आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

भारत र अस्ट्रेलियासँग जोडिएका सुखद संयोग

बिहीबार, ०३ जेठ २०८१, १० : ४८
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । यो विश्वकपको फाइनल खेल भारत र अस्ट्रेलियाबिच हुँदैछ । यो विश्वकपमा भारतसँग एउटा सुखद संयोग जोडिएको छ । हालसम्म भारतबाहेक कुनै पनि राष्ट्रले घरेलु मैदानमा विश्वकपको उपाधि चुम्न सकेको छैन । भारतले सन् २०११ मा आयोजित १०औँ विश्वकपको उपाधि घरेलु मैदानमै जितेको थियो । 

त्यो विश्वकपको फाइनल खेल भारतको वानखेड स्टेडियममा खेलिएको थियो । टस जिती पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ७४ रन बनाएको थियो । श्रीलंकाका लागि माहेला जयाबर्द्धनेले अविजित एक सय तीन रन बनाएका थिए ।

जवाफी ब्याटिङमा ओर्लिएको भारतले ४८.२ ओभरमा चार विकेट गुमाएर दुई सय ७७ रन बनाउँदै श्रीलंकालाई ६ विकेटले हराएको थियो । भारतका लागि गौतम गम्भीरले ९७ र कप्तान महेन्द्रसिंह धोनीले अविजित ९१ रन बनाएका थिए । 

यसरी भारत घरेलु मैदानमा विश्वकपको उपाधि उचाल्ने पहिलो राष्ट्र बनेको थियो । त्यसको १२ वर्षपछि फेरि भारतले घरेलु मैदानमै विश्वकपको फाइनल खेल्ने अवसर पाएको छ । त्यतिबेला भारतलाई विश्वकप जिताउने टोलीमा रहेका विराट कोहली अहिले पनि भारतीय टोलीका महत्वपूर्ण  सदस्य हुन् ।

अस्ट्रेलियासँग जोडिएको सुखद संयोग 

भारत र अस्ट्रेलिया एकदिवसीय विश्वकपको फाइनलमा भिड्न लागेको यो दोस्रो पटक हो । यसअघि सन् २००३ को विश्वकपको फाइनलमा यी दुई राष्ट्रबिच भिडन्त भएको थियो ।

सन् २००३ को आठौँ एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, केन्या र जिम्बाब्वेले संयुक्त रूपमा आयोजना गरेका थिए । त्यतिबेला भारत र अस्ट्रेलिया फाइनलमा पुगेका थिए । फाइनलमा अस्ट्रेलियाले भारतलाई एक सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । 

फाइनलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ओभरमा दुई विकेट गुमाएर तीन सय ५९ रन बनाएको थियो । अस्ट्रेलियाका लागि कप्तान रिकी पोन्टिङले अविजित एक सय ४० रन बनाएका थिए । उनले केवल एक सय २१ बलमा आठ छक्का र चार चौका हिर्काएका थिए ।

ड्यामिन मार्टिनले पनि टोलीका लागि अविजित ८८ रनको योगदान गरेका थिए । ओपनर ब्याट्सम्यान एडम गिलक्रिस्टले ५७ रन बनाएका थिए । अर्का ओपनर म्याथ्यु ह्याडेनले पनि ३७ रन जोडेका थिए । अस्ट्रेलियाले अतिरिक्त रूपमा पनि ३७ रन पाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको भारतले भने ३९.२ ओभरमा अलआउट हुनुअघि दुई सय ३४ रनमात्र बनाउन सकेको थियो । भारतका लागि ओपनर ब्याट्सम्यान वीरेन्द्र सेहवागले सर्वाधिक ८२ रन बनाएका थिए । 

अस्ट्रेलियाका बलर ग्लेन म्याग्राले तीन तथा ब्रेट ली र एन्ड्र्यु साइमन्ड्सले दुई—दुई विकेट हात पारेका थिए । एन्डी बिकेल र ब्राड हजले पनि एक—एक विकेट लिएका थिए । त्यसको २० वर्षपछि अहिले फेरि विश्वकपको फाइनलमा अस्ट्रेलिया र भारत आमनेसामने हुँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप