आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

तथ्याङ्कमा १३औँ विश्वकप : सबैभन्दा सफल विकेटकिपरदेखि सर्वाधिक क्याचसम्म

मङ्गलबार, ०४ वैशाख २०८१, १३ : ४५
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । अस्ट्रेलियालाई कीर्तिमानी रूपमा छैटौँपटक उपाधि चुमाउँदै आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण सकिएको छ । अस्ट्रेलियाले आइतबार राति अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न फाइनलमा आयोजक राष्ट्र भारतलाई ६ विकेटले हराउँदै उपाधि हात पारेको हो ।

australia champions

अब एकदिवसीय विश्वकपको १४औँ संस्करण सन् २०२७ मा आयोजना हुनेछ । उक्त विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्नेछन् । भारतमा सम्पन्न १३औँ संस्करणमा १० वटा टोलीको सहभागिता रहेको थियो । यो विश्वकपमा कुल ४८ खेल खेलिएको थियो । समग्रमा विश्वकपको १३औँ संस्करण यस्तो रह्यो  :

० एउटै पालीमा सर्वाधिक रन बनाउने टोली  : १३औँ विश्वकपको एउटै पालीमा सर्वाधिक रन बनाउने टोली दक्षिण अफ्रिका हो । दक्षिण अफ्रिकाले प्रारम्भिक चरणको श्रीलंकाविरुद्धको खेलमा ५० ओभरमा पाँच विकेट गुमाएर चार सय २८ रन बनाएको थियो । यो सूचीमा भारत दोस्रो स्थानमा रह्यो । भारतले प्रारम्भिक चरणकै नेदरल्यान्ड्सविरुद्धको खेलमा ५० ओभरमा चार विकेट गुमाएर चार सय १० रन बनाएको थियो । 

india srilanka

० एक पालीमा सबैभन्दा कम रन बनाउने टोली  : यो विश्वकपको एउटा पालीमा सबैभन्दा कम रन बनाउने टोली श्रीलंका हो । श्रीलंकाली टोली प्रारम्भिक चरणको भारतविरुद्धको खेलमा १९.४ ओभरमा केवल ५५ रन बनाउँदै अलआउट भएको थियो । यो सूचीमा दोस्रो स्थानमा दक्षिण अफ्रिका रह्यो । दक्षिण अफ्रिकी टोलीले पनि भारतविरुद्धको खेलमा २७.१ ओभरमा अलआउट हुनुअघि ८३ रनमात्र बनाउन सकेको थियो । 

० एउटै खेलमा दुवै टोलीले बनाएको सर्वाधिक रन  : यो विश्वकपको एउटै खेलमा दुई टोलीले मिलेर सात सय ७१ रन बनाएका थिए । प्रारम्भिक चरणको अस्ट्रेलिया र न्युजिल्यान्डबिचको खेलमा दुवै टोलीले मिलेर उक्त रन बनाएका थिए । त्यो खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.२ ओभरमा अलआउट हुनुअघि तीन सय ८८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले भने निर्धारित ५० ओभरमा तीन सय ८३ रन बनाएको थियो । त्यो खेलमा अस्ट्रेलिया पाँच रनले विजयी भएको थियो ।

दोस्रो ठुलो रन भने दक्षिण अफ्रिका र श्रीलंकाबिचको खेलमा बनेको थियो । त्यो खेलमा दुवै टोलीले मिलेर कुल सात सय ५४ रन बनेको थियो । दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ५० ओभरमा पाँच विकेट गुमाएर चार सय २८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको श्रीलंकाले ४४.५ ओभरमा अलआउट हुनुअघि तीन सय २६ रन बनाएको थियो । त्यो खेलमा दक्षिण अफ्रिका एक सय दुई रनले विजयी भएको थियो । 

० एउटा खेलमा दुवै टोलीले बनाएको सबैभन्दा कम रन  : यो विश्वकपको एउटै खेलमा दुवै टोलीले मिलेर बनाएको सबैभन्दा कम रन भने तीन सय १४ रन हो । प्रारम्भिक चरणको बंगलादेश र अफगानिस्तानबिचको खेलमा उक्त रन बनेको हो । उक्त खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३७.२ ओभरमा अलआउट हुनुअघि एक सय ५६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले भने ३४.४ ओभरमा केवल चार विकेट गुमाएर एक सय ५८ रन बनाउँदै विजयलक्ष्य पुरा गरेको थियो । 

australia netherlands

० रनका आधारमा सबैभन्दा ठूलोअन्तरको जित  : १३औँ विश्वकपमा रनका आधारमा सबैभन्दा ठुलो जित हासिल गर्ने राष्ट्र अस्ट्रेलिया हो । अस्ट्रेलियाले प्रारम्भिक चरणको खेलमा नेदरल्यान्ड्सलाई तीन सय नौ रनको विशालअन्तरले हराएको थियो । यो सूचीमा भारत दोस्रो स्थानमा रह्यो । भारतले पनि प्रारम्भिक चरणकै खेलमा श्रीलंकालाई तीन सय दुई रनले हराएको थियो । 

० विकेटका आधारमा सबैभन्दा ठुलो अन्तरको जित  : यो विश्वकपमा विकेटका आधारमा सबैभन्दा ठुलोअन्तरको जित हासिल गर्ने टोली न्युजिल्यान्ड हो । प्रतियोगिताको उद्घाटन खेलमा साविक उपविजेता न्युजिल्यान्डले साविक विजेता इङ्ल्यान्डलाई नौ विकेटको फराकिलोअन्तरले हराएको थियो । त्यो खेलमा पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ८२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले ३६.२ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । 

० सबैभन्दा कम रनको जित  : यो विश्वकपमा सबैभन्दा कम रनको जित हासिल गर्ने कीर्तिमान अस्ट्रेलियाको नाममा रह्यो । अस्ट्रेलियाले न्युजिल्यान्डलाई केवल पाँच रनले हराएको थियो । यो सूचीमा दोस्रो स्थानमा पाकिस्तान रह्यो । पाकिस्तानले पनि न्युजिल्यान्डलाई नै ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २१ रनले हराएको थियो । 

south africa pak

० विकेटका आधारमा सबैभन्दा कमअन्तरको जित  : यो विश्वकपमा विकेटका आधारमा सबैभन्दा कमअन्तरले खेल जित्ने टोली दक्षिण अफ्रिका हो । दक्षिण अफ्रिकाले प्रारम्भिक चरणको खेलमा पाकिस्तानलाई केवल एक विकेटले हराएको थियो । त्यो खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै ४६.४ ओभरमा अलआउट हुनुअघि दुई सय ७० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले ४७.२ ओभरमा नौ विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । 

० सबैभन्दा ठुलो विजलक्ष्य पुरा गर्ने टोली  : १३औँ विश्वकपमा सबैभन्दा ठुलो विजयलक्ष्य पुरा गर्दै आफ्नो प्रतिद्वन्द्वीलाई हराउने टोली पाकिस्तान हो । पाकिस्तानले प्रारम्भिक चरणको खेलमा श्रीलंकाले दिएको तीन सय ४५ रनको लक्ष्य पुरा गरेको थियो । त्यो खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको पाकिस्तानले ४८.२ ओभरमा चार विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । 

० एकै पालीमा सबैभन्दा बढी अतिरिक्त रन  : यो विश्वकपमा एकै पालीमा सबैभन्दा बढी अतिरिक्त रन दिने टोली नेदरल्यान्ड्स हो । नेदरल्यान्ड्सले प्रारम्भिक चरणमा श्रीलंकाविरुद्धको खेलमा ४९.४ ओभर बलिङ गर्दै अतिरिक्त रूपमा ३३ रन दिएको थियो । यो सूचीमा दोस्रो स्थानमा पनि नेदरल्यान्ड्स नै रह्यो । नेदरल्यान्ड्सले दक्षिण अफ्रिकाविरुद्धको खेलमा ४३ ओभर बलिङ गर्दै अतिरिक्त रूपमा ३२ रन दिएको थियो । 

south africa

० सबैभन्दा बढी अतिरिक्त रन पाउने टोली  : यो विश्वकप अवधिभर सबैभन्दा बढी अतिरिक्त रन पाउने राष्ट्र दक्षिण अफ्रिका हो । दक्षिण अफ्रिकाले १० खेलमा कुल एक सय ९० रन अतिरिक्त रूपमा पाएको थियो । यो सूचीमा दोस्रो स्थानमा रहेको अस्ट्रेलियाले ११ खेलमा एक सय ६३ रन अतिरिक्त रूपमा पाएको थियो । 

० सर्वाधिक रन बनाउने ब्याट्सम्यान  : यो विश्वकपमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान भारतका विराट कोहली हुन् । उनले यो विश्वकपमा ११ खेल खेल्दै ९५.६२ को औसतले कुल सात सय ६५ रन बनाएका छन् । यसका क्रममा उनले तीन शतक र ६ वटा अर्धशतक पनि बनाएका छन् । उनले नौ छक्का र ६८ वटा चौका प्रहार गरेका छन् । एउटै खेलमा उनले बनाएको उच्च स्कोर भने एक सय १७ रन हो ।

यो सूचीमा भारतकै कप्तान रोहित शर्मा दोस्रो स्थानमा छन् । उनले ११ खेल खेल्दै ५४.२७ को औसतले कुल पाँच सय ९७ रन बनाएका छन् । यसक्रममा उनले एक शतक र तीनवटा अर्धशतक पनि बनाएका छन् । उनले ३१ छक्का र ६६ चौका हिर्काएका छन् । एउटै खेलमा उनको उच्च स्कोर भने एक सय ३१ रन हो । तेस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाका क्विन्टन डी ककले पाँच सय ९४, चौथो स्थानमा रहेका न्युजिल्यान्डका रचिन रविन्द्रले पाँच सय ७८ र पाँचौँ स्थानमा रहेका न्युजिल्यान्डका ड्यारल मिचेलले पाँच सय ५२ रन बनाए । 

० एउटै खेलमा सर्वाधिक एकल रन  : १३औँ विश्वकपको एउटै खेलमा सर्वाधिक एकल रन बनाउने ब्याट्सम्यान अस्ट्रेलियाका ग्लेन म्याक्सवेल हुन् । उनले अफगानिस्तानविरुद्धको खेलमा अविजित दुई सय एक रन बनाएका थिए । यसक्रममा उनले एक सय २८ बलको सामना गरी १० छक्का र २१ चौका प्रहार गरेका थिए । त्यो खेलमा उनको स्ट्राइक रेट १५७.०३ रहेको थियो । यो सूचीमा दोस्रो स्थानमा पनि अस्ट्रेलियाकै मिचेल मार्स छन् । उनले बंगलादेशविरुद्धको खेलमा एक सय ३२ बलमा अविजित एक सय ७७ रन बनाएका थिए । तेस्रो स्थानमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक छन् । उनले पनि बंगलादेशविरुद्ध एक सय ७४ रन बनाएका थिए । चौथो स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर छन् । उनले पाकिस्तानविरुद्ध एक सय ६३ रन बनाएका थिए । पाँचौँ स्थानमा न्युजिल्यान्डका डेभोन कनवे छन् । उनले इङ्ल्यान्डविरुद्ध अविजित एक सय ५२ रन बनाएका थिए । 

० उच्च औसतमा रन बनाउने ब्याट्सम्यान  : यो विश्वकपमा सबैभन्दा उत्कृष्ट औसतमा रन बनाउने ब्याट्सम्यान भारतका विराट कोहली हुन् । उनले ११ पाली खेल्दै ९५.६२ को औसतमा कुल सात सय ६५ रन बनाए । दोस्रो स्थानमा रहेका न्युजिल्यान्डका केन विलियम्सनले चार पाली खेल्दै ८५.३३ को औसतमा कुल दुई सय ५६ रन बनाए । तेस्रो स्थानमा आसिन भारतका केएल राहुलले १० खेल खेल्दै ७५.३३ को औसतमा कुल चार सय ५२ रन बनाए । चौथो स्थानमा रहेका पाकिस्तानका फाखर जामनले चार पाली खेल्दै ७३.३३ को औसतले कुल दुई सय २० रन बनाए । पाँचौँ स्थानमा आसिन अफगानिस्तानका अजमतुल्लाह ओमरजाईले आठ पाली खेल्दै ७०.६० को औसतले कुल तीन सय ५३ रन बनाए । 

० उत्कृष्ट स्ट्राइक रेट  : यो विश्वकपमा उत्कृष्ट स्ट्राइक रेट भने अस्ट्रेलियन ब्याट्सम्यान ग्लेन म्याक्सवेलको रह्यो । उनले स्ट्राइक रेट १५०.३७ रह्यो । उनले नौ पालीमा दुई सय ६६ बलको सामना गरी कुल चार सय रन बनाए । दोस्रो स्थानमा दक्षिण अफ्रिकाका हेनरिच क्लासेन रहे । उनको स्ट्राइक रेट १३३.२१ रह्यो । उनले १० पालीमा दुई सय ८० बलको सामना गरी कुल तीन सय ७३ रन बनाएका थिए । 

० सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान  : १३औँ विश्वकपका क्रममा कुल ६ सय ४४ वटा छक्का प्रहार भयो । सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान भारतका कप्तान रोहित शर्मा हुन् । उनले ११ पालीमा कुल ३१ वटा छक्का प्रहार गरे । दोस्रो स्थानमा रहेका भारतका श्रेयस ऐयर र अस्ट्रेलियाका डेभिड वार्नरले ११ पाली खेल्दै २४—२४ वटा छक्का हिर्काए ।

० सर्वाधिक चौका प्रहार गर्ने ब्याट्सम्यान  : यो विश्वकपमा कुल दुई हजार दुई सय ३९ वटा चौका प्रहार भयो । सर्वाधिक चौका प्रहार गर्ने ब्याट्सम्यान भारतका विराट कोहली हुन् । उनले ११ पाली खेल्दै ६८ वटा चौका हिर्काए । यो सूचीमा दोस्रो स्थानमा पनि भारतकै रोहित शर्मा रहे । उनले पनि ११ पाली खेल्दै कुल ६६ वटा चौका हिर्काए । तेस्रो स्थानमा रहेका दक्षिण अफ्रिकाका क्विन्टन डी ककले ५७, न्युजिल्यान्डका रचिन रविन्द्रले ५५ र न्युजिल्यान्डका डेभोन कनवेले ५४ वटा चौका प्रहार गरे । उनीहरूले १०—१० खेल खेलेका थिए ।    

kushal parera

० सबैभन्दा कम बलमा अर्धशतक  : १३औँ विश्वकपमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने ब्याट्सम्यान श्रीलंकाका कुशल परेरा हुन् । उनले प्रारम्भिक चरणको खेलमा न्युजिल्यान्डविरुद्ध केवल २२ बलमा अर्धशतक बनाएका थिए । यो सूचीमा दोस्रो स्थानमा श्रीलंकाकै कुशल मेन्डिस र अस्ट्रेलियाका ट्राभिस हेड रहेका छन् । मेन्डिसले दक्षिण अफ्रिकाविरुद्धको खेलमा २५ बलमा अर्धशतक बनाएका थिए । हेडले भने न्युजिल्यान्डविरुद्धको खेलमा २५ बलमा अर्धशतक प्रहार गरेका थिए । 

० सबैभन्दा कम बलमा शतक  : यो विश्वकपमा सबैभन्दा कम बलमा शतक बनाउने ब्याट्सम्यान अस्ट्रेलियाका ग्लेन म्याक्सवेल हुन् । उनले नेदरल्यान्ड्सविरुद्धको खेलमा केवल ४० बलमा शतक बनाएका थिए । यो सूचीमा दोस्रो स्थानमा दक्षिण अफ्रिकाका एडन मारक्रम रहेका छन् । उनले श्रीलंकाविरुद्धको खेलमा ४९ बलमा शतक बनाएका थिए । तेस्रो स्थानमा रहेका अस्ट्रेलियाका ट्राभिस हेडले न्युजिल्यान्डविरुद्धको खेलमा ५९ बलमा शतक बनाएका थिए । चौथो स्थानमा रहेका दक्षिण अफ्रिकाका हेनरिच क्लासेनले इङ्ल्यान्डविरुद्धको खेलमा ६१ बलमा र पाँचौँ स्थानमा रहेका भारतका केएल राहुलले नेदरल्यान्ड्सविरुद्धको खेलमा ६२ बलमा शतक प्रहार गरेका थिए । 

० सबैभन्दा कम बलमा १५० रन  : सबैभन्दा कम बलमा एक सय ५० रन बनाउने ब्याट्सम्यान अस्ट्रेलियाका ग्लेन म्याक्सवेल हुन् । उनले अफगानिस्तानविरुद्धको खेलमा केवल एक सय चार बलमा एक सय ५० रन बनाएका थिए । दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका डेभिड वार्नरले पाकिस्तानविरुद्धको खेलमा एक सय १६ बलमा एक सय ५० रन बनाएका थिए । 

० सबैभन्दा कम बलमा दोहोरो शतक : यो विश्वकपमा सबैभन्दा कम बलमा दोहोरो शतक बनाउने खेलाडी अस्ट्रेलियाका ग्लेन म्याक्सवेल हुन् । उनले अफगानिस्तानविरुद्धको खेलमा केवल एक सय २८ बलमा दोहोरो शतक पुरा गरेका थिए । उनी यो विश्वकपमा दोहोरो शतक प्रहार गर्ने एकमात्र खेलाडी पनि हुन् । 

rachin devon

० सबैभन्दा ठुलो साझेदारी  : यो विश्वकपमा सबैभन्दा ठुलो साझेदारी गर्ने ब्याट्सम्यान न्युजिल्यान्डका रचिन रविन्द्र र डेभोन कनवे हुन् । उनीहरूले इङ्ल्यान्डविरुद्धको खेलमा दोस्रो विकेटका लागि अविजित दुई सय ७३ रनको साझेदारी गरेका थिए । यो सूचीमा दोस्रो स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर र मिचेल मार्स छन् । उनीहरूले पाकिस्तानविरुद्धको खेलमा पहिलो विकेटका लागि दुई सय ५९ रनको साझेदारी गरेका थिए । तेस्रो स्थानमा भारतका श्रेयस ऐयर र केएल राहुल छन् । उनीहरूले नेदरल्यान्ड्सविरुद्धको खेलमा चौथो विकेटका लागि दुई सय आठ रनको साझेदारी गरेका थिए । चौथो स्थानमा दक्षिण अफ्रिकाका रासी भान डेर डुसान र क्विन्टन डी कक छन् । उनीहरूले श्रीलंकाविरुद्धको खेलमा दोस्रो विकेटका लागि दुई सय चार रनको साझेदारी गरेका थिए । पाँचौँ स्थानमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल र प्याट कुमिन्स छन् । उनीहरूले अफगानिस्तानविरुद्धको खेलमा आठौँ विकेटका लागि अविजित दुई सय दुई रनको साझेदारी गरेका थिए । 

० सर्वाधिक शतक बनाउने ब्याट्सम्यान  : यो विश्वकपमा सबैभन्दा बढी शतक बनाउने खेलाडी दक्षिण अफ्रिकाका क्विन्टन डी कक हुन् । उनले चारवटा शतक बनाएका छन् । न्युजिल्यान्डका रचिन रविन्द्र र भारतका विराट कोहलीले भने तीन—तीन शतक बनाएका छन् । 

० सबैभन्दा बढी अर्धशतक बनाउने ब्याट्सम्यान  : १३औँ विश्वकपमा सबैभन्दा बढी अर्धशतक बनाउने ब्याट्सम्यान भारतका विराट कोहली हुन् । उनले यो विश्वकपमा ६ वटा अर्धशतक बनाएका छन् । उनले ५० भन्दा बढी रन भने नौपटक बनाएका छन् । 

० एकै पालीमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान  : यो विश्वकपको एकै पालीमा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान पाकिस्तानका फखर जामन हुन् । उनले न्युजिल्यान्डविरुद्धको खेलमा ११ वटा छक्का हिर्काएका थिए । दोस्रो स्थानमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल छन् । उनले अफगानिस्तानविरुद्ध १० वटा छक्का हिर्काएका थिए । 

० एकै पालीमा सर्वाधिक चौका प्रहार गर्ने ब्याट्सम्यान  : यो विश्वकपको एकै पालीमा सर्वाधिक चौका प्रहार गर्ने ब्याट्सम्यान अस्ट्रेलियाका ग्लेन म्याक्सवेल हुन् । उनले अफगानिस्तानविरुद्धको खेलमा २१ वटा चौका हिर्काएका थिए । यो सूचीमा दोस्रो स्थानमा रहेका न्युजिल्यान्डका डेभोन कनवेले इङ्ल्यान्डविरुद्ध १९ वटा चौका प्रहार गरेका थिए ।

० बाउन्ड्री प्रहारबाट सर्वाधिक रन  : १३औँ विश्वकपको एउटै खेलमा छक्का र चौका प्रहारबाट सबैभन्दा बढी रन बनाउने खेलाडी अस्ट्रेलियाका ग्लेन म्याक्सवेल हुन् । उनले अफगानिस्तानविरुद्ध छक्का र चौकाबाट मात्र एक सय ४४ रन बनाएका थिए । यो सूचीको दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका मिचेल मार्सले बंगलादेशविरुद्ध बाउन्ड्री प्रहारबाट मात्र एक सय २२ रन बनाएका थिए ।

० सबैभन्दा बढी विकेट लिने बलर  : १३औँ विश्वकपमा सबैभन्दा बढी विकेट लिने बलर भारतका मोहम्मद शमी हुन् । उनले यो विश्वकपको सात पालीमा २४ विकेट लिएका छन् । उनले तीन खेलमा पाँच वा त्योभन्दा बढी विकेट लिएका थिए । दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका एडम जाम्पाले ११ पालीमा २३ विकेट लिए । तेस्रो स्थानमा रहेका श्रीलंकाका दिल्सान मदुसानका नौ पालीमा २१ विकेट लिए । चौथो स्थानमा भारतका जसप्रित बुमराह र दक्षिण अफ्रिकाका जेराल्ड कोट्जी छन् । उनीहरूले २०—२० विकेट लिएका छन् । 

० एकै पालीमा उत्कृष्ट बलिङ  : यो विश्वकपको एउटै पालीमा उत्कृष्ट बलिङ गर्ने बलर पनि भारतका मोहम्मद शमी नै हुन् । उनले न्युजिल्यान्डविरुद्धको खेलमा ९.५ ओभर बलिङ गर्दै ५७ रन खर्चिएर सात विकेट लिएका थिए । दोस्रो स्थानमा पनि शमी नै छन् । उनले श्रीलंकाविरुद्धको खेलमा पाँच ओभर बलिङ गर्दै १८ रन खर्चिएर पाँच विकेट लिएका थिए । 

० सबैभन्दा बढी मेडन ओभर  : यो विश्वकपमा सबैभन्दा बढी मेडन ओभर फाल्ने बलर भारतका जसप्रित बुमराह हुन् । उनले ११ पालीमा ९१.५ ओभर बलिङ गर्दै नौवटा मेडन ओभर फालेका थिए । दोस्रो स्थानमा अस्ट्रेलियाका जोस हेजलउड छन् । उनले ११ पालीमा ९३.१ ओभर बलिङ गर्दै आठवटा मेडन ओभर फालेका थिए । 

० सबैभन्दा बढी ‘डट बल’  : १३औँ विश्वकपमा सबैभन्दा बढी ‘डट बल’ फाल्ने बलर भारतका जसप्रित बुमराह हुन् । उनले यो विश्वकपको ११ पालीमा तीन सय ७२ वटा ‘डट बल’ फालेका थिए । दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका जोस हेजलउडले ११ पालीमा तीन सय ३४ वटा ‘डट बल’ फालेका थिए । 

० सबैभन्दा सफल विकेटकिपर  : यो विश्वकपको सबैभन्दा सफल विकेटकिपर दक्षिण अफ्रिकाका क्विन्टन डी कक हुन् । उनले विश्वकपको १० पालीमा विपक्षी टोलीका २० ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए । यसक्रममा उनले १९ वटा क्याच लिएका थिए भने एउटा स्टम्पिङ गरेका थिए । दोस्रो स्थानमा रहेका भारतका केएल राहुलले १७ ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए । यसक्रममा उनले १६ क्याच लिएका थिए भने एउटा स्टम्पिङ गरेका थिए । 

० सबैभन्दा बढी क्याच लिने फिल्डर  : १३औँ विश्वकपमा सबैभन्दा बढी क्याच लिने फिल्डर न्युजिल्यान्डका ड्यारेल मिचेल हुन् । उनले विश्वकपको १० पालीमा ११ वटा क्याच लिएका थिए । यो सूचीको दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका मार्नस लाम्बुसेन र डेभिड वार्नरले १०—१० वटा क्याच लिएका थिए । 

० सबैभन्दा बढी म्यान अफ दी म्याच  : यो विश्वकपमा सबैभन्दा बढी म्यान अफ दी म्याचको पुरस्कार पाउने खेलाडी अस्ट्रेलियाका ट्राभिस हेड र भारतका मोहम्मद शमी हुन् । उनीहरूले तीन—तीन खेलमा म्यान अफ दी म्याचको पुरस्कार पाएका थिए । 

० म्यान अफ दी सिरिज  : १३औँ विश्वकपमा म्यान अफ दी सिरिजको पुरस्कार भारतका विराट कोहलीले पाए । उनले यो विश्वकपमा सर्वाधिक सात सय ६५ रन बनाएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप