आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

भूकम्प प्रभावित क्षेत्रमा कुन दलले कति स्वयंसेवक खटाउँदैछन् ?

रास्वपाद्वारा १० वटा अस्थायी आवास निर्माण, माओवादीले २१ सय स्वयंसेवक परिचालन गर्ने
बुधबार, ०२ जेठ २०८१, १३ : ०९
बुधबार, ०२ जेठ २०८१

सुर्खेत । तिहार सकिएसँगै राजनीतिक दलहरूले भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक खटाउन थालेका छन् । भूकम्प प्रभावित क्षेत्रमा सफाइ अभियान, अस्थायी टहरा निर्माण लगायत समग्र प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि दलहरूले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई त्यहाँ खटाउन थालेका हुन् ।  

नेकपा एमालेले जाजरकोट र रुकुम पश्चिममा करिब एक हजार एक सय जनालाई खटाउने रणनीति बनाएको छ । शुक्रबार एमालेको भातृ संगठन जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा करिब १०० जनाको सीपयुक्त जनशक्ति प्रभावित क्षेत्रमा खटिएको छ । 

उक्त टोलीले शुक्रवार भूकम्पले क्षतिग्रस्त भेरी नगरपालिका–३, थाप्लेका भग्नावशेष घरहरूमा सफाइ अभियान चलाएको छ । एमालेका कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहका अनुसार थप एक हजार जनालाई प्रभावित क्षेत्रमा खटाइने तयारी छ । ‘शुक्रबार नै एक सय जना फिल्डमै खटिसक्नुभएको छ, बाँकी सबै गरेर ११ सय खटाउने लक्ष्य छ,’ उनले रातोपाटीसँग भने, ‘खटिएकाहरूले पनि जहाँ बढी प्रभावित भएको छ, त्यही पालिकामा पहिलो प्राथमिकतामा राखेर जनतासँग रहेर काम गर्नेछन् । अहिलेका लागि सफाइ गर्ने, अस्थायी टहरा बनाउने लगायतका कामहरू गर्नेछन् ।’ प्रदेश र केन्द्रबाट नेता, कार्यकर्ताहरू त्यहाँ खट्ने र त्यहाँको व्यवस्थापन जिल्लाको पार्टीले गर्ने शाह बताउँछन् ।

नेपाली कांग्रेसले पनि प्रभावित क्षेत्रमा नेता, कार्यकर्ताहरूलाई खटाउने तयारी गरिरहेको छ । यसअघि महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाको नेतृत्वमा राहत तथा पुनः निर्माणका लागि अनुगमन तथा सहजीकरण समिति बनेको थियो । प्रदेश कार्य समितिले सभापति ललितजंग शाहीको संयोजकत्वमा प्रदेशमा पनि समिति बनेको प्रवक्ता दमन शाहीले रातोपाटीलाई जानकारी दिए ।

एक अस्थायी टहरा निर्माणका लागि दुई जना दक्ष मिस्त्री र ६ जना  स्वयंसेवक खटाइने गरी अबको केही दिनमा केन्द्रीय सदस्यहरूको नेतृत्वमा दुवै जिल्लामा टिमहरू परिचालन हुने उनको भनाइ छ । ‘सम्बन्धित जिल्लाका पार्टीका साथीहरू, प्रशासनसँग समन्वय गरेर यो कार्य हुन्छ,’ उनले भने, ‘तरुण दलको टोली, नेविसंघको टोली, महिला संघ लगायतका भातृ संगठनका साथीहरू स्वयंसेवकका रूपमा त्यहाँ खटिनेछन् ।’ 

आफ्नो तर्फबाट कम्तीमा पनि एक हजारदेखि १२ सयसम्म अस्थायी टहराहरू निर्माणका सहयोग गर्ने लक्ष्य राखिएको शाही बताउँछन् । 

नेकपा (माओवादी केन्द्र)ले भने प्रभावित क्षेत्रमा २१ सय जनालाई परिचालन गर्ने निर्णय गरिसकेको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रदेश कमिटीले नै सो मात्रामा भोलेन्टियर खटाउने निर्णय गरेको हो । ‘निर्णय भैसकेको छ, कसको नेतृत्वमा कुन जिल्लामा कति खटाइने भन्ने विषयमा शनिवार (आज) बैठक बसेर छलफल गरिने छ,’ केसीले रातोपाटीसँग भनिन्, ‘प्रदेशभित्रबाट मात्रै यो सङ्ख्या हो, केन्द्रबाट पनि केही निर्णय आउला, यसलाई अझ कसरी प्रभावकारी बनाउने भन्ने विषयमा हामी छलफलमै छौँ ।’ माओवादीका दुई उपमहासचिवद्वय जनार्दन शर्मा र शक्ति बस्नेत लगातार जिल्लामै खटिएका छन् । 

janardan sharma

अर्को नेकपा (एकीकृत समाजवादी)ले ८ गतेसम्म पार्टीका तर्फबाट टिम प्रभावित क्षेत्रमा खटाउने गरी तयारी गरेको छ । समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाका अनुसार १५० जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटाइने छ । ‘ती भनेका संरचना निर्माणमा दक्ष भएका व्यक्तिहरू हुन्,’ थापाले भने, ‘युवा संघको नेतृत्वमा नै त्यहाँ टोली परिचालन गरिने छ । साथै पार्टी अध्यक्ष पनि केही दिनमा प्रभावित क्षेत्रमा पुग्ने भन्ने छ ।’ टोलीले त्यहाँ खाना खर्च आफैँ व्यहोर्ने गरी जाने छ ।

रास्वपाको फरक मत, १० अस्थायी टहरा निर्माण 

राष्ट्रिय स्वतन्त्र पार्टीको भने यो विषयमा फरक मत रहेको छ । रास्वपाका केन्द्रीय सदस्य एवं सांसद सुमना श्रेष्ठका अनुसार बाहिरबाट मान्छेहरू खटाउनेभन्दा पनि सोही क्षेत्रमा रहेका पार्टीमा आबद्ध व्यक्तिहरूले धमाधम काम गरिरहेका छन् ।

यद्यपि रास्वपा निषेधको राजनीति गर्ने पक्षमा नरहेको उनले प्रस्ट पारिन् । रातोपाटीसँग कुरा गर्दै उनले भनिन्, ‘अहिले निषेधको राजनीतिक भइरहेको छ । हामी त्यो पक्षमा छैनौँ । हिजो हामीले त्यहाँकै स्थानीयसँग मिलेर जो घरमा मान्छेहरूको मृत्यु भएर अप्ठ्यारो परिस्थिति छ, त्यो घरको पहिचान गरेर काम गरिरहेका छौँ । हामी पार्टीकै लोगो देखाएर प्रचार गर्नुपर्छ  भन्ने पक्षमा पनि छैनौँ ।’ 

toshima

रास्वपाले यस अघिदेखि नै १५ जना दक्ष व्यक्तिहरू प्रभावित क्षेत्रमै खटाइरहेको छ । विशेषगरि सहजीकरण गर्ने कुरामा रास्वपा अग्रसर भइरहेको उनले बताइन् । 

रास्वपा सांसद डा. तोषिमा कार्की सुरुदेखि नै भूकम्प प्रभावित क्षेत्रमा सक्रिय छिन् । कार्कीको नेतृत्वमा केही दिनअघि मात्रै जाजरकोट अस्पतालमा एउटा मेसिन हस्तान्तरण भएको छ भने स्वास्थ्यका क्षेत्रमा कार्कीले सक्रिय भएर काम गरिरहेकी छन् । रास्वपाका पवन देवकोटा, इन्जिनियर मानबहादुर शाहीको टोलीले रुकुमको आठबिसकोट –१४ मा तिहारको दिनदेखि अहिलेसम्म १० वटा अस्थायी टहरा निर्माण गरेको छ ।

 ‘रास्वपाले काठमाडौँबाट मान्छे पठाउनुभन्दा पनि त्यही रहेका नेता, कार्यकर्ताहरूको पहलमा काम गरिरहेका छन्,’ श्रेष्ठले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप