आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जिब्राल्टारको पोस्टमा फ्रान्सको १४ गोल, एम्बाप्पेको ह्याट्रिक

बिहीबार, ०३ जेठ २०८१, ०९ : २०
बिहीबार, ०३ जेठ २०८१

पेरिस । युरो २०२४ को छनोट खेलमा फ्रान्सले १० खेलाडीमा सीमित जिब्राल्टारमाथि गोल वर्षा गरेको छ । प्रत्येक हाफमा ७ गोल गर्दै फ्रान्सले १४–० को शानदार जीत हासिल गरेको हो । फ्रान्सको यो सबैभन्दा ठुलो जीत पनि थियो ।

जर्मनीमा आयोजना हुने प्रतियोगितामा यसअघि नै छनोट भइसकेको फ्रान्सका लागि किलियान एम्बाप्पेले ह्याट्रिक गरे । फ्रान्सका लागि गोल गर्नेमा युवा खेलाडी वारेन जायर एमरे पनि थिए । १७ वर्ष ८ महिना ११ दिनका उनी सन् १९१४ पछि फ्रान्सका लागि खेल्ने सबैभन्दा युवा खेलाडी हुन् ।

खेलको तेस्रो मिनेटमा इथान सान्तोषले आत्मघाती गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । मार्कस थुरामले एक मिनेटपछि अर्को गोल थपे । एमरेले फ्रान्सका लागि तेस्रो गोल गरे । १८ औँ मिनेटमा अभागी सान्तोषले रातो कार्ड पाएपछि जिब्राल्टार १० खेलाडीमा सीमित बन्यो ।

३० औँ मिनेटमा एम्बाप्पेले फ्रान्सका लागि चौथो गोल गरे भने जोनाथन क्लाउ, किंग्सले कोमान र योसुफ फोफानाले एक–एक गोल गर्दै पहिलो हाफमा फ्रान्सको स्कोर ७–० पुर्‍याए ।

दोस्रो हाफको ६३ औँ मिनेटमा एड्रियन राबियोटले आठौँ गोल गरे । १० मिनेटपछि ओसमान डेम्बेलेले अर्को गोल थपे । त्यसपछि एम्बाप्पेले दुई गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे । खेलको अन्त्यतिर ओलिभिए जिरुले दुई गोल थप्दै फ्रान्सका फराकिलो जीत दिलाए ।

फ्रान्सले विपक्षी टोलीको पोस्टमा ३९ वटा प्रहार गरेको थियो । जिब्राल्टारले भने एउटा पनि प्रहार गर्न सकेन । समूह बीमा फ्रान्स २१ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । शून्य अङ्कसहित जिब्राल्टार समूहको पुछारमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप