आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कृषि

नश्ल सुधारका लागि विदेशबाट तीन वर्षमा करिब एक सय १६ पशुचौपाया ल्याइयो

किन आवश्यक छ नश्ल सुधार ?
शनिबार, ०५ जेठ २०८१, ०६ : ३२
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । पछिल्लो पटक भारतबाट मुर्रा राँगा ल्याउने तयारी भइरहँदा नश्ल सुधारका लागि आयातित पशुचौपायाको विषयमा चासो बढेको छ । विदेशबाट गाई, बाख्रा, बंगुर लगायत राम्रो मानिएका जातका पशुचौपाया नश्ल सुधारका लागि ल्याइन्छ ।

विभिन्न संघ संस्थाले नश्ल सुधारका लागि पशुचौपाया भित्र्याउने भएकाले विदेशबाट कति त्यस्ता पशुचौपाया ल्याइए भन्ने यकिन तथ्याङ्क पाउन मुस्किल छ । तीन वर्ष यता करिब एक सय १६ वटा पशुचौपाया नश्ल सुधारका लागि आयात गरिएको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बताए ।

उनका अनुसार कोरियाबाट गत वर्ष नश्ल सुधारका लागि एक सय २ वटा उन्नत जातका गाई र आठ वटा साँढे ल्याइएको थियो । सोही वर्ष अमेरिकाबाट नश्ल सुधारका लागि ६ वटा उन्नत जातका राँगा भित्र्याइएको थियो । पछिल्लो पटक विभिन्न संघसंस्थाको समन्वयमा बोयर जातका बाख्रा चार सयको हाराहारीमा ल्याइएको ढकालले बताए ।

अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया लगायत विभिन्न मुलुकबाट नश्ल सुधारका लागि पशु चौपायाहरु भित्रिएका छन् ।

१५ वटा मुर्रा भित्र्याउने प्रक्रियामै

नेपाललाई भारत सरकारले सहयोगस्वरुप दिने १५ मुर्रा जातको राँगा भित्र्याउने प्रक्रियामा छ । ती राँगाको परीक्षण गरी नेपाली प्राविधिक टोली फर्किसकेको ढकालले बताए ।

‘हाम्रो प्राविधक टोली १५ मुर्रा राँगाको परीक्षण गरेर फर्किसकेको छ,’ उनी भन्छन्, ‘भारत सरकारले छिटै प्रक्रिया पूरा गरेमा एक महिनामा राँगा भित्र्याउन सकिन्छ ।’

नेपाल ल्याएपछि ती राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन् कार्यालय (पोखरा, नेपालगञ्ज र लहान) मा व्यवस्थापन गरी बीर्य उत्पादन गरिनेछ ।

कहिलेबाट सुरु गरियो नश्ल सुधार ?

विसं. १९१७ मा जंगबहादुर राणाले बेलायतबाट जर्सी गाईहरु ल्याएर नेपालमा नश्ल सुधारको थालनी गरेका थिए । त्यसपछि क्रमिक रुपमा विदेशबाट गाई, बाख्रा, कुखुरा, बंगुर लगायतका पशुको नश्ल सुधार गरिँदै आएको छ ।

जंगबहादुर राणाको शासनकालमा सुरु भएको पशुमा नश्ल सुधार हाल भैंसी, गाई, बाख्रा, कुखुरा, बंगुर लगायतमा निरन्तरता दिइएको छ । पशुचौपायाका जात विशेष प्रख्यात मुलुकबाट नश्ल सुधारका लागि पशुहरु नेपालमा ल्याइन्छन् । कम उत्पादन दिने रैथाने पशुचौपायाको उत्पादनलाई विस्तार गर्न उन्नत जातका पशुचौपायाको प्रयोग गरी नश्ल सुधार गरिँदै आएको छ ।

विसं. १९१७ मा जंगबहादुर राणाले बेलायतबाट जर्सी गाईहरु ल्याएर नेपालमा नश्ल सुधारको थालनी गरेका थिए । त्यसपछि क्रमिक रुपमा विदेशबाट गाई, बाख्रा, कुखुरा, बंगुर लगायतका पशुको नश्ल सुधार गरिँदै आएको छ ।

रैथाने पशुचौपाया

मुलुकमा विभिन्न प्रकारका रैथाने पशुचौपाया पाइन्छन् । तराई गाई, पहाडी गाई, खैला गाई, सिरी, लुलु, अछामी र याक लगायत स्थानीय गाई रहेको पशु चिकित्सक डा. बंशी शर्माले बताए । यस्तै लिमे, पार्काेटे, गड्डीलगायत रैथाने भैंसी छन् ।

रैथाने जातहरुको उत्पादन न्यून भए पनि स्थानीय हावापानीमा हुर्काउन सकिने क्षमता बढी हुन्छ । नश्ल सुधारका लागि ल्याएका पशुको बीर्यबाट कृत्रिम गर्भाधान प्रक्रिया मार्फत उन्नत जातको पशुचौपायाको विकास हुन्छ । लहान, पोखरा, नेपालगन्जस्थित राष्ट्रिय पशु प्रजनन् कार्यालयमा साँढे, राँगाको बीर्य उत्पादन हुने डा. ढकालले बताए ।

किन आवश्यक छ नश्ल सुधार ?

दुधको उत्पादन र उत्पादकत्व बढाउनका लागि नश्ल सुधार आवश्यक रहेको राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयका पशुविकास अधिकृत डा. धर्मराज गिरीले बताए । रैथाने पशु स्थानीय हावापानी मैत्री हुन्छन् । स्थानीय र नश्ल सुधारका लागि ल्याइएको उन्नत जातबाट क्रस प्रजनन् गराउँदा नश्ल सुधार हँुदै जाने डा. शर्माले बताए ।

नश्ल सुधार हुँदै जाँदा दुईदेखि तीन गुणसम्म दुधको उत्पादन बढ्ने उनको अनुमान छ । ‘स्थानीय जात र उन्नत जातबाट पहिलो क्रस प्रजनन् गराउँदा २५ प्रतिशत पहिलो पुस्तामा नश्ल सुधार हुन्छ,’ उनले भने, ‘यसरी ५ देखि ६ पुस्तासम्म क्रस प्रजनन् गराएर उन्नत नश्ल निकालिन्छ ।’

नश्ल सुधारका लागि ल्याएका पशुको बीर्यबाट कृत्रिम गर्भाधान प्रक्रिया मार्फत उन्नत जातको पशुचौपायाको विकास हुन्छ ।

पशुचौपाया निकासी र पैठारीको प्रक्रिया

नेपालमा ‘पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५’ अनुसार पशुचौपाया निकासी र पैठारी गर्न पाइने व्यवस्था छ । जीटुजी अर्थात सरकारी तवरबाट सोही व्यवस्था अनुसार नश्ल सुधारका लागि उन्नत जात, बढी उत्पादन दिने, संक्रमण मुक्त, स्वस्थ पशुचौपाया भित्र्याइन्छ । सोको मापदण्ड अनुसार अन्य मुलुकमा पठाइने डा. धर्मराज गिरीले बताए । आन्तरिक रुपमा पशु स्वास्थ्य परीक्षण, मागको आधारमा एक ठाउँबाट अर्को ठाउँमा पठाइन्छ ।

कति उत्पादन हुन्छ दुध ?

दुध दिने पशुचौपायाको संख्या बढेसँगै दुध उत्पादनमा पनि केही सुधार भएको मन्त्रालयको तथ्याङ्क छ । सन् २०२०-०२१ मा १० लाख ६० हजार ४ सय ८७ टन गाईको दुध उत्पादन भएकोमा सन् २०२१-०२२ मा ११ लाख १ हजार ८ सय १२ टन पुगेको मन्त्रालयले जनाएको छ ।

दुध उत्पादन नश्ल सुधारकै कारण वृद्धि भएको सम्वद्ध अधिकारीहरुको दाबी छ । नश्ल सुधारले उत्पादनमा मात्रै वृद्धि नभइ व्यवसायमा पनि टेवा पुगेको बताइएको छ । पछिल्लो समय दुध दिने गाई, भैंसीको संख्या र दुध उत्पादन बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पुष्टि गरेको छ ।

सन् २०२०-०२१ मा गाईको संख्या करिब १२ लाख ९ हजार ४१ थियो । सन् २०२१-०२२ मा सो संख्या बढेर १२ लाख २३ हजार ६१ पुगेको छ । सन् २०२०-०२१ मा १६ लाख ३० हजार ६ सय ४२ भैंसी रहेकामा सन् २०२१-०२२ मा १६ लाख ६६ हजार ८ सय २७ पुगेको छ ।

दुध दिने पशुचौपायाको संख्या बढेसँगै दुध उत्पादनमा पनि केही सुधार भएको मन्त्रालयको तथ्याङ्क छ । सन् २०२०-०२१ मा १० लाख ६० हजार ४ सय ८७ टन गाईको दुध उत्पादन भएकोमा सन् २०२१-०२२ मा ११ लाख १ हजार ८ सय १२ टन पुगेको मन्त्रालयले जनाएको छ ।

भैंसीको दुध पनि १४ लाख १९ हजार ४ सय १२ टनबाट बढेर १४ लाख ६४ हजार ८ सय २ टन उत्पादन भएको छ । देशभर एक दशकअघि १६ लाख मेट्रिक टनको हाराहारी दुध उत्पादन हुन्थ्यो । हाल करिब २५ लाख मेट्रिक टन दुध उत्पादन हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू
लेखकबाट थप