आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
महिला टी—२० क्रिकेट शृंखला

हङकङसामु निरीह बन्दै उपाधि होडबाट बाहिरियो नेपाल

बुधबार, २६ वैशाख २०८१, १३ : ५५
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । नेपाली टोली बिहीबार खेलिएको आफ्नो दोस्रो खेलमा आयोजक हङ्कङसँग नौ विकेटको फराकिलो अन्तरले पराजित भयो ।  

टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले १८ ओभरमा अलआउट हुनुअघि ५६ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली हङ्कङले भने नौ ओभरमा केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । 

हङ्कङको जितमा ओपनर नताशा माइल्सले अविजित ३० रनको योगदान गरिन् । उनले २३ बलमा चार चौका पनि हिर्काएकी थिइन् । अर्की ओपनर मार्को हिल पाँच रनमा आउट भइन् । उनी रन आउट भई पेभेलियन फर्किएकी थिइन् । 

सान्जिन सहजादले पनि अविजित २० रनको योगदान गरिन् । उनले २७ बलको सामना गरी तीन चौका हिर्काइन् । हङ्कङविरुद्धको खेलमा नेपाली टोलीको ब्याटिङ र बलिङ दुबै अत्यन्तै फितलो देखिएको थियो ।   

नेपालका लागि निवर्तमान कप्तान रुबिना क्षेत्रीले मात्र दोहोरो अंकमा रन बनाउन सकिन् । सातौँ नम्बरमा क्रिज समाल्न आएकी रुबिनाले २५ रन बनाइन् । उनले ३० बलको सामना गरी चार चौका पनि हिर्काइन् । 

नेपालका तीन ब्याट्रले त खातासम्म खोल्न सकेनन् । नेपालका तीन खेलाडी एक रनभन्दा अगाडि बढ्न सकेनन् । नेपालले अतिरिक्त रुपमा ६ रन पाएको थियो । हङ्कङकी बलर इकरा साहरले तीन विकेट लिइन् । रुचिथा वेंकटेसले पनि दुई विकेट हात पारिन् । बेट्टी चान, मार्को हिल र केरी चानले पनि एक—एक विकेट लिए । 

त्यसअघि नेपाली टोलीले पाँच रनको कुल स्कोरमै चार विकेट गुमाएको थियो । नेपाली ब्याट्रहरु एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए । नेपालले पहिलो विकेटका रुपमा ओपनर पूजा महतोलाई गुमाएको थियो ।

पूजा आठ बलमा चार रन बनाउँदै रन आउट भएर पेभेलियन फर्किएकी थिइन् । तेस्रो नम्बरमा क्रिज समाल्न ओर्लिएकी सम्झना खड्का दोस्रो विकेटका रुपमा पेभेलियन फर्किएकी थिइन् । उनी एक रन बनाउँदै आउट भएकी हुन् । 

यसैगरी तेस्रो विकेटका रुपमा काजल श्रेष्ठ आउट भएकी थिइन् । उनले त पेभेलियन फर्किनुअघि खातासम्म खोल्न पाइनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी कप्तान इन्दू बर्मा पनि शून्य रनमै पेभेलियन फर्किइन् । नेपालले १.३ ओभरमा पहिलो, २.३ ओभरमा दोस्रो, २.४ ओभरमा तेस्रो र २.५ ओभरमा चौथो विकेट गुमाएको हो ।

यसैगरी पाँचौँ विकेटका रुपमा बिन्दू रावल आउट भएकी थिइन् । उनले पनि टोलीको खातामा एक रनभन्दा बढी थप्न सकिनन् । पाँचौँ विकेटका रुपमा विन्दू पेभेलियन फर्किँदा नेपालले ५.१ ओभरमा १८ रनमात्र बनाउन सकेको थियो । 

नेपालले छैठौं विकेटका रुपमा  सीता रानामगरलाई गुमाएको थियो । ओपनर सीता नौ रन बनाउँदै आउट भएकी हुन् । उनले १२ बलको सामना गरी दुई चौका पनि हिर्काएकी थिइन् । ६.४ ओभरमा उनी आउट हुँदा नेपालले केवल २४ रन बनाएको थियो ।

सातौँ विकेटका रुपमा कञ्चन श्रेष्ठ एक रन बनाउँदै आउट भएकी थिइन् । उनी आउट हुँदा नेपालले १०.३ ओभरमा ३८ रन बनाएको थियो । नेपालले आठौँ विकेटका रुपमा रुबिना क्षेत्रीलाई गुमाएको थियो । १३.३ ओभरमा उनी आउट हुँदा नेपालले ४८ रन जोडेको थियो । 

यसैगरी नेपालले नवौँ विकेटका रुपमा अस्मिना कर्माचार्यलाई गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले खातासम्म खोल्न सकिनन् । १३ औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ४८ रन बनाएको थियो । नेपालले अन्तिम विकेटका रुपमा संगिता राईलाई गुमाएको थियो । उनी दुई रन बनाउँदै आउट भएकी हुन् । रोमा थापा सात रनमा अविजित रहिन् । 

यसअघि बुधबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली तान्जनियासँग २७ रनले पराजित भएको थियो । नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । त्यो खेलमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

जारी शृंखलामा सहभागी चारवटै टोलीले दुई—दुई खेल खेलिसक्दा सतप्रतिशत नतिजा निकालेको हङ्कङ चार अंकसहित पहिलो र समान अंक जोडेको तान्जनिया दोस्रो स्थानमा आसिन छन् । नेट रन रेटमा तान्जनियाभन्दा हङ्कङ अगाडि छ । हालसम्म खाता खोल्न नसकेको नेपाल तेस्रो र जापान चौथो स्थानमा छन् । 

नेपालले आफ्नो तेस्रो खेल शनिबार जापानसँग खेल्नेछ । सोही दिन तान्जनिया र हङ्कङबिच अर्को खेल हुनेछ । नेपाल र जापान दुबै यसअघि नै उपाधि होडबाट बाहिरिइसकेकाले यी दुई टोलीले अब तेस्रो र चौथो स्थानका लागि आइतबार आपसमा भिडन्त गर्नेछन् । पहिलो र दोस्रो स्थानका लागि भने हङ्कङ र तान्जनियाबिच आइतबार नै खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप