आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पुनःनिर्वाचनमा केसी तयार भए म उम्मेदवार नहुन पनि सक्छु : आरके शर्मा

बुधबार, ०२ जेठ २०८१, २३ : १०
बुधबार, ०२ जेठ २०८१

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्माले संस्थाभित्रको विवाद समाधानको एक मात्रै विकल्प रि–इलेक्सन (पुनःनिर्वाचन) भएको बताएका छन् । शनिबार राति आयोजित एक बहस कार्यक्रममा बोल्दै शर्माले एनआरएनए पवित्र अभियानको उद्देश्यले सुरु भएको संस्था भएको भन्दै त्यही अभियानका साथ सञ्चालन हुनुपर्ने आफ्नो धारणा रहेको बताए ।

उनले एनआरएनए सानो घेरामा नभई सबैको साझा चौतारी हुनुपर्नेमा जोड दिए ।  उनले संस्थापन पक्षका अध्यक्ष बद्री केसी पुनर्निर्वाचनमा जान तयार भएको अवस्थामा आफू पदको भोको नभएकाले उम्मेदवार नहुन पनि सक्ने स्पष्ट गरे । ‘उहाँमा संस्थाको माया छ भने भने आउनुस् रि–इलेक्सनमा जाऔँ । त्यसमा म अध्यक्ष पदको लोभी भन्नुहुन्छ भने बरु प्रत्याशी नहुन सक्छु । तर संस्थालाई सबैको विश्वास र निकासको बाटोमा लगौँ’, शर्माले भने । 

उनले  निर्वाचन धाँधलीरहित हुनुपर्ने धारणा राख्दै आम एनआरएनए अभियन्ताहरूको चाहना पनि यही भएको बताए । ‘संघमा शुद्धीकरण र सबैको पहुँच हुनुपर्छ र विधानसम्मत चल्नुपर्छ’, शर्माले भने, ‘पछिल्लो घटनाक्रमले त उहाँहरूको चरित्र उदाङ्गो भएको छ । हामीले चलाएको एउटा सुद्धीकरणको लडाइँ हो । विकृति विरुद्ध लड्ने मेरो कर्तव्य हो ।’

शर्माले बद्री केसी पक्षले अहिले  एनसीसीहरुलाई धम्क्याउने सम्मको कार्य गरेको भन्दै आपत्ति समेत जनाए । यस्तै हतोत्साहित मनस्थितिमा अनलाइनबाटै शपथ गराउने कार्यले अर्को गल्ती भएको भन्दै अवैध कार्य जारी नराख्न सचेत गराए ।  संस्था बचाउने लडाइँमा आफू रहेको भन्दै शर्माले यसबारेमा छिट्टै आफूहरूले नेपाल सरकार र सम्बन्धित निकायमा पनि जोडतोडले आवाज उठाउने बताए । 

शर्माले एनआरएनएमा आफू नै आधिकारिक भएको भन्दै विश्वभरका ८० प्रतिशत एनआरएनएको आफूलाई साथ रहेको जिकिर गरे । ‘बद्री केसीले हतारमा शपथ खाएपछि संस्थालाई तिलाञ्जली दिएर हुँदैन भनेर हामीले विधिवत् रूपमा  मेरो नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेका हौँ’, शर्माले भने, ‘वैधानिकताको कुरा गर्नुहुन्छ भने पुरानो कार्यसमिति भङ्ग नभई नयाँ कार्यसमिति हुँदैन । त्यसकारण बद्रीको शपथ वैधानिकता छैन । हामीले त सबै प्रक्रिया अघि बढाएका छौँ । मेरो चाहना भनेको संघ अखण्ड हुनुपर्छ । सानो घेरामा झ्याली टाइपका गोलहरू हानेर हुँदैन ।’

अखण्ड एनआरएनए बनाउन अब पुननिर्वाचनको विकल्प नभएको उनले दोहोर्‍याए । यस्तै अब केसीको नेतृत्वमा छानबिन हुन नसक्ने पनि उनले स्पष्ट गरे । ‘रिइलेक्सन हुँदा पनि हामी तिन जनै अध्यक्षको प्रत्याशी थियौँ । अब हामी नउठेर अरु उठाइदिऔँ न त्यसमा हामी राजी छौँ’, उनले भने, ‘यो नेतृत्व कसले लिने भन्ने लडाइँ होइन, संस्था कसरी बचाउने भन्ने लडाइँ हो । कसरी अखण्ड एनआरएनए बनाउने भन्ने लडाइँ हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप