आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

१३औँ विश्वकप : अस्ट्रेलियाको नाममा लेखिएका कीर्तिमान

बिहीबार, ०३ जेठ २०८१, १० : २५
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । जारी विश्वकपमा फाइनलको यात्रा तय गर्दासम्म अस्ट्रेलियाले आफ्नो नाममा थुप्रै कीर्तिमान लेखाइसकेको छ । जारी विश्वकपको एउटै खेलमा सर्वाधिक रन बनाउने टोलीको सूचीमा अस्ट्रेलिया पाँचौँ स्थानमा आसीन छ । अस्ट्रेलियाले नेदरल्यान्ड्सविरुद्धको खेलमा आठ विकेट गुमाएर तीन सय ९९ रन बनाएको थियो । 

आफ्नो विपक्षीलाई सबैभन्दा कम योगफलमा समेट्ने टोलीको सूचीमा पनि अस्ट्रेलिया तेस्रो स्थानमा आसीन छ । अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई २१ ओभरमा केवल ९० रनमा अलआउट गरेको थियो । एउटै खेलमा बनेको सर्वाधिक रनको कीर्तिमान पनि अस्ट्रेलिया र न्युजिल्यान्डको नाममा छ । यी दुई टोलीबिच खेलिएको खेलमा कुल सात सय ७१ रन बनेको थियो । 

यसैगरी विपक्षी टोलीलाई सबैभन्दा ठुलो रन अन्तरले हराउने कीर्तिमान पनि अस्ट्रेलियाकै नाममा लेखिएको छ । प्रारम्भिक चरणको खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई तीन सय नौ रनको विशाल अन्तरले पराजित गरेको थियो । 

यसका अतिरिक्त आफ्नो प्रतिद्वन्द्वीलाई सबैभन्दा कम रनको अन्तरले हराउने कीर्तिमान पनि अस्ट्रेलियन टोलीको नाममा छ । अस्ट्रेलियाले न्युजिल्यान्डलाई केवल पाँच रनले हराएको थियो । सबैभन्दा ठुलो विजय लक्ष्य पुरा गर्ने टोलीको सूचीमा पनि अस्ट्रेलिया दोस्रो र तेस्रो स्थानमा आसीन छ । 

अस्ट्रेलियाले बंगलादेशविरुद्धको खेलमा ४४.४ ओभरमा केवल दुई विकेट गुमाएर तीन सय सात रनको विजय लक्ष्य पुरा गरेको थियो । अर्को खेलमा अस्ट्रेलियाले अफगानिस्तानले दिएको दुई सय ९२ रनको लक्ष्य ४६.५ ओभरमा सात विकेट गुमाएर पुरा गरेको थियो । 

यसैगरी जारी विश्वकपको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा अस्ट्रेलियन ब्याट्सम्यान पहिलो स्थानमा छन् । अफगानिस्तानविरुद्धको खेलमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले अविजित दुई सय एक रन बनाएका थिए । यो सूचीमा अस्ट्रेलियाकै मिचेल मार्स दोस्रो स्थानमा छन् । उनले भने बंगलादेशविरुद्ध अविजित एक सय ७७ रन बनाएका थिए । 

एउटै खेलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा अस्ट्रेलियाकै डेभिड वार्नर चौथो स्थानमा छन् । उनले पाकिस्तानविरुद्धको खेलमा एक सय ६३ रन बनाएका थिए । जारी विश्वकपमा अस्ट्रेलियन ब्याट्सम्यान ग्लेन म्याक्सवेलको ‘स्ट्राइक रेट’ सबैभन्दा उत्कृष्ट रहेको छ । उनले १५०.१८ को ‘स्ट्राइक रेट’ मा रन बनाएका छन् । 

यो सूचीमा अस्ट्रेलियाकै ट्राभिस हेड दोस्रो स्थानमा छन् । उनले १३९.१३ को ‘स्ट्राइक रेट’ मा रन बनाएका छन् । सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको सूचीमा अस्ट्रेलियाका डेभिड वार्नर दोस्रो र ग्लेन म्याक्सवेल तेस्रो स्थानमा छन् । वार्नरले २४ र म्याक्सवेलले २२ छक्का प्रहार गरिसकेका छन् ।

यसैगरी यो विश्वकपमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने ब्याट्सम्यानको सूचीमा अस्ट्रेलियाका ट्राभिस हेड दोस्रो, ग्लेन म्याक्सवेल तेस्रो र डेभिड वार्नर चौथो स्थानमा छन् । हेडले २५ बलमा, म्याक्सवेलले २७ बलमा र वार्नरले २८ बलमा अर्धशतक बनाएका थिए । सबैभन्दा कम बलमा अर्धशतक बनाउने ब्याट्सम्यान भने श्रीलंकाका कुशल परेरा हुन् । उनले केवल २२ बलमा अर्धशतक बनाएका थिए ।

यसैगरी यो विश्वकपमा सबैभन्दा कम बलमा शतक बनाउने ब्याट्सम्यानको सूचीमा अस्ट्रेलियाका म्याक्सवेल पहिलो र ट्राभिस हेड तेस्रो स्थानमा छन् । म्याक्सवेलले नेदरल्यान्ड्सविरुद्धको खेलमा ४० बलमा र हेडले न्युजिल्यान्डविरुद्धको खेलमा ५९ बलमा शतक बनाएका थिए । 

यसैगरी सबैभन्दा कम बलमा एक सय ५० रन बनाउने ब्याट्सम्यानको सूचीमा पनि अस्ट्रेलियाका म्याक्सवेल पहिलो, वार्नर दोस्रो र मिचेल मार्स तेस्रो स्थानमा आसीन छन् । म्याक्सवेलले अफगानिस्तानविरुद्धको खेलमा एक सय चार बलमा, वार्नरले पाकिस्तानविरुद्धको खेलमा एक सय १६ बलमा र मार्सले बंगलादेशविरुद्धको खेलमा एक सय १७ बलमा एक सय ५० रन बनाएका थिए ।

यसैगरी सबैभन्दा कम बलमा दोहोरो शतक बनाउने कीर्तिमान पनि अस्ट्रेलियन ब्याट्सम्यानकै नाममा रहेको छ । अस्ट्रेलियाका म्याक्सवेलले अफगानिस्तानविरुद्धको खेलमा एक सय २८ बलमा दोहोरो शतक बनाएका थिए । जारी विश्वकपमा अन्य ब्याट्सम्यानले दोहोरो शतक बनाउन सकेका छैनन् । 

यसका अतिरिक्त जारी विश्वकपमा सर्वाधिक रनको साझेदारी गर्ने सूचीमा अस्ट्रेलियाका वार्नर र मार्स दोस्रो तथा म्याक्सवेल र प्याट कमिन्स पाँचौँ स्थानमा छन् । वार्नर र मार्सले पाकिस्तानविरुद्धको खेलमा पहिलो विकेटका लागि दुई सय ५९ रनको साझेदारी गरेका थिए । पहिलो विकेटका लागि गरिएको यो सबैभन्दा ठुलो साझेदारी पनि हो । 

म्याक्सवेल र कमिन्सले भने अफगानिस्तानविरुद्धको खेलमा आठौँ विकेटका लागि अविजित दुई सय दुई रनको साझेदारी गरेका थिए । आठौँ विकेटका लागि गरिएको यो सबैभन्दा ठुलो साझेदारी पनि हो । एउटै खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडी पनि अस्ट्रेलियाकै म्याक्सवेल हुन् । उनले अफगानिस्तानविरुद्ध २१ वटा चौका हिर्काएका थिए । एउटै खेलमा चौका र छक्काबाट सर्वाधिक रन बटुल्ने ब्याट्सम्यान पनि म्याक्सवेल हुन् । उनले सोही खेलमा ‘बाउन्ड्री’ बाट मात्र एक सय ४४ रन बनाएका थिए । 

यसैगरी जारी विश्वकपमा सबैभन्दा बढी विकेट लिने बलरको सूचीमा अस्ट्रेलियाका एडम जाम्पा दोस्रो स्थानमा छन् । उनले जारी विश्वकपको १० खेलमा २२ विकेट लिइसकेका छन् । यो विश्वकपमा सबैभन्दा बढी मेडन ओभर फाल्ने बलर पनि अस्ट्रेलियाका जोस हेजलउड हुन् । उनले ८३.१ ओभर बलिङ गर्दै आठवटा मेडन ओभर फालेका छन् । उनी सबैभन्दा बढी ‘डट बल’ फाल्ने बलरको सूचीमा पनि चौथो स्थानमा छन् । उनले हालसम्म तीन सय १२ वटा ‘डट बल’ फालिसकेका छन् । 

यसैगरी यो विश्वकपमा सबैभन्दा बढी क्याच लिने फिल्डरको सूचीमा अस्ट्रेलियाका मार्नस लाम्बुसेन र डेभिड वार्नर दोस्रो स्थानमा छन् । उनीहरूले हालसम्म आठ—आठवटा क्याच लिइसकेका छन् । यसका अतिरिक्त यो विश्वकपमा सबैभन्दा बढी म्यान अफ दी म्याच पाउने खेलाडीको सूचीमा अस्ट्रेलियाका तीन खेलाडी दोस्रो स्थानमा छन् । अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, ट्राभिस हेड र एडम जाम्पाले दुई—दुई पटक म्यान अफ दी म्याचको पुरस्कार पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप