आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मंसिर ७ को प्रदर्शन

दुर्गा प्रसाईको प्रदर्शनमा कोशी प्रदेशबाट कति मानिस जालान् काठमाडौँ ?

मङ्गलबार, ०४ वैशाख २०८१, १९ : २३
मङ्गलबार, ०४ वैशाख २०८१

विराटनगर । मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले मंसिर ७ गते काठमाडौँमा गर्न लागेको प्रदर्शनमा १ हजारदेखि १५ सयसम्म मानिस कोशी प्रदेशबाट जानसक्ने सुरक्षा निकायले अनुमान गरेको छ ।

प्रसाईले घोषणा गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’को नाममा मंसिर ७ गते लाखौँ मानिस काठमाडौँमा उतार्ने दाबी गरिएको छ । उक्त प्रदर्शनले देशको व्यवस्था परिवर्तन गर्ने प्रसाईको दाबी छ ।

तर, कोशी प्रदेशको सुरक्षा निकायले भने प्रसाईले झापामा सोमबार गरेको एक कार्यक्रममा मानिसको उपस्थिति नै २ सय कट्न नसकेको जनाएको छ । ‘आफ्नै कोर एरियामा गरेको सोमबारको कार्यक्रममा त मान्छे आएनन् । कहाँबाट काठमाडौँ जान्छन् त्यत्रो मान्छे ?,’ सुरक्षा निकायका एक अधिकारीले भने, ‘आज झापाको सुरुङ्गामा गरेको कार्यक्रममा अधिकतम २ सय मानिस थिए ।’

तर, अरु विभिन्न असन्तुष्ट समूहहरु प्रदर्शनमा सहभागी हुनसक्ने सुरक्षा निकायको अनुमान छ । ‘काठमाडौँको सहभागिताको हिसाबले १०–१५ हजार मानिस सहभागी हुन सक्छन्,’ उनले भने, ‘तर, कोशी प्रदेशमा हामीले सबै जिल्लामा ट्र्याक गरिरहेका छौँ । हामीले हेर्दा अधिकतम १ हजार, १२ सयको हाराहारीमा मानिस जालान् । १६ सय गाडी कहाँबाट आउँछ ? अनि मान्छे कहाँबाट जानु ? यी हावादारी कुरा हुन् ।’

उनले बरु ठूला पार्टी तथा नेताहरुले प्रसाईको विषयलाई महत्त्व दिएको विषय चाहिँ अचम्म लाग्दो रहेको बताए । ‘उसलाई जसरी स्पेस दिन खोजिएको छ । यो उसलाई नेता बनाउने प्रयास हो,’ उनले भने, ‘नेताहरु किन डराएका हुन् भनेर मैले बुझ्नै सकेको छैन ।’

उता, प्रसाईको अभियानका केन्द्रीय सदस्य तथा झापा सचिवालयका संयोजक देवी संग्रौलाले भने झापा, मोरङ र सुनसरीबाट मात्रै डेढ लाख मानिस काठमाडौँ जाने दाबी गरे ।

‘झापा, मोरङ र सुनसरीबाट डेढ लाख मानिस जान्छन् । आन्दोलन स्वतःस्फूर्त हुन्छ । जनता कुखुराको अण्डा, धान, साग, भक्का बेचेर आन्दोलनमा जानेछन् । जानेहरुको लागि झापा, मोरङ र सुनसरीबाट समन्वय गरेका छौँ,’ उनले भने, ‘४ सय ९५ गाडी मानिस गइसके । आज गएको बसको रेकर्ड भोलि आउँछ । १५ सय बाइकमा मान्छे जान्छन् । त्यस्तै साना गाडी ३ सयको हाराहारी जान्छ ।’

उनले ठुला बसमा जानेहरुका लागि आफूहरुले समन्वय गरिरहेको बताए । त्यस्ता गाडी १९ सयको हाराहारीमा जाने आकलन गरिएको भए पनि १६ सयको हाराहारीमा कन्फर्म जाने उनको दाबी छ ।

उता, प्रसाईले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने स्थानीय प्रशासनले निर्णय गरिसकेको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिएको हो ।

उता, गृह मन्त्रालयले भने दुर्गा प्रसाईले नेतृत्व गरेको समूहले कम्तीमा ५ हजार मानिस उपत्यका बाहिरबाट ल्याउन सक्ने आकलन गरेको छ भने युवा संघले १५ हजार मानिस उतार्ने आकलन छ ।

दुवै पक्षले माइतीघरमा कार्यक्रममा राख्दा झडप हुने सम्भावना भएकाले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेर सम्भावित झडप रोक्ने तयारीमा सरकार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप