आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१३औँ विश्वकप : भारतको नाममा लेखिएका कीर्तिमान

बिहीबार, ०३ जेठ २०८१, १२ : ०७
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । घरेलु मैदानमा जारी विश्वकपको फाइनलमा पुग्दासम्म भारतले थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाइसकेको छ । जारी विश्वकपको एउटै खेलमा सर्वाधिक रन बनाउने टोलीको सूचिमा भारत दोस्रो स्थानमा आसीन छ । नेदरल्यान्ड्सविरुद्धको खेलमा भारतले निर्धारित ओभरमा चार विकेट गुमाएर चार सय १० रन बनाएको थियो । 

जारी विश्वकपको एउटै खेलमा सर्वाधिक रन बनाउने टोली भने दक्षिण अफ्रिका हो । दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्धको खेलमा पाँच विकेट गुमाएर चार सय २८ रन बनाएको थियो । आफ्नो विपक्षीलाई सबैभन्दा कम योगफलमा अलआउट गर्ने कीर्तिमान पनि भारतकै नाममा छ । भारतले श्रीलंकालाई १९.४ ओभरमा केवल ५५ रनमा आउट गरेको थियो ।

यो सूचिको दोस्रो स्थानमा पनि भारत नै रहेको छ । भारतले दक्षिण अफ्रिकालाई २७.१ ओभरमा ८३ रनमा अलआउट गराएको थियो । यो सूचिको चौथो स्थानमा पनि भारत नै रहेको छ । भारतले साविक विजेता इङ्ल्यान्डलाई ३४.५ ओभरमा एक सय २९ रनमा अलआउट गरेको थियो ।

यो विश्वकपमा आफ्नो विपक्षीलाई सबैभन्दा ठुलो रनअन्तरले हराउने टोलीको सूचिमा भारत दोस्रो र तेस्रो स्थानमा आसीन छ । भारतले श्रीलंकालाई तीन सय दुई रनले हराएको थियो । अर्को खेलमा भारतले दक्षिण अफ्रिकालाई दुई सय ४३ रनले पराजित गरेको थियो । 

यसैगरी जारी विश्वकपमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचिको अग्रस्थानमा पनि भारतीय ब्याट्सम्यान नै रहेका छन् । भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले यो विश्वकपको १० खेलमा कुल सात सय ११ रन बनाइसकेका छन् । 

यसक्रममा विराटले तीन शतक र पाँचवटा अर्धशतक प्रहार गरेका छन् । जारी विश्वकपमा उनले हालसम्म नौ छक्का र ६४ चौका हिर्काएका छन् । उनी यो विश्वकपमा सर्वाधिक चौका प्रहार गर्ने खेलाडी पनि हुन् । उनले यो विश्वकपमा १०१.५७ को औसतमा रन बनाएका छन् । यसमा पनि विराट सबैभन्दा अगाडि छन् । 

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पाँचौँ स्थानमा पनि भारतीय खेलाडी नै छन् । भारतीय टोलीका कप्तान रोहित शर्माले यो विश्वकपमा हालसम्म १० खेल खेल्दै कुल पाँच सय ५० रन बनाइसकेका छन् । यसक्रममा उनले एक शतक र तीन अर्धशतक बनाएका छन् । उनले २८ छक्का र ६२ चौका प्रहार गरिसकेका छन् । उनी यो विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पनि हुन् । सर्वाधिक चौको प्रहार गर्ने ब्याट्सम्यानको सूचिमा भने उनी दोस्रो स्थानमा छन् । 

यसैगरी यो विश्वकपमा सर्वाधिक रनको साझेदारी गर्ने ब्याट्सम्यानको सूचिमा भारतका श्रेयस ऐयर र केएल राहुल तेस्रो स्थानमा छन् । यी दुई भारतीय ब्याट्सम्यानले नेदरल्यान्ड्सविरुद्धको खेलमा चौथो विकेटका लागि दुई सय आठ रनको साझेदारी गरेका थिए । उनीहरूले चौथो विकेटका लागि गरेको साझेदारी भने सबैभन्दा ठुलो हो । 

यसैगरी जारी विश्वकपमा सबैभन्दा बढी विकेट लिने बलरको सूचिमा भारतका मोहम्मद सामी पहिलो स्थानमा छन् । उनले जारी विश्वकपको ६ पालीमा २३ विकेट लिइसकेका छन् । उनी विश्वकपको एउटै खेलमा सर्वाधिक विकेट लिने बलर पनि हुन् । उनले न्युजिल्यान्डविरुद्धको सेमिफाइनलमा ९.५ ओभर बलिङ गर्दै ५७ रन खर्चिएर सात विकेट लिएका थिए । उनी जारी विश्वकपमा सबैभन्दा बढी तीनपटक म्यान अफ दी म्याचको पुरस्कार पाउने खेलाडी पनि हुन् । 

यसका अतिरिक्त सबैभन्दा बढी मेडन ओभर फाल्ने बलरको सूचिमा भारतका जसप्रित बुमराह तेस्रो स्थानमा छन् । उनले ८२.५ ओभर बलिङ गर्दै सात ओभर मेडन फालेका थिए । सबैभन्दा बढी ‘डट बल’ फाल्ने बलरको सूचिमा भारतका बुमराह पहिलो स्थानमा छन् । उनले तीन सय ३५ वटा ‘डट बल’ फालेका छन् । 

यसैगरी एउटै खेलमा पाँच वा त्योभन्दा बढी विकेट लिने बलरहरूको सूचिमा भारतका तीनजना खेलाडी छन् । यो विश्वकपमा भारतीय बलर मोहम्मद सामी, रवीन्द्र जडेजा र मोहम्मद सामीले एउटै खेलमा पाँच वा त्योभन्दा बढी विकेट लिएका छन् । सामीले यस्तो सफलता दुईपटक हात पारेका छन् । 

यसैगरी विकेटकिपरको भूमिकामा सबैभन्दा बढी ब्याट्सम्यानलाई पभेलियन फर्काउने खेलाडीको सूचिमा भारतका केएल राहुल दोस्रो स्थानमा छन् । उनले हालसम्म विपक्षी टोलीका १६ ब्याट्सम्यानलाई पभेलियन फर्काएका छन् । यसक्रममा उनले १५ वटा क्याच लिएका छन् भने एक ब्याट्सम्यानलाई स्टम्पिङ गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप