आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

विश्वकपको दोस्रो सेमिफाइनलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

बुधबार, २६ वैशाख २०८१, ११ : ३३
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको दोस्रो सेमिफाइनल खेलमा बिहीबार दक्षिण अफ्रिकाले बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे कोलकातास्थित ऐतिहासिक इडेन गार्डेन स्टेडियममा सुरु हुनेछ । 

यो खेलमा विजयी हुने टोलीले जारी विश्वकपको उपाधिका लागि आयोजक राष्ट्र भारतसँग भिडन्त गर्नेछ । भारत भने बुधबार खेलिएको पहिलो सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई हराउँदै फाइनलमा पुगेको हो । 

दक्षिण अफ्रिकाले हालसम्म एकदिवसीय विश्वकपको उपाधि जितेको छैन भने अस्ट्रेलिया पाँचपटकको विश्व च्याम्पियन हो । जारी विश्वकपमा भने दक्षिण अफ्रिका निकै लयमा देखिएको छ । प्रारम्भिक चरणको खेलपछि अंक तालिकामा दक्षिण अफ्रिका दोस्रो र अस्ट्रेलिया तेस्रो हुँदै सेमिफाइनलमा पुगेका हुन् । 

दक्षिण अफ्रिका र अस्ट्रेलिया दुबैले प्रारम्भिक चरणमा खेलिएका नौमध्ये सात खेलमा जित हात पारेका थिए । तर, नेट रन रेटमा भने अस्ट्रेलियाभन्दा दक्षिण अफ्रिका अगाडि थियो । प्रारम्भिक चरणमा यी दुबै टोली आयोजक भारतसँग पराजित भएका थिए । 

यसदेखि वाहेक दक्षिण अफ्रिका एक खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग पराजित भएको थियो । अस्ट्रेलिया भने यही विश्वकपको प्रारम्भिक चरणको खेलमा एकपटक दक्षिण अफ्रिकासँग पराजित भइसकेको छ । 

जारी विश्वकपमा दक्षिण अफ्रिकाले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । सुरुमा खासै गतिलो प्रदर्शन गर्न नसकेको अस्ट्रेलिया भने पछि लयमा फर्किएको हो । खासगरी अफगानिस्तानविरुद्धको खेलमा अस्ट्रेलियाको प्रदर्शन उच्चस्तरको थियो । 

००००

लयमा छन् दुबै टोली

यसैगरी यो विश्वकपमा दक्षिण अफ्रिका उच्च योगफल बनाउने टोली पनि हो । दक्षिण अफ्रिकाले प्रारम्भिक चरणको श्रीलंकाविरुद्धको खेलमा पाँच विकेट गुमाएर चार सय २८ रन बनाएको थियो । जारी विश्वकपको यो सबैभन्दा ठूलो योगफल हो । 

सर्वाधिक योगफल बनाउने टोलीको सूचिमा चौथो नम्बरमा पनि दक्षिण अफ्रिका नै रहेको छ । दक्षिण अफ्रिकाले इङ्ल्यान्डविरुद्धको खेलमा सात विकेट गुमाएर तीन सय ९९ रन बनाएको थियो । अस्ट्रेलिया पनि उच्च योगफल बनाउने टोलीको सूचीमा पाँचौँ स्थानमा छ । अस्ट्रेलियाले नेदरल्यान्ड्सविरुद्धको खेलमा आठ विकेट गुमाएर तीन सय ९९ रन बनाएको थियो । 

यसका अतिरिक्त दक्षिण अफ्रिका जारी विश्वकपमा सबैभन्दा कम योगफल बनाउने टोलीमध्ये पनि एक हो । दक्षिण अफ्रिकाले भारतविरुद्धको खेलमा २७.१ ओभरमा अलआउट हुनुअघि ८३ रनमात्र बनाउन सकेको थियो । जारी विश्वकपको यो दोस्रो कम योगफल हो । सबैभन्दा कम योगफल भने श्रीलंकाले बनाएको थियो । श्रीलंकाली टोली भारतविरुद्धको खेलमा १९.४ ओभरमा केवल ५५ रन बनाउँदै अलआउट भएको थियो । 

यसैगरी यो विश्वकपमा प्रतिद्वन्द्वीलाई सबैभन्दा विशाल रनअन्तरले हराउने कीर्तिमान पनि हालसम्म अस्ट्रेलियाकै नाममा छ । अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई तीन सय नौ रनको विशालअन्तरले हराएको थियो । सबैभन्दा ठूलो रनअन्तरले जित हासिल गर्ने टोलीको सूचिमा दक्षिण अफ्रिका पनि तेस्रो नम्बरमा छ । दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई दुई सय २९ रनले हराएको थियो । 

सबैभन्दा ठूलो रनअन्तरको हार ब्यहोर्ने टोलीको सूचिमा पनि दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । भारतले दक्षिण अफ्रिकालाई तीन सय दुई रनको विशालअन्तरले हराएको थियो । यो विश्वकपमा अस्ट्रेलियाले भने हालसम्म यति नमिठो हार भोग्नु परेको छैन ।

यसैगरी यो विश्वकपमा सबैभन्दा ठूलो विजयलक्ष्य पुरा गर्ने टोलीको सूचिमा पनि अस्ट्रेलिया अगाडि देखिन्छ । यो सूचिमा अस्ट्रेलिया दोस्रो र तेस्रो स्थानमा छ । बंगलादेशले दिएको लक्ष्य अस्ट्रेलियाले ४४.४ ओभरमा केवल दुई विकेट गुमाएर तीन सय सात रन बनाउँदै पुरा गरेको थियो । 

यसका अतिरिक्त अफगानिस्तानले दिएको लक्ष्य पनि अस्ट्रेलियाले ४६.५ ओभरमा सात विकेट गुमाएर दुई सय ९३ रन बनाउँदै पुरा गरेको थियो । जारी विश्वकपमा यी दुबै टोलीसँग एउटा खराब कीर्तिमान पनि जोडिएको छ । यी दुबै टोलीले यो विश्वकपमा सबैभन्दा बढी अतिरिक्त रन दिएका छन् । 

यो तथ्याङ्कले दक्षिण अफ्रिका र अस्ट्रेलिया दुबैले आफ्नो बलिङमा सुधार ल्याउनु पर्ने संकेत गर्छ । दक्षिण अफ्रिकाले हालसम्म एक सय ७३ अतिरिक्त रन दिइसकेको छ । यो सूचिमा दक्षिण अफ्रिका सबैभन्दा अगाडि छ । अस्ट्रेलियाले पनि एक सय ४० रन अतिरिक्त रुपमा दिएको छ । यो सूचिमा अस्ट्रेलिया तेस्रो स्थानमा छ । 

यसैगरी जारी विश्वकपमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचिमा दक्षिण अफ्रिकाका ब्याट्सम्यान दोस्रो स्थानमा छन् । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले नौ खेलमा पाँच सय ९१ रन बनाएका छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने भारतका विराट कोहली हुन् । उनले हालसम्म सात सय ११ रन बनाएका छन् । 

एउटै खेलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा भने अस्ट्रेलियन खेलाडीको दबदबा छ । अफगानिस्तानविरुद्धको खेलमा अस्ट्रेलियाका ब्याट्सम्यान ग्लेन म्याक्सवेलले अविजित दुई सय एक रन बनाएका थिए । उनी यो सूचिमा पहिलो स्थानमा छन् । 

एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा पनि अस्ट्रेलियन ब्याट्सम्यान नै रहेका छन् । अफगानिस्तानविरुद्धकै खेलमा अस्ट्रेलियाका मिचेल मार्सले अविजित एक सय ७७ रन बनाएका थिए । दक्षिण अफ्रिकाका क्विन्टन डी कक तेस्रो स्थानमा छन् । उनले बंगलादेशविरुद्धको खेलमा एक सय ७४ रन बनाएका थिए । यो सूचिमा चौथो स्थानमा रहेका अस्ट्रेलियाका डेविड वार्नरले पाकिस्तानविरुद्ध एक सय ६३ रन बनाएका थिए । 

००००

एकदिवसीय भिडन्तमा पनि ठूलोअन्तर छैन

यी दुई राष्ट्रबिच हालसम्म खेलिएका एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको तथ्याङ्कलाई हेर्दा थोरै अन्तरले दक्षिण अफ्रिका अगाडि देखिन्छ । हालसम्म यी दुई राष्ट्रबिच कुल एक सय नौवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । 

त्यसमध्ये ५५ खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराएको छ । अस्ट्रेलियाले भने दक्षिण अफ्रिकालाई ५० खेलमा मात्र हराउन सकेको छ । यी दुई राष्ट्रबिच खेलिएको एक खेल अनिणर्ित रुपमा सकिएको छ भने तीन खेल बराबरीमा टुंगिएको छ । 

आफ्नो घरेलु मैदानमा खेलिएको २८ खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराएको छ । अस्ट्रेलियाले भने घरेलु मैदानमा खेलिएको १९ खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको छ । दक्षिण अफ्रिकाले अस्ट्रेलियाको घरेलु मैदानमा १९ खेल जितेको छ ।

अस्ट्रेलियाले भने दक्षिण अफ्रिकालाई उसैको घरेलु मैदानमा २२ खेलमा पराजित गरेको छ । ‘न्यूट्रल भेन्यू’ मा खेलिएको आठ खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । अस्ट्रेलियाले भने ‘न्यूट्रल भेन्यू’ मा खेलिएको नौ खेलमा दक्षिण अफ्रिकालाई हराएको छ ।  

यी दुई राष्ट्रबिच पछिल्लो पटक यही विश्वकपमा भिडन्त भएको थियो । त्यो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई एक सय ३४ रनले हराएको थियो । त्यसअघि खेलिएको पाँच एकदिवसीय खेलको शृंखलामा पनि दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ३—२ ले हराएको थियो । 

००००

विश्वकपमा दुबैको बराबर जित

दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच हालसम्म एकदिवसीय विश्वकपमा सातवटा खेल भएको छ । त्यसमध्ये यी दुबै टोलीले तीन—तीन खेलमा जित हात पारेका छन् । यी दुई राष्ट्रबिचको एक खेल भने बराबरीमा सकिएको छ । एकदिवसीय विश्वकपमा हालसम्म दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध सर्वाधिक तीन सय ७७ रन बनाएको छ । अस्ट्रेलियाले भने दक्षिण अफ्रिकाविरुद्ध विश्वकपमा सर्वाधिक तीन सय २५ रन बनाएको छ । 

००००

ब्याट्सम्यानलाई साथ दिने पिच

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिचको दोस्रो सेमिफाइनल खेल कोलकातास्थित ऐतिहासिक इडेन गार्डेन स्टेडियममा खेलिने छ । इडेन गार्डेन स्टेडियमको पिच ब्याट्सम्यानहरुका लागि सधैं सहयोगी रहँदै आएको छ । 

यो विश्वकपमा हालसम्म यो स्टेडियममा चार खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा पहिलो ब्याटिङ गर्ने टोली विजयी भएको छ । एउटा खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेको छ ।  

यसैगरी यो स्टेडियममा हालसम्म कुल ३५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले २१ खेल जितेका छन् भने पछि ब्याटिङ गर्ने टोलीले १३ खेलमा सफलता हात पारेका छन् । एक खेलमा भने नतिजा आउन सकेन ।

यो स्टेडियममा हालसम्म बनेको उच्च स्कोर चार सय चार रन हो । भारतले सन् २०१४ मा श्रीलंकाविरुद्ध उक्त रन बनाएको थियो । सबैभन्दा कम स्कोर भने ८३ रन हो । त्यो रन यही विश्वकपमा दक्षिण अफ्रिकाले भारतविरुद्ध बनाएको थियो । दक्षिण अफ्रिका र अस्ट्रेलियाबिचको खेलका क्रममा कोलकाताको मौसम सफा रहने बताइएको छ । वर्षाको सम्भावना निकै कम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप