आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
महिला टी—२० क्रिकेट शृंखला

तान्जनियासँग २७ रनले हार्‍यो नेपाल

मङ्गलबार, २५ वैशाख २०८१, १० : १५
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलाको बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । नेपाललाई तान्जनियाले २७ रनले पराजित गरेको हो । नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो । 

टस जिती पहिले ब्याटिङको निणर्य लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमा अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सक्यो । 

नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा ओर्लिएको नेपाली टोलीका ब्याट्रहरुले निराशाजनक प्रदर्शन गरे । ब्याटिङतर्फ कुनै पनि खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका लागि सातौँ नम्बरमा क्रिज समाल्न आएकी अनुभवी खेलाडी सीता रानामगरले सर्वाधिक ४३ रनको योगदान गरिन् ।

सीताले ३१ बलको सामना गरी चार छक्का पनि हिर्काइन् । उक्त खेलमा दुबै टोलीका अन्य कुनै ब्याट्रले छक्का प्रहार गर्न सकेनन् । यसदेखि वाहेक नेपालका लागि कप्तान इन्दू बर्माले मात्र दोहोरो अंकमा रन बनाउन सकिन् । 

इन्दूले १८ बलको सामना गरी दुई चौकाको मद्दतले १५ रन बनाइन् । नेपालका अन्य खेलाडीले भने दोहारो अंकमा रन बटुल्न सकेनन् । इश्वरी बिष्ट तीन रन बनाउँदै आउट भइन् । उनको विकेट तान्जनियाकी बलर जेरोमले लिएकी हुन् । खुसी डंगोल शून्य रनमा अविजित रहिन् । 

तान्जनियाका बलर सोफिया जेरोमले तीन विकेट लिइन् । निमा पियुषले दुई विकेट हात पारिन् । आइसा मोहमद, युसाङ्गा र पेरिस जाकायोले एक—एक विकेट लिए । नेपाली टोलीले अतिरिक्त रुपमा नौ रन पाएको थियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार आयोजक हङ्कङसँग खेल्नेछ । सोही दिन जापान र तान्जनियाबिच अर्को खेल हुनेछ ।

पहिलो विकेटका रुपमा नेपालले ओपनर बिन्दू रावललाई गुमाएको थियो । उनी शून्य रनमै पेभेलियन फर्किएकी थिइन् । उनलाई तान्जनियाकी बलर पेरिस जाकायोले पहिलो ओभरको दोस्रो बलमै एलबीडब्लूको धरापमा पारेकी थिइन् । उनी आउट हुँदा नेपालले दुई रन बनाएको थियो ।

नेपालले दोस्रो विकेटका रुपमा सम्झना खड्कालाई गुमाएको थियो । उनी पनि खाता खोल्नुअघि नै पेभेलियन फर्किएकी थिइन् । उनलाई तान्जनियाकी बलर निमा पियुषले सोफिया जेरोमद्वारा क्याच गराएकी थिइन् । १.३ ओभरमा सम्झना आउट हुँदा नेपालले केवल तीन रन बनाएको थियो ।

तेस्रो विकेटका रुपमा ओपनर पूजा महतो सात बलमा तीन रन बनाउँदै आउट भएकी थिइन् । उनलाई तान्जनियाकी बलर निमा पियुषले बोल्ड गरेकी थिइन् । पूजा आउट हुँदा नेपालले ३.४ ओभरमा ११ रन बनाएको थियो । 

चौथो विकेटका रुपमा काजल श्रेष्ठ नौ रन बनाउँदै आउट भएकी थिइन् । उनी टोलीकी विकेटकिपर पनि हुन् । काजलले नौ बलमा एक चौका पनि हिर्काएकी थिइन् । उनी रनआउट हुँदै मैदानबाट बाहिरिएकी थिइन् । उनी आउट हुँदा नेपालले ४.१ ओभरमा १५ रन बनाएको थियो ।

त्यसलगत्तै नेपालले पाँचौँ विकेटका रुपमा पूर्वकप्तान रुबिना क्षेत्रीलाई गुमाएको थियो । उनी खाता खोल्नुअघि नै रन आउट भई पेभेलियन फर्किएकी थिइन् । ४.६ ओभरमा उनी आउट हुँदा नेपालले केवल १७ रन बनााएको थियो । 

नेपालले छैठौँ विकेटका रुपमा कप्तान इन्दू बर्मालाई गुमाएको थियो । उनी तान्जनियाकी बलर युसाङ्गाको बलमा विकेटकिपर सुफा मोहमेदीद्वारा स्टम्पिङ आउट भएकी थिइन् । पेभेलियन फर्किनुअघि उनले १८ बलमा दुई चौकाको मद्दतले १५ रन बनाएकी थिइन् । उनी आउट हुँदा नेपालले ७.५ ओभरमा ३२ रन बनाएको थियो ।

नेपालको सातौँ विकेटका रुपमा अस्मिना कर्माचार्य दुई रन बनाउँदै आउट भएकी थिइन् । उनको विकेट तान्जनियाकी बलर आइसा मोहमदले लिएकी थिइन् । ८.५ ओभरमा उनी आउट हुँदा नेपालले ३६ रनमात्र बनाउन सकेको थियो । 

आठौँ विकेटका रुपमा संगिता राई आउट भएकी थिइन् । उनी चार रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किएकी थिइन् । उनको विकेट तान्जनियाकी बलर सोफिया जेरोमले लिएकी थिइन् । १२औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ५५ रन बनाएको थियो ।

त्यसअघि टस जिती पहिले ब्याटिङको निणर्य लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । तान्जनियाका लागि आइसा मोहमदले २१ रनको योगदान गरिन् । हुद्दा ओमारीले २५ रन बनाइन् । उनले २६ बलको सामना गरी दुई चौका हिर्काइन् । 

ओमारी रन आउट भएर पेभेलियन फर्किएकी थिइन् । उनलाई अस्मिना कर्माचार्यले रन आउट गराएकी थिइन् । तान्जनियाको खातामा सोफिया जेरोमले अविजित ६ र सुफा मोहमेदीले अविजित एक रन थपिन् । तान्जनियाले अतिरिक्त रुपमा १० रन पाएको थियो । 

नेपालकी बलर संगिता राईले दुई विकेट लिइन् । उनले तीन ओभर बलिङ गर्दै केवल १६ रन खर्चिएकी थिइन् । यसका अतिरिक्त कप्तान इन्दू बर्मा, पूजा महतो र निवर्तमान कप्तान रुबिना क्षेत्रीले एक—एक विकेट लिएका थिए । 

तान्जनियाको पहिलो विकेट नेपाली टोलीकी निवर्तमान कप्तान रुविना क्षेत्रीले लिएकी थिइन् । रुविनाले तान्जनियाकी ओपनर फातुमा किबासुलाई बोल्ड गरेकी थिइन् । तान्जनियाकी कप्तानसमेत रहेकी फातुमाले पेभेलियन फर्किनुअघि १५ बलको सामना गरी एक चौकाको मद्दतले ११ रन बनाएकी थिइन् । तान्जिनियाले ३.४ ओभरमा पहिलो विकेट गुमाउँदा १७ रन बनाएको थियो ।

तान्जनियाको दोस्रो र तेस्रो विकेट नेपाली बलर संगिता राईले लिएकी थिइन् । संगिताले तान्जनियाकी ओपनर साउम मातेईलाई दोस्रो विकेटका रुपमा पेभेलियन फर्काएकी थिइन् । संगिताले उनलाई विकेटकिपर काजल श्रेष्ठद्वारा स्टम्पिङ गराएकी थिइन् । पेभेलियन फर्किनुअघि साउमले १६ रन बनाएकी थिइन् । उनले २५ बलमा एक चौका पनि हिर्काइन् । तान्जनियाले ९.३ ओभरमा दोस्रो विकेट गुमाउँदा ४२ रन बनाएको थियो ।

त्यसलगत्तै ९.५ ओभरमा संगिताले तान्जनियाको तेस्रो विकेट लिएकी थिइन् । उनले तान्जनियाकी मोनिका पास्कललाई कप्तान इन्दू बर्माद्वारा क्याच गराएकी थिइन् । मोनिकाले पेभेलियन फर्किनुअघि १८ बलमा १० रन बनाएकी थिइन् । मोनिका आउट हुँदा तान्जनियाले ४३ रन बनाएको थियो ।

तान्जनियाको चौथो विकेट कप्तान इन्दू बर्माले लिएकी थिइन् । इन्दूले तान्जनियाकी आइसा मोहमदलाई आफ्नो बलिङमा आफैले क्याच लिएर पेभेलियन फर्काएकी थिइन् । पेभेलियन फर्किनुअघि आइसाले २१ बलमा एक चौकाको मद्दतले २१ रन बनाएकी थिइन् । १४.३ ओभरमा उनी आउट हुँदा जान्तजियाले ७१ रन बनाएको थियो । 

तान्जनियाको पाँचौँ विकेटका रुपमा निमा पियुष पेभेलियन फर्किएकी थिइन् । रनआउट भई पेभेलियन फर्किनुअघि उनले ६ रन बनाएकी थिइन् । उनलाई कप्तान इन्दू बर्माले रन आउट गरेकी थिइन् । १५.५ ओभरमा उनी आउट हुँदा तान्जनियाले ८५ रन बनाएको थियो ।  

तान्जनियाको छैठौँ विकेट पूजा महतोले लिएकी थिइन् । उनले तान्जनियाकी पेरिस जाकायोलाई नौ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएकी थिइन् । पूजाले पेरिसलाई बिन्दू रावलद्वारा क्याच गराएकी थिइन् । पेरिसले ६ बलमा एक चौका हिर्काएकी थिइन् । १८.२ ओभरमा पेरिस आउट हुँदा तान्जनियाले ९८ रन बनाएको थियो । 

शृंखलामा नेपाल, तान्जिनिया र हङ्कङसँगै चौथो टोलीका रुपमा जापान सहभागी छ । नेपालले नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । नेपालले तान्जिनियाविरुद्धको खेलको पनि यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप