आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

एकदिवसीय खेलको तथ्याङ्क : अस्ट्रेलिया-८३,भारत-५७

विश्वकपमा अस्ट्रेलियाको आठ र भारतको पाँच जित
बिहीबार, ०३ जेठ २०८१, १० : १५
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । हालसम्म भारत र अस्ट्रेलियाबिच खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासले भारतको तुलनामा अस्ट्रेलियालाई नै बलियो देखाउँछ । यी दुई राष्ट्रबिच हालसम्म एक सय ५० वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएका छन् ।

त्यसमध्ये ८३ खेलमा अस्ट्रेलियाले भारतलाई हराएको थियो । ५७ एकदिवसीय खेलमा भने भारतले अस्ट्रेलियालाई पराजयको स्वाद चखाएको छ । यी दुई राष्ट्रबिचको १० वटा एकदिवसीय खेल भने अनिर्णीत रूपमा सकिएको छ ।

यसैगरी आफ्नो घरेलु मैदानमा खेलिएको ३८ एकदिवसीय खेलमा अस्ट्रेलियाले भारतलाई हराएको छ । भारतले भने घरेलु मैदानमा खेलिएको ३३ खेलमा अस्ट्रेलियालाई पराजित गरेको छ । अस्ट्रेलियाले हालसम्म ३३ एकदिवसीय खेलमा भारतलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । 

भारतले भने अस्ट्रेलियाको घरेलु मैदानमा १४ खेलमात्र जित्न सकेको छ । यसका अतिरिक्त ‘न्यूट्रल भेन्यू’ मा खेलिएको १२ खेलमा अस्ट्रेलिया विजयी भएको छ भने १० खेलमा भारतले सफलता हात पारेको छ । पछिल्लो पटक यी दुई राष्ट्रबिच खेलिएको तीन खेलको एकदिवसीय शृङ्खलामा भारत २—१ ले विजयी भएको थियो ।

विश्वकपमा अस्ट्रेलियाको आठ र भारतको पाँच जित

अस्ट्रेलिया र भारत दुवैले पहिलो संस्करणदेखि नै एकदिवसीय विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । यसबिचमा यी दुई राष्ट्रले विश्वकपमा कुल १३ वटा खेल खेलेका छन् । एकदिवसीय विश्वकपमा खेलिएको खेलको तथ्याङ्कले पनि भारतभन्दा अस्ट्रेलियालाई नै बलियो देखाउँछ । 

एकदिवसीय विश्वकपको आठ खेलमा अस्ट्रेलियाले भारतलाई हराएको छ । भारतले भने विश्वकपको पाँच खेलमा मात्र अस्ट्रेलियालाई हराउन सकेको छ । सबैभन्दा पहिले सन् १९८३ को विश्वकपमा यी दुई राष्ट्रले दुईपटक आपसमा भिडन्त गरेका थिए । त्यतिबेला एउटा खेलमा भारत एक सय १८ रनले र अर्को खेलमा अस्ट्रेलिया एक सय ६२ रनले विजयी भएका थिए ।

त्यसपछि सन् १९८७ को विश्वकपमा पनि यी दुई राष्ट्रबिच दुई खेल भएको थियो । त्यतिबेला एउटा खेलमा भारत ५६ रनले र अर्को खेलमा अस्ट्रेलिया एक रनले विजयी भएका थिए । सन् १९९२ को विश्वकपमा भने अस्ट्रेलियाले भारतलाई एक रनले पराजित गरेको थियो । 

यसैगरी सन् १९९६ को विश्वकपमा पनि अस्ट्रेलियाले भारतलाई १६ रनले हराएको थियो । सन् १९९९ को विश्वकपमा पनि अस्ट्रेलियन टोलीले भारतलाई ७७ रनले पराजित गरेको थियो । सन् २००३ को विश्वकपमा भने यी दुई राष्ट्रबिच दुई खेल खेलिएको थियो । त्यतिबेला दुवै खेलमा अस्ट्रेलिया क्रमशः नौ विकेट र एक सय २५ रनले विजयी भएको थियो ।

यसैगरी सन् २०११ को विश्वकपमा भारतले अस्ट्रेलियालाई पाँच विकेटले हराएको थियो । सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले भारतलाई ९५ रनले पराजित गरेको थियो । सन् २०१९ को विश्वकपमा भारतले अस्ट्रेलियालाई ३६ रनले हराएको थियो । 

यसका अतिरिक्त हाल भारतमा जारी विश्वकपमा पनि प्रारम्भिक चरणमा यी दुई राष्ट्रबिच भिडन्त भइसकेको छ । उक्त खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो । एकदिवसीय विश्वकपमा खेलिएका पछिल्ला दुई खेलमा लगातार भारतले अस्ट्रेलियालाई हराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप