आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पूर्वलडाकु

शरीरभित्र दुईवटा गोली बोकेर सिंहदरबार धाएकी ‘कमरेड साकार’

बुधबार, २६ वैशाख २०८१, १२ : ३५
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । ढाडमा नक्कली हड्डी छ, दुई कदम हिँड्न बैसाखीको सहारामा चाहिन्छ, त्यसमाथि शरीरभित्र दुईवटा गोली छन् । आम्दानीको स्रोत केही छैन । श्रीमानलाई केदारनाथको बाढीले बगायो । तीन सन्तान पाल्ने जिम्मेवारी काँधमा छ । शरीरभित्रको गोलीले भन्दा उनलाई काँधको जिम्मेवारीले पिरोल्छ । 

उनी अर्थात् प्रेक्षा उखेरा उर्फ कमरेड साकार, जो हिजो जसको नेतृत्वमा जनमुक्ति सेना भएर लडिन्, आज उनकै नेतृत्वको सरकार छ । उनले पार्टी र सरकारलाई गुहारेको बर्सौँ भइसक्यो । असोजको तेस्रो साता उनी झिनो आशा लिएर पुनः सिंहदरबार आइन्, अहम् सिंहदरबारले उनको पुकार सुनेन ।

प्रधानमन्त्री तथा कमरेड प्रचण्डसँग उनको पुकार यही छ — मेरो शरीरमा रहेको गोली निकाल्न १५ लाख रुपैयाँ लाग्छ, सहयोग गरिदिनुपर्‍यो । उनी सिंहदरबार मात्रै होइन, पार्टी कार्यालय पेरिस डाँडा पुगेर पनि यही पुकार दोहोर्‍याउँछिन् ।

असोज २३ गते दिउँसो सिंहदरबार जाँदै गरेकी उनी बबरमहलस्थित टेलिकमको कार्यालय अगाडिको प्रतीक्षालयमा थकान मेट्दै थिइन् । त्यहीँ रातोपाटीसँगको भेटमा उनले आफ्नो लडाकु जीवन र घाइते जीवनको स्मरण गरिन् । 

जब राज्य पक्षले शिक्षक र विद्यार्थीको हत्या गर्‍यो... 

रुकुम पश्चिम बफीकोटस्थित खिम माविका तीन शिक्षक र ११ विद्यार्थीलाई राज्य पक्षले हत्या गर्‍यो — माओवादीमा लागेको, राज्य पक्षका प्रहरीविरुद्ध सुराकी गरेको आदि नाममा । आफ्नो विद्यालयका शिक्षक र साथीहरूले ज्यान गुमाएपछि कक्षा ९ मा पढ्दै गरेकी प्रेक्षा विक्षिप्त भइन् । उनी सोही विद्यालयको अनेरास्ववियु क्रान्तिकारी एकाई अध्यक्ष थिइन् । उमेर सानो भए पनि उनीमा राजनीतिक चेत घुसिसकेको थियो । ०५७ सालसम्म आइपुग्दा रुकुम लगायत पश्चिमी जिल्लामा माओवादीको राजनीतिक गतिविधि तीव्र भइसकेको थियो । 

निम्न वर्गीय परिवारमा जन्मे–हुर्केकी प्रेक्षाले शोषित जनताका दुःखपीडालाई देखे–भोगेकी थिइन् । व्यवस्था बदल्ने, दीनदुःखीको अवस्था फेर्ने र राज्य पक्षको ज्यादतीका विरुद्ध उत्रने अठोट लिएर उनी जनयुद्धमा होमिइन्, सेक्सन कमान्डरका रूपमा कमरेड साकार बनेर । 

जनमुक्ति सेना भएर उनी दर्जनभन्दा बढी युद्धमोर्चामा खटिइन् । सन्धिखर्क आक्रमणका बेला उनको दायाँ घुँडामा गोली लागेको थियो । साहसी महिला लडाकुका नामले चिनिएकी उनी जनमुक्ति सेनाको बिग्रेडियर कमान्डरसम्म भइन् । 

उनी सेक्सन कमान्डर भएको केही महिनामै पार्टीले रुकुमकोट चौकीबाट हात–हतियार कब्जा गर्ने योजना बनायो । नन्दकिशोर पुन पासाङको नेतृत्वमा भएको यस अपरेसनमा भाग लिनु कमरेड साकारका लागि पहिलो अनुभव थियो । २०५७ चैत ७ गते अर्थात् चैते दसैँको दिन रुकुमकोट चौकीका प्रहरीहरू मदिरामा लठ्ठ थिए । त्यहाँ दोहोरो फायरिङबिनै प्रहरीले सबै हतियार उनीहरूलाई बुझायो । 

माइन विस्फोटबाट ढलेपछि

गण्डक अभियानअन्तर्गत पार्टीले ‘ढाडमा टेकेर टाउकामा हान्ने’ नीति लिएको थियो । यही नीति अनुसार, ०६२ चैत ७ गते माओवादी लडाकुले तानसेनस्थित सैनिक ब्यारेक आक्रमण गर्ने योजना बनायो । त्यतिबेला उनी पाँचौँ डिभिजनमा बिग्रेडियर कमान्डर थिइन् ।

ब्यारेकतर्फ अघि बढ्ने क्रममा सेनाले बिछ्याएको माइन विस्फोट भयो । विस्फोटका क्रममा उनी बेहोस भइन् । बेहोस अवस्थामै उनलाई छापामार साथीहरूले कपिलवस्तु, भारतको गोरखपुर हुँदै लखनऊस्थित सामर हस्पिटल पुर्‍याए । उनको ढाडको हड्डी काम नलाग्ने भएको रहेछ । ‘माइन विस्फोट हुने र दोहोरो भिडन्त एकैचोटि भयो । सुरक्षाकर्मीले चलाएको एउटा गोली मेरो ढाड हुँदै दायाँ मिर्गौलासम्म पुगेको रहेछ । त्यो गोली निकालियो । अझै शरीरमा दुईवटा गोली निकाल्न बाँकी छन्,’ उनी भन्छिन्, ‘चार वर्षसम्म उपचार गरेर बैसाखीको सहारामा फर्केकी हुँ ।’ 

मिर्गौलामा दबिएको गोली निकालिए पनि वर्षौंदेखि औषधि सेवनका कारण उनको मिर्गौला कमजोर हुँदै गएको छ । कतै थप बाँच्नका लागि मिर्गौला पनि छिटै फेर्नुपर्ने हो कि भन्ने चिन्तामा उनी छन् । ढाडमा राखिएको नक्कली हड्डी फेर्न नमिल्ने र फेरि हाले पनि २५ लाख रुपैयाँ लाग्ने चिकित्सकले बताएका छन् । ‘नक्कली हड्डीले पनि आठ वर्षसम्म राम्रोसँग काम गर्ने रहेछ । अहिले एकछिन वैशाखीको भरमा उभिँदा पनि थकान महसुस भइहाल्छ,’ उनी भन्छिन्, ‘आफन्तको सहारामा बाँचिरहेकी छु ।’ 

prekshya

भारतबाट उपचार गरेर फर्केपछि उनले धनबहादुर गिरीसँग विवाह गरेकी थिइन् । दुई छोरा र एक छोरीको पालनपोषणका लागि धन कमाउन भारत गएका धनबहादुर केदारनाथको बाढीमा परी बेपत्ता भए । उनको लास समेत भेटिएको छैन । १५ वर्ष लागेको जेठो छोरालाई प्यारालाइसिस भएको छ । देशका विभिन्न भागमा उपचार गर्दा खर्च धेरै भयो, बिसेक भएन । नौ वर्षकी छोरी र ११ वर्षका छोरा कोहोलपुरतिर आफन्तकहाँ आश्रय लिएर बसेका छन् । 

भारतमा लागेको उपचार खर्च पार्टीले बेहोरेको थियो । त्यसयता पार्टी र सरकारले आफूलाई नहेरेको उनको गुनासो छ । ‘चिनजानका नेता, आफन्तले केही सहयोग गरेका छन् । जीविकोपार्जनको दिगो कुनै सहयोग भएको छैन,’ उनी भन्छिन्, ‘धेरै गाह्रो छ, जीवन चलाउन । हस्पिटल बस्दा लडाकु प्रमाणीकरण नाम छुट्यो । अहिलेसम्म राज्यबाट कुनै राहत पाएकी छैन । पार्टीले कार्यदलमा नाम पठाएको भने पनि अहिलेसम्म घाइतेको सूचीमा मेरो नाम परेको छैन ।’ 

नेताबाट आश्वासन मात्रै पाएँ, सुविधा पाइएन

भारतबाट उपचार गरी फर्केपछि उनले आफ्ना समस्या पार्टी कार्यालय र नेताका निवास धाइन् । पार्टी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख तथा पूर्वगृहमन्त्री कृष्णबहादुर महरा, पूर्वउपराष्ट्रपति पासाङ, पूर्वअर्थमन्त्री वर्षमान पुन, पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई भेटेर उनले आफ्ना समस्या राखेकी सकेकी छन् । 

‘सबै नेताले राहत र सुविधाका लागि फारम पठाएको छ, काम छिटै हुन्छ भनेर आश्वासन मात्रै दिन्छन्,’ साकार भन्छिन्, ‘औषधि उपचारका लागि एक–दुईपटक आठ–दश हजार दिएका थिए । नियमित राज्यबाट घाइतेलाई आउने रकम पाए पनि राहत हुन्थ्यो ।’ 

यसपालि पनि उनले आश्वासन मात्रै पाइन् । बिहीबार (कात्तिक २) मोबाइल फोनमा कुरा हुँदा उनले भनिन्, ‘प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय कहीँ पनि मेरो सुनुवाइ भएन । अब घर जाँदैछु, तिहारपछि फेरि आउनुपर्ला ।’

उनले अझै सरकार र पार्टीप्रति झिनो आशा राखेकै छन्, नराख्नुको विकल्प पनि छैन ! ‘अहिले आफ्नो पार्टीको सरकार हुँदा पनि भएन भने कहिले होला ?’ उनले निराशाजनक स्वरमा भनिन्, ‘हिजो ज्यानको बाजी राखेर लडियो !’

स्मृतिमा जनयुद्ध

दाङको हाफुरेमा तत्कालीन सरकार र विद्रोही माओवादीबीच वार्ता चलिरहँदा रामेछापको दोरम्भामा सेनाले १९ जनसेनाको हत्या गरेको थियो । त्यस घटनाबाट चिढिएको माओवादीले दाङको सैनिक ब्यारेकमा हमला गर्ने नीति लियो । पार्टीको नीति अनुसार ०५८ मंसिर ८ गते साँझ माओवादी लडाकुले सो सैनिक ब्यारेक चारैतिरबाट घेरा हाले । 

त्यतिबेला रामबहादुर थापा बादल प्रमुख कमान्डर पासाङ थिए भने प्रभाकर, अनन्त लगायत डिभिजन कमान्डर थिए । त्यतिबेला  प्लाटुन कमान्डर रहेकी साकार घोराही ब्यारेक कब्जा गर्दा अग्र मोर्चामा थिइन् । लडाइँका क्रममा सात प्रहरी, मेजरसहित १४ सैनिक र जनमुक्ति सेनातर्फ सात जनाले सहादत प्राप्त गरेका थिए । 

शाही सेनाका विरुद्ध पहिलो आक्रमणमा माओवादी छापामारले सयौँ अत्याधुनिक हतियार कब्जा गरेका थिए — पाँच थान ८१ एमएम मोर्टार, तीन थान टु–इन्च मोर्टार, तीन थान रकेट लन्चर, दुई थान जिपिएमजी, दुई थान वेस्ट स्नाइपर, १४ थान एलएमजी, ४८ थान एसएमजी र सयौँको संख्यामा एसएलआर तथा थ्रि–नटथ्री राइफल आदि ।

यस आक्रमणबाट माओवादीले एक खालको थप शक्ति आर्जन गर्‍यो । युद्धलाई निरन्तरता दिनु हुँदैन भन्ने राज्य पक्षलाई पनि परेको थियो । ‘त्यतिबेलाको आक्रमणमा हामी चार बटालियनका १५ सय योद्धा सहभागी थियौँ । बादल, पासाङ र जनार्दनले कमान्डिङ गरेका थिए । साँझदेखि भएको युद्ध बिहानसम्म जारी थियो,’ कमरेड साकार त्यो आक्रमण सम्झन्छिन्, ‘त्यसपछि भालुबाङबाट शाही सेनाले फोर्स बढाएपछि हामी सुरक्षित स्थानमा गयौँ । आक्रमणपछि अधिकृतदेखि सुरक्षाकर्मी सबैलाई लिएर गएका थियौँ । पछि रिहा गर्‍यौँ ।’

लडाकु हुनुको गौरव

कतिपयले जनयुद्धले के दियो भन्ने प्रश्न गर्दा उनको जवाफ रहन्छ — गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष र समावेशिता, समानुपातिक निर्वाचन प्रणाली जनयुद्धकै प्रतिफल हुन् । ‘हिजोको अवस्थाभन्दा धेरै नै जनमुखी परिवर्तन भएका छन् । जनयुद्ध लडेका मलाई कुनै पश्चाताप छैन,’ उनी भन्छिन्, ‘सत्तामा पुगेका माओवादी नेता पनि परिवारवाद र चाकडीबाजमा फसेकामा दुःख लाग्छ । विपन्न वर्ग र युद्ध मोर्चामा लडेकाहरुलाई पार्टीले हेरेको छैन । घाइते, अपाङ्ग, सहिद तथा बेपत्ता परिवारलाई पार्टी र सरकारले हेर्नुपर्ने हो !’ 

हिजो एक ढिक्का भएर जनयुद्धमा होमिएका नेताहरु अहिले अनेक घटकमा विभाजित छन् । नेताहरु एकढिक्का भइदिऊन् भन्ने कामना साकार लगायत योद्धाको छ । ‘अहिले विरोधीसँग मिल्नुभन्दा त त्यतिबेलै दुई–चार वर्ष युद्ध लम्ब्याएको भए राम्रो हुन्थ्यो भन्ने लााग्छ । नेतृत्वले के बुझेर हो सम्झौतामा ल्याएर युद्धविराम गर्नुभयो,’ उनी भन्छिन्, ‘अब विगतका गल्तीबाट पाठ सिकेर माओवादी शक्ति एकजुट हुनुपर्छ । युद्ध लडेका नेताहरू नै विभाजित हुँदा दुःख लाग्छ । आज माओवादी कमजोर हुँदा राजतन्त्र फर्काउँछु भन्नेहरुको स्वर चर्को भएको छ ।’ 

उनको बुझाइमा, पार्टी संसदीय राजनीतिमा भासिँदै जाँदा समस्या भएको छ । पहिलो संविधानसभामा ठूलो पार्टीका रुपमा उदाएको माओवादी किन खुम्चियो ? किनभने पार्टीले विपन्नलाई भन्दा सम्पन्नलार्ई, गरिबलाई भन्दा धनीलाई हेर्न थाल्यो ।  ‘यही प्रवृत्तिले पार्टी कमजोर भएको छ । क्षति बेहोरिरहेको छ । दलित, जनजाति, महिला, मुस्लिम, अल्पसंख्यक, मधेसी, उत्पीडित वर्ग समुदायको मुक्तिको पक्षमा उभिने पार्टी माओवादी भएकामा मलाई अहिले पनि विश्वास छ,’ उनी भन्छिन्, ‘तर माओवादी शीर्षस्थ एक ढिक्का हुनुपर्छ । हिजो पिछडिएको वर्ग, समुदाय तथा क्षेत्र परिवर्तनको अपेक्षासहित जनयुद्धमा लागेकाा थिए । कर्णालीले देशलाई गणतन्त्र दियो, राज्य (सिंहदरबार)ले हामीलाई अधिकार कहिले दिन्छ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप