थाप्लेमा अर्काको जमिनमै लगानी गरेर उनले सामान्य होटल सुरु गरे ।

स्थानीय रामबहादुर पुनले आफ्नो जमिनमा एक कोठे घर बनाएर त्यसै छाडेका थिए । वीरेले त्यसलाई मर्मत गरे, माथिल्लो तलामा आफैँले टिन (जस्तापाता)को छाना हालेर कोठा निकाले । दुई कोठा र दुई अलग्गै टिनकै कोठा बनाए ।

त्यो बेला नै घर मर्मतदेखि टिन लगाउने र होटलका सामग्रीहरु किन्न उनको साढे पाँच लाख खर्च भएको थियो ।  

खाना, नास्ता खुवाउने सामान्य होटल हो उनको । पछि मान्छेहरु बास बस्ने गरी आउन थालेपछि नजिकैको पक्की घरमा दुई कोठा भाडामा लिए, जहाँ पाहुनालाई सुताउँथे ।

वीरेको परिवार भने होटल भएकै घरमा बस्थ्यो । होटलको आम्दानीले पाँच जना छोराछोरी पढाउन, घर खर्च र जमिनको तीन हजार भाडा तिर्न ठिकै हुन्थ्यो । जसोतसो घर खर्च चलेर पनि उनीहरुले ऐलानी जग्गामा थोरै लगानी गरेर सानो कच्ची घर बनाए । उक्त घरमा कोही बस्दैनन् ।

कार्तिक १७ गते मध्यरात आएको विनाशकारी भूकम्पले उनको गाउँको घर, लगानी गरेको होटल र सानो ऐलानी जग्गामा बनाइएको घर सबै भताभुङ्ग पारिदियो ।

घरमा कान्छो छोरा, साइली छोरी र वीरेका बुढाबुढी मात्रै थिए । जेठी छोरीको बिहे भइसक्यो, माइली छोरी काठमाडौँमा थिइन् भने दसैँको टीका लगाउन नलगाड गएका उनका जेठा छोरा फर्किएका थिएनन् ।

bire (4)

घर भत्किएपछि छोराछोरी र श्रीमतीलाई सामान्य चोट लागे पनि वीरे भने गम्भीर घाइते भए । वीरेको पिठ्यूँ र खुट्टाका नराम्ररी चोट लाग्यो । उनी भन्छन्, ‘म र श्रीमती तल्लो तलामा थियौँ, छोराछोरी माथिल्लो तलामा, टिनको छानो भएकाले छोरीलाई सामान्य चोट लागे पनि बेहोस अवस्थामै निस्किन सफल भइ, बाँकी तीन जना त पाँच मिनेटमात्र ढिलो भएको भए मर्ने थियौँ ।’

छोरी ललिताका अनुसार कोही त्यहाँ आएर छिटो–छिटो भग्नावशेष पन्छाएर अक्सिजन पास हुने ठाउँ बनाइदिए । त्यसपछि च्यापिएका वीरेका बुढाबुढीले सास फेर्न पाए । ललिता भन्छिन्, ‘म बेहोस थिएँ, हामी बस्नेभन्दा दायाँको घर पनि ढलेको रहेछ, मम्मीबुबा जीवित हुनुहोला भन्ने लागेकै थिएन, त्यही बेला कोही आएर उद्धार गरिदिनुभयो । पाँच मिनेटमात्र ढिला भएको भए मम्मी, बुबा र भाइको मृत्यु हुन सक्थ्यो ।’

गम्भीर घाइते भएका वीरेको अहिले काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एक हप्ता जिल्ला अस्पतालमा उपचार गराउँदा पनि सम्भव नभएपछि अहिले उनलाई काठमाडौँ लगिएको ललिता बताउँछिन् ।

होटल र घर भत्किएर आफू मरणासन्न अवस्थामा पुग्दा पनि वीरेको नाममा ती कुनै भौतिक संरचना नहुँदा राहतबाट उनी वञ्चित भएका छन् । होटल सञ्चालन गरेको जमिनका मालिक रामबहादुरले राहतका लागि आफ्नो नाम लेखाएका छन् भने उता गाउँको घर अंशवण्डा नभएका कारण उनकै कान्छा भाइले क्षति विवरणमा आफ्नो नाम लेखाएका छन् ।

लाखौँ लगानी गरेका वीरेले भने क्षति विवरणमा नामै राख्न सकेनन् । उनी यता न उताका भएका छन् । ‘लाखौँ लगानी गरेँ, भूकम्पले भताभुङ्ग पार्यो, अहिले क्षतिपूर्ति र राहत जसको नाममा घर छ, त्यसैले पाउँछ भन्छन्, म कहाँ जाऊँ ? मेरा छोराछोरीलाई कहाँ राखौँ ?’ वीरेले रातोपाटीसँग गुनासो पोखे ।

वीरेका होटेलको फ्रिज, दराज, कुर्सी, टेबल, सबै नष्ट भइसके । भग्नावशेष पन्छाउन गाह्रो भएपछि प्रहरीले त्यसै छाडेको छ । काठमाडौँमै रहेकी माइली छोरीसहित चार जनाको परिवार काठमाडौँमा छन् भने दुई छोरा भत्किएको घर नजिकै पाल टाँगेर बसेका छन् ।

bire (1)

अरुले राहत सामग्री पाइरहँदा वीरेका परिवारले भने पाउन सकिरहेको छैन । ललिताका अनुसार बुधबार चामल, ग्यास, पकाउने भाँडा दिइएको थियो । ‘एउटा पाल र एउटा ब्ल्याङ्केट दिइएको छ, यस्तो चिसोमा त्यस्तो एकसरो कपडाले के नै हुन्छ र ?’ उनी भन्छिन्, ‘त्यहाँ अहिले राहतको चामल, नुन लगायत अरुले पाइरहेका छन्, हामीले पाइरहेका छैनौँ ।’

रामबहादुरलाई पहिला नै आफूहरुले लगानी गरेको रकम फिर्ता गर्न आग्रह गर्दा पनि नगरेको ललिता बताउँछिन् । वीरे घाइते भएपछि अहिले परिवारको गुजारा र अहिलेको संकट टार्न समस्या भएको उनको भनाइ छ ।

‘बुबा घाइते भएसँगै टुहुरोजस्तै भएका छौँ, हामी सबै सानै छौँ, हामी जस्तो भूकम्प पीडितका लागि सरकारले केही क्षतिपूर्ति÷राहतको व्यवस्था गरिदिए हुन्थ्यो,’ ललिता भन्छिन्, ‘बुबाले ढाड नै चलाउन सक्नुहुन्न, हामीले कसरी गुजारा चलाउने ?’

ललिता अहिले बीबीएस चौथो सेमेस्टर पढ्दैछिन् । होटलबाहेक अन्य कुनै आयस्रोत नभएकाले राज्यले सोचिदिनुपर्ने उनको भनाइ छ ।

उता गाउँको घरमा उनका साइलो काकाका छोराछोरीहरु सुत्थे । त्यो दिन ६ जना सुतेका रहेछन् । भूकम्पले घर भत्काएपछि दुई बहिनी (काकाको छोरी) को मृत्यु भएको ललिताले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप