आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

बिहीबार, ०३ जेठ २०८१, १२ : ००
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको नेपाली प्रहरीले जानकारी दिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका-१ खहरेस्थित सडकमा रामबाच्छाबाट खहरेतर्फ जाँदै गरेको लु.१ ह ३६८ नम्बरको अटो अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार रूपन्देही तिलोत्तमा नगरपालिका-१० कान्छीबजार बस्ने ओम बहादुर लम्साल क्षेत्रीकी छोरी १६ महिनाकी कायरा क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता सिरहाको लहान नगरपालिका-२३ बथनाहास्थित सडकमा प्रदेश २-०३-००१ त ७५४२ नम्बरको ट्याक्टरले प्र.२-०१-००२प ८००१ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार अर्नमा गाउँपालिका-१ बस्ने २६ वर्षीय रोशन राय र उदयपुर त्रियुगा नगरपालिका-६ लालपत्ता बस्ने २६ वर्षीय सागर भुजेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रोशन रायको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो भने सागर भुजेललाई थप उपचारको लागि विराटनगर नोबेल अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटना पश्चात् फरार रहेको ट्याक्टरको खोजी गर्ने क्रममा सखुवानन्कारकट्टी गाउँपालिका-३ महदेवा स्थितमा सवारी धनी सोही ठाउँ बस्ने ४५ वर्षीय राजलाल यादवको घरमा पार्किङ गरी राखेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर धनी र चालक समेतको प्रहरीले खोजी गरिरहेको छ । 

यसैगरी बाराको पचरौता नगरपालिका-८ बाजेपट्टीस्थित सडकमा हर्नैयाबाट कलैयातर्फ जाँदै गरेको ना.४६ प ६९७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीया अनिला देवी चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

बाराकै कलैया उपमहानगरपालिका-१२ धर्मनगरस्थित सडकमा मटिअर्वाबाट जोतपुरतर्फ जाँदै गरेको बिआर ०५ एडि ६८०० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय गोविन्द केसरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

उता धनुषाको बिदेह नगरपालिका-७ जोगीहारामा ज.१२ प ५३०० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक बिदेह नगरपालिका-७ बस्ने ३० वर्षीय प्रमोद कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै झापाको कमल गाउँपालिका-३ कमल पुलस्थित सडकमा प्रदेश १-०१०१४ प ९६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय कृष्ण बहादुर गिरीको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप