आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उत्पादन भएका जनशक्तिहरूको लागि सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्न जरुरी : प्रधानमन्त्री

शुक्रबार, ०४ जेठ २०८१, १३ : ०५
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष पुष्पकमल दाहालले हाल उत्पादन भएका जनशक्तिहरूको लागि सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्दै सर्वसुलभ सेवा प्रवाहमा सुधार ल्याउन जरुरी रहेको बताएका छन् ।  चिकित्सा शिक्षा आयोगको १२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आँकलनका आधारमा अध्ययनको अवसर वृद्धि गर्दै लैजानु वर्तमान समयमा अपरिहार्य भएको बताएका हुन् ।

हाल चिकित्सा शिक्षा क्षेत्रमा तथ्य र प्रमाणमा आधारित भन्दा अपुष्ट रूपमा बजारमा ल्याइने काल्पनिक सूचनाले सेवा प्रदायक संस्थाहरू, अभिभावक तथा विद्यार्थीहरू, नियामक निकायहरू र नीति निर्माण तहमा समेत सही निर्णय लिन कठिन भइरहेकोमा आयोगबाट तयार भएको जनशक्ति प्रक्षेपण योजना अनुसार क्रमशः जनशक्ति उत्पादनको आधार तय गर्नु पर्ने उनको भनाई छ । ‘जनशक्ति उत्पादन वृद्धि मात्र नभई गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डहरूको परिपालन समेत उतिकै अनिवार्य रहेको छ । अन्तर्राष्ट्रियरुपमा नेपालमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि हाम्रो चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रको रूपमा स्थापित प्रयास भइरहेको छ,’ उनले भने ।

चिकित्सा शिक्षाको अध्ययन अध्यापनलाई मुलुकको सबै प्रदेशहरूमा विस्तार गरी आवश्यक सबै प्रकारको जनशक्तिको विकास गरी जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य सेवा सरल र सहजरुपमा प्रदान गर्ने वातावरण सृजना गर्नको लागि आवश्यक पर्ने कानुनी नीतिगत र संस्थागत सुधारहरू क्रमशः अगाडि बढाउँदै लैजान सबै मिलेर कार्य गर्नु आवश्यक रहेको उनले बताए ।

प्रधानमन्त्री दाहालले चिकित्सा शिक्षा आयोगको गठन पश्चात् नियुक्त तथा मनोनयन हुनु भएका आयोगका निवर्तमान उपाध्यक्ष, आयोगका सदस्यहरू एवम् निर्देशकहरुले चिकित्सा शिक्षाको उन्नयन र विकासका लागि अनुकरणीय कार्य गरी आयोगको चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा उनीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै धन्यवाद व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप