आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विश्वकप क्रिकेट

विश्वकप फाइनल : भारतले अस्ट्रेलियालाई दियो २४१ रनको मध्यम लक्ष्य

बिहीबार, ०३ जेठ २०८१, १८ : १३
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा आयोजक राष्ट्र भारतले अस्ट्रेलियालाई जितका लागि दुई सय ४१ रनको मध्यम लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा सबै विकेट गुमाएर दुई सय ४० रन बनाएको हो । 

अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भारतले निराशाजनक सुरुआत गरेको थियो । भारतले टोलीको कुल स्कोर एक सय रन पुग्नुअगावै तीन प्रभावशाली विकेट गुमाएको थियो । त्यसपछि भारतीय टोली दबाबमा परेको थियो । 

भारतले पहिलो विकेटका रुपमा ओपनर शुभमन गिललाई केवल चार रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । गिललाई ग्लेन म्याक्सवेलले ट्राभिस हेडद्वारा क्याच गराएका थिए । गिल आउट हुँदा भारतले ४.२ ओभरमा ३० रन बनाएको थियो । 

त्यसपछि भारतीय टोलीका कप्तान रोहित शर्मा ४७ रन बनाउँदै आउट भएका थिए । उनले ३१ बलमा तीन छक्का र चार चौका हिर्काएका थिए । रोहितलाई मिचेल स्टार्कले एडम जाम्पाद्वारा क्याच गराएका थिए । ९.४ ओभरमा रोहित आउट हुँदा भारतले ७६ रन बनाएको थियो । 

त्यसलगत्तै भारतका अर्का ब्याट्सम्यान श्रेयस ऐयर पनि पेभेलियन फर्किएका थिए । चौथो नम्बरका क्रिज समाल्न आएका ऐयरलाई प्याट कुमिन्सले चार रनको व्यक्तिगत स्कोरमा जोस इङ्लिसद्वारा क्याच गराएका थिए । १०.२ ओभरमा ऐयर आउट हुँदा भारतले ८१ रन बनाएको थियो । 

त्यसपछि अनुभवी ब्याट्सम्यान विराट कोहली र केएल राहुलले भारतको पालीलाई सम्हालेका थिए । कोहलीले चौथो विकेटका रुपमा पेभेलियन फर्किनुअघि अर्धसतक बनाएका थिए । उनले टोलीको खातामा ५४ रन थपेका थिए । उनले ६३ बलमा चार चौका प्रहार गरे । 

कोहलीलाई अस्ट्रेलियन बलर प्याट कुमिन्सले बोल्ड गरेका थिए । कुमिन्सले फालेको बल कोहलीको ब्याटमा ठोक्किएर विकेटमा लागेको थियो । २८.३ ओभरमा कोहली आउट हुँदा भारतले एक सय ४८ रन बनाएको थियो । 

त्यसलगत्तै रविन्द्र जडेजा पनि भेलियन फर्किएका थिए । छैठौँ नम्बरमा क्रिज समाल्न आएका जडेजा नौ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए । केवल २२ बलको सामना गरेका जडेजालाई जोस हेजलउडले विकेटकिपर इङ्लिसद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा भारतले ३५.५ ओभरमा एक सय ७८ रन बनाएको थियो ।

त्यसपछि छैठौँ विकेटका रुपमा केएल राहुल अर्धसतक बनाउँदै पेभेलियन फर्किएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान राहुलले टोलीको खातामा ६६ रनको योगदान गरेका थिए । लामो समय क्रिजमा सँघर्ष गरेका उनले एक सय सात बलको सामना गरी केवल एक चौका हिर्काएका थिए । 

राहुललाई अस्ट्रेलियन बलर मिचेल स्टार्कले विकेटकिपर इङ्लिसद्वारा क्याच गराएका थिए । फाइनल खेलमा विकेटकिपर इङ्लिसले लिएको यो तेस्रो क्याच थियो । राहुल आउट हुँदा भारतीय टोलीले ४१.३ ओभरमा दुई सय तीन रन बनाएको थियो । 

भारतले सातौँ विकेटका रुपमा मोहम्मद सामीलाई गुमाएको थियो । उनी ६ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका हुन् । उनले १० बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । उनलाई पनि अस्ट्रेलियन बलर मिचेल स्टार्कले विकेटकिपर इङ्लिसद्वारा क्याच गराएका थिए । विकेटकिपर इङ्लिसले लिएको यो चौथो क्याच थियो । स्टार्कले लिएको भने यो तेस्रो विकेट थियो । सामी आउट हुँदा भारतले ४३.४ ओभरमा दुई सय ११ रन बनाएको थियो । 

यसैगरी आठौँ विकेटका रुपमा जसप्रित बुमराहलाई गुमाएको थियो । उनले केवल एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । एडम जाम्पाले उनलाई एलबीडब्लूको धरापमा पारेका थिए । ४४.५ ओभरमा उनी आउट हुँदा भारतले दुई सय १४ रन बनाएको थियो । फाइनमा जाम्पाले लिएको यो पहिलो विकेट थियो । 

भारतले नवौँ विकेटका रुपमा सूर्यकुमार यादवलाई गुमाएको थियो । उनी २८ बलमा एक चौकाको मद्दतले १८ रन बनाउँदै आउट भएका हुन् । उनलाई अस्ट्रेलियन बलर हेजलउडले इङ्लिसद्वारा क्याच गराएका थिए । विकेटकिपर इङ्लिसले लिएको यो पाँचौँ क्याच थियो । 

हेजलउडले लिएको भने यो दोस्रो विकेट थियो । उनी आउट हुँदा भारतले ४७.३ ओभरमा दुई सय २६ रन बनाएको थियो । भारतका कुलदिप यादबले १० रन र मोहम्मद सिराजले अविजित नौ रन बनाए ।  कुलदिप यादव अन्तिम ओभरको अन्तिम बलमा रन आउट भएका थिए ।

तीन विकेट लिने क्रममा अस्ट्रेलियन बलर स्टार्कले १० ओभर बलिङ गर्दै ५५ रन खर्चिएका थिए । दुई विकेट लिने क्रममा कुमिन्सले १० ओभरमा केवल ३४ रन खर्चिएका थिए । दुई विकेट लिएका हेजलउडले १० ओभरमा ६० रन दिएका थिए । 

यसैगरी एक विकेट लिएका ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन दिएका थिए । एक विकेट लिएका एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चिएका थिए । भारतले अतिरिक्त रुपमा पनि १२ रन पाएको थियो । अस्ट्रेलिया पाँचपटक र भारत दुईपटकको विश्वकप विजेता हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप