आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जहरसिंह पौवामा प्रहरीसँगको झडपपछि पक्राउ परेका १५ जना रिहा

बुधबार, ०२ जेठ २०८१, २० : २९
बुधबार, ०२ जेठ २०८१

काठमाडौँ । काठमाडौँको शंखरापुरस्थित जहरसिंह पौवामा प्रहरीसँगको झडपपछि पक्राउ परेका १५ जना रिहा भएका छन् । शुक्रवार साँझ र शनिवार भएको विरोध प्रदर्शन र प्रहरीसँगको झडपपछि पक्राउ परेका उनीहरूलाई शनिवार साँझ प्रहरीले रिहाइ गरेको हो ।

अपर तामाकोसी जलविद्युत परियोजनाको सब–स्टेसन निर्माणका लागि सशस्त्र प्रहरीको क्याम्प राख्न लागेपछि काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ३ जहरसिंह पौवामा स्थानीय र प्रहरीबिच झडप भएको थियो । 

झडपमा डिएसपी देवराज राईसहित ३ प्रहरी घाइते भएका थिए । आन्दोलनरत स्थानीय पक्राउपछि प्रहरी कार्यालय बौद्धमा शंखरापुर नगरपालिकाका जनप्रतिनिधि, स्थानीयवासी, प्रहरी प्रशासन लगायतका बिचमा छलफल भएको थियो ।

छलफलपछि नगरपालिकाका जनप्रतिनिधिको रोहबरमा उनीहरूको रिहाइ गरिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । छलफलमा सो क्षेत्रमा आन्दोलनरत स्थानीय र प्रहरीले संयमता अपनाएर अघि बढ्ने बारेमा अनौपचारिक सहमति भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सो क्षेत्रमा विद्युत् प्रसारण लाइन निर्माण तथा विद्युत् सवस्टेशन बनाउने विषयमा उत्पन्न विवाद समाधानका लागि नगरपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्ने उनले बताए । 

अपर तामाकोसीबाट आएको विद्युत् प्रसारण लाइन जहरसिंह पौवामा सवस्टेशनमा जोडिने सो सवस्टेशनबाट चाँगुनारायण हुँदै काठमाडौँतिर र अर्कोतिर जहरसिंह पौवा हुँदै प्रसारण लाइन नुवाकोटको रातोमाटे लैजाने योजना रहेको छ । स्थानीयले बस्तीबिचबाट प्रसारण लैजान नहुने र सवस्टेशन बनाउन नहुने भन्दै सो स्थानबाट आयोजना अन्यत्र सार्न माग गर्दै आन्दोलन गरिरहेका छन् ।

सो क्षेत्रमा ४००, २२० र १३२ केभीका सवस्टेसन बन्ने योजना छ ।  त्यसका लागि सो क्षेत्रमा  ७० जना जग्गाधनीको १७० रोपनी जग्गा अधिग्रहण गरी मुआब्जा समेत दिइसकेको छ । यद्यपि स्थानीयले सो क्षेत्रबाट विद्युत् सवस्टेशन र प्रसारण लाइन राख्ने योजना अर्को स्थानमा सार्न माग गर्दै आइरहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप