आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुस्लिम समुदायका अगुवाले भाइटीका लगाएर मनाए तिहार

मङ्गलबार, २५ वैशाख २०८१, १९ : ३०
मङ्गलबार, २५ वैशाख २०८१

बाँके । बाँकेको नेपालगञ्जमा भाइ तिहारको दिन मुस्लिम समुदायका अगुवाले दिदीबहीनीको हातबाट टीका लगाएर तिहार मानेका छन् । बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले आज हिन्दू धर्म अनुरुप दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका हुन् ।

धार्मिक सद्भावलाई कायम राख्न र दिदीभाइको सम्बन्ध सुमधुर बनाउन आफूले तिहारको भाइटीका लगाएको सिद्धिकीले बताए । उनले दिदी बनाएका माया थापा र बहिनी बनाएका मीना तुलाधरको हातबाट झण्डै दुई दशकदेखि भाइटीका लगाउँदै आएको बताए । 

‘म आफु ३५ वर्षको हुँदादेखि नै बनाएको दिदीबहीनीको हातबाट भाइटीका लगाउँदै आइरहेको छु । अहिले म ५४ वर्षको भएँ । यो सम्बन्ध केवल सामाजिक सद्भावको मात्र नभई दिदीभाइ र दाजुबहिनीबीचको प्रेमको सम्बन्ध पनि हो ।’ सिद्धिकीलाई भाइटीका लगाउन दिदी माया र बहिनी मीना नेपालगञ्जस्थित बौद्धगुम्बा टोलमा रहेको सिद्धिकीको घरमा गएका थिए ।

सामाजिक अभियानकर्मी सिद्धिकीले पर्वका बेला एकअर्कासँग मिलेर खुसी साट्ने गरेको बताए । उनले भने, ‘हिन्दूले मुस्लिमको चाडलाई मनाउँछन् र मुस्लिमले पनि हिन्दूको चाडपर्वलाई हर्षोल्लासका साथ हामी यसैगरी मनाउँदै आइरहेका छौँ ।’ 

त्यसैगरी बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले पनि आफूले मानेको बहिनीको हातबाट भाइटीका लगाएर तिहार हर्षोल्लासका साथ मनाएका छन्। उनले बहिनीको हातबाट भाइटीका लगाएको तस्बिर आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा ‘ह्याप्पी तिहार’ भनेर पोष्ट गरेका छन् ।

मन्सुरीले दसैंँ, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैँ यसरी नै मिलेर मनाउने गरेको बताए । ‘हामी सद्भावको सहरमा छौँ । यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो । यहाँ मुस्लिमले हिन्दूको मात्र नभई हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ,’ मन्सुरीले भने,“मेरो अन्य समुदायको धर्म र आस्थाप्रति मनदेखि नै सम्मान छ ।  टीका थाप्दा मैले मान्ने हिन्दू समुदायका मान्यजनलाई खुसी मिल्छ र उहाँहरू खुसी हुँदा मलाई पनि खुसी मिल्छ, भने त्यो खुसीमा हामी अवस्य सहभागी हुन्छौँ र हुनैपर्छ ।” 

मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर उनीहरूसँग रमाउने गरेको बताए । बाँकेमा हिन्दू र मुस्लिम समुदायले वर्षौंदेखि एकआपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउँदै आएको उनको भनाइ छ । 

तिहारको अवसरमा भाइटीकाको दिन मुस्लिम धर्मगुरू मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई शुभकामना दिएका छन्। दुवै समुदायका धर्म गुरूले एकता र सद्भावका लागि संयुक्त रूपमा सबै एकआपसमा मिलेर बस्न आग्रहसमेत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप