आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लोकतन्त्रको अर्थ अराजकता होइन, सुव्यवस्था र जिम्मेवारीबोध हो : प्रधानमन्त्री

शनिबार, ०१ वैशाख २०८१, १७ : ०८
शनिबार, ०१ वैशाख २०८१

दमौली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई असफल पार्ने अराजक प्रवृत्ति बढ्न खोजेको भन्दै त्यसलाई निस्तेज पारिने बताएका छन् । शुक्रवार दिउँसो तनहुँको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हिजोका सामन्ती तत्त्वहरूले देशमा अराजकता निम्त्याउने र राजनीतिक प्रणाली असफल पार्ने सपना देखेकाले त्यस्ता षड्यन्त्र चिर्न लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिने बताए ।

प्रधानमन्त्रीले भने, ‘‘सामन्ती तथा निरङ्कुश शक्तिहरूलाई पुरानै सत्ता फर्काउन सकिन्छ कि भन्ने सपना देख्न थालेका छन्। उनीहरू सङ्घीयताका विरुद्ध, गणतन्त्रका विरुद्ध, समावेशी–समानुपातिक प्रणालीका विरुद्ध जनतामा अफवाह फैलाउन खोजिरहेका छन्। त्यो कुनै पनि हालतमा सफल हुँदैन। लोकतन्त्रको अर्थ अराजकता होइन, स्वतन्त्रता हो, सुव्यवस्था र जिम्मेवारीबोध हो।’’

‘‘गणतन्त्रअघि सुव्यवस्था, विकास र प्रगति थियो ? जुन शक्तिहरूले अहिले संस्कारको कुरा गरिरहेका छन्, तिनीहरूको संस्कार के हो भन्ने कुरा नेपाली जनताले राम्रोसँग बुझिसकेका छन्। कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड कसले मच्चायो ? हजारौँ नेपालीमाथि दमन कसले गर्‍यो ? जो सबैभन्दा बढी तानासाह छन्, फासिस्ट छन्, विकास विरोधी छन्, उनीहरूले नै स्वतन्त्रताको कुरा गर्ने ? संस्कारको कुरा गर्ने ? यस्तो भ्रामक प्रचार र व्यवस्था विरोधी षड्यन्त्र असफल पार्नुपर्छ। जनता न्यायाधीश हुन्, असफल पार्छन्’’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री प्रचण्डले संविधानले परिकल्पना गरेका सबै अधिकार तल्लो सरकारसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “संविधानले परिकल्पना गरेको सबै अधिकार तल्लो तहसम्म पुर्‍याउँछौँ, अधिकार नपुग्दै सङ्घीयता असफल भयो भन्न हुन्न।” प्रधानमन्त्री प्रचण्डले संविधानलाई संस्थागत गर्ने प्रक्रिया चलिरहेको बताउँदै सङ्घीयता जनताको हितमा छ भन्ने प्रमाणित गरिने उल्लेख गरे। उनले भने, “सङ्घीयताको बारेमा अरूले भन्दा मैले बढी बुझेको छु भन्ने मेरो दाबी छ। सङ्घीयतालाई बलियो बनाउनेतर्फ म क्रियाशील छु।”

प्रदेश सरकार बलियो बनाउन प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन आवश्यक भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “यी ऐन भए मात्रै प्रदेश सरकार बलियो हुन्छ, नत्र बलियो हुँदैन। प्रदेश सरकार भएको अनुभूति जनतालाई दिलाउन सकिएन भने प्रदेशको महत्वबारे बुझाउन सकिँदैन।”

प्रधानमन्त्री प्रचण्डले तीनवटै ऐन कार्यान्वयनमा आउने उल्लेख गर्नुभयो। गएको तीन चार दिनदेखि प्रहरीसँग, गृह मन्त्रालयसँग छलफलमा रहेको बताउँदै उनले केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउने दाबी गरे । सङ्घीय निजामती ऐन बनिसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले उक्त ऐन पनि कार्यान्वयनमा आउने स्पष्ट पारे । उनले सिंहदरबार जनताको घरदैलोमा आएको अनुभूति दिलाउने विश्वास दिलाउँदै स्वास्थ्य, शिक्षाका बारेमा सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्ले, २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीलगायतले आँबुखैरेनी विकासको अभियानमा अगाडि बढेको बताए । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकतामा राखेर काम गरेको बताए । सञ्चालनमा आएको एक वर्षपछि उक्त अस्पतालको प्रधानमन्त्री प्रचण्डले आज शुक्रवार उद्घाटन गरेका हुन् । आँबुखैरेनी गाउँपालिकाले गत वर्षको मङ्सिर १ गतेदेखि स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी अस्पतालको रूपमा सेवा सुरु गरेको थियो। 

अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्स-रे, भिडियो एक्स-रे, ई सिजी, फार्मेसीलगायत सेवा सुरु गरिएको छ। अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक र दुई जना मेडिकल अधिकृतको व्यवस्था गरिएको अध्यक्ष चुमानले जानकारी दिए ।

अस्पतालमा एक्स-रे सेवासमेत सञ्चालनको तयारी गरिएको छ। जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र दुलेगौडाबाट पाँच सय एमए एक्से मेसिन मर्मत गरी जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.डिबी क्षेत्रीले जानकारी दिए । अस्पतालमा एक्स-रे मेसिन नहुँदा यस भेगका जनता एक्स-रे सेवा लिनका लागि छिमेकी चितवनको भरतपुर वा अन्यत्रै जानुपर्ने बाध्यता थियो। अस्पतालमै सेवा सुरु हुने भएपछि आँबुखैरेनीका अतिरिक्त गोरखाका केही पालिकाका सर्वसाधारणले सहज रूपमा सेवा पाउने गाउँपालिकाका अध्यक्ष चुमानले बताए । उनले भने, “अस्पतालको सेवा वृद्धि गर्न लागिपरेका छौँ। निकट भविष्यमै डायलिसिस सेवा सञ्चालनमा आउँछ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप