आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

विश्वकप क्रिकेट : सेमिफाइनलमा भारत र न्युजिल्याण्ड भिड्दै

मङ्गलबार, २५ वैशाख २०८१, ०८ : ०४
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल आज भारत र न्युजिल्याण्डबिच हुँदैछ । चार वर्ष चार महिना पाँच दिन अघि यिनै दुई टिम एक दिवसीय विश्वकप क्रिकेटको अघिल्लो संस्करणमा सेमिफाइनलमै प्रतिस्पर्धा गरेका थिए, जसमा न्युजिल्याण्डले भारतलाई पराजित गरेको थियो ।

भारतका लागि अघिल्लो विश्वकपमा बेहोरेको हारको बदला लिने अवसरका रुपमा यो म्याचलाई हेरिएको छ भने न्युजिल्याण्डका लागि आइसीसी टुर्नामेन्ट अन्तर्गत नकआउट चरणका म्याचमा भारतमाथिको दबदबालाई निरन्तरता दिने अवसरका रुपमा हेरिएको छ ।

न्युजिल्याण्डसँग भारत सन् २०१९ को विश्वकप सेमिफाइनलमा मात्र होइन, २०२१ मा सम्पन्न आइसीसी वर्ल्ड टेस्ट च्याम्पियनसीपको फाइनलमा पनि पराजित भएको थियो ।

अघिल्लो विश्वकपमा जस्तै यस पटक पनि भारत अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो भने न्युजिल्याण्ड चौथो पोजिसनमा रहँदै सेमिफाइनल यात्रा पक्का गरेको हो ।

सेमिफाइनल म्याचको पूर्वसन्ध्या अर्थात् मंगलबार दुवै टिमका कप्तानले नतिजा आफ्नो पक्षमा पार्न हरसम्भव प्रयास गर्ने बताए । पत्रकार सम्मेलनमा भारतका कप्तान रोहित शर्माले भने, ‘न्युजिल्याण्ड सबैभन्दा अनुशासित टिम हो, उनीहरु निकै स्मार्ट तरिकाले क्रिकेट खेल्छन् । न्युजिल्याण्डका केही खेलाडीले हाम्रा केही खेलाडीसँगै क्रिकेट खेलेका छन् र उनीहरु हाम्रो मानसिकताबारे जानकार छन् ।’

आइपीएल जस्ता फोरममा एक साथ खेलेका कारण आफूहरुले पनि न्युजिल्याण्डका केही खेलाडीको मानसिकता बुझ्न पाएको उनको भनाइ थियो । ‘हामीलाई पनि थाहा छ कि उनीहरु कसरी खेल्छन्, उनीहरुको शक्ति र कमजोरी के हो भन्ने हामीलाई पनि थाहा छ,’ उनले भने ।

यस्तै, न्युजिल्याण्डका कप्तान केन विलियम्सनले दुवै टिमसँग सेमिफाइनल जित्ने बराबर मौका रहेको बताए । उनले भने, ‘हामीले आफ्नो क्षमता अनुसार खेल्यौँ भने जे पनि हुन सक्छ ।’

उनले घरेलु मैदानमा भारतलाई दर्शकको पूरा समर्थन रहने र त्यो दबाबमा आफूहरुले कसरी खेल्नुपर्छ भन्ने पनि बुझेको प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप