आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थतन्त्र थप चलायमान बनाउन सरकारले निजी क्षेत्रसँग सुझाव लिने

मङ्गलबार, ०४ वैशाख २०८१, २० : ३७
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । सरकारले अर्थतन्त्र थप चलायमान बनाउन निजी क्षेत्रसँग सुझाव लिने भएको छ । अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा मंगलबार दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल हुने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।  

देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

‘आन्तरिक संरचनामा के उपलब्धि भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दैछौँ भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिने योजना रहेको छ,’ मन्त्री डा. महतले भने, ‘प्रधानमन्त्रीको निर्देशन अनुसार मैले वर्तमान देशको अर्थतन्त्रका बारे बैठकमा ब्रिफिङ गरेँ ।’ 

त्यसपछि राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना कुरा राखेका थिए । 

‘समग्रमा हाम्रो अर्थतन्त्रले लय पक्रँदै गरेको छ, विप्रेषण, पर्यटक आगमन र शोधान्तरको स्थितिले हामी राम्रो अवस्थामा छौँ’, मन्त्री डा. महतले भने, ‘कारोबार कम भइरहेको, उत्पादन कम, लगानी वृद्धि नभइरहेको अवस्था छ, यस विषयमा पनि समीक्षा भयो । जग्गा कारोबार, बैंकबाट कर्जा प्रवाह बढेको र गत वर्षको तुलनामा पुँजीगत खर्च पनि बढेको र साधारण खर्चमा मितव्ययी भएको छ । लक्ष्यअनुसार हामीले उपलब्धि हासिल गरिरहेका छौँ ।’

रोजगारीका अवसर वृद्धि गर्ने विषयमा पनि छलफल भएको मन्त्री डा। महतले बताए । विशेषतः सहकारी र लघु वित्तको नियमन अभावले समस्या आएको विषयमा पनि छलफल भएको थियो । 

बजेट कार्यान्वयनको चुनौतीलाई सरकारका सबै संयन्त्रले एक लयमा छिटो छरितोसँग परिणाम देखाउने गरी काम गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।  

बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक र विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री र सचिव तथा अन्य सम्बन्धित पदाधिकारीको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप