आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टी-२० विश्वकप खेल्ने अन्तिम दुई टोलीको टुंगा लगाउन छनोट प्रतियोगिता बुधबारदेखि

शनिबार, ०५ जेठ २०८१, १२ : ३४
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी—२० विश्वकप क्रिकेटमा सहभागी हुने १८ वटा टोलीको टुङ्गो लागिसकेको छ । अब उक्त विश्वकपमा सहभागी हुने दुई वटा टोलीको मात्र टुङ्गो लाग्न बाँकी छ ।

विश्वकपमा सहभागी हुने बाँकी दुई टोलीको टुङ्गो लगाउन बुधबारदेखि अफ्रिकी क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता आयोजना हुँदैछ । अफ्रिकी क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता नामिबियामा नोभेम्बर ३० तारिखसम्म चल्नेछ ।

त्यो छनोट प्रतियोगितामा सात राष्ट्रको सहभागिता रहने छ । केन्या, जिम्बाबे, नामिबिया, नाइजेरिया, रुवान्डा, तान्जनिया र युगान्डामध्ये दुई राष्ट्रले आगामी टी—२० विश्वकप खेल्ने अवसर पाउने छन् । अफ्रिकी क्षेत्रको छनोट प्रतियोगिताको पहिलो दिन खेल बुधबारको खेल केन्या र रुवान्डा, तान्जनिया र युगान्डा तथा नामिबिया र जिम्बाबेबिच हुनेछ ।

हालसम्म नेपालसहित १८ राष्ट्रले टी—२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् । टी—२० विश्वकपको नवौँ संस्करण जुन ४ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ । उक्त विश्वकपमा अमेरिका र वेस्ट इन्डिजले आयोजकका रुपमा सहभागिता जनाउने छन् । 

यसैगरी अघिल्लो संस्करणको माथिल्लो आठ स्थानमा रहने राष्ट्र अस्ट्रेलिया, इङ्गल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले भने आगामी विश्वकपमा स्वतः प्रवेश पाएका छन् । 

यसैगरी आईसीसी टी—२० वरीयताका आधारमा अफगानिस्तान र बंगलादेशले आगामी विश्वकपमा स्थान बनाएका छन् । युरोपेली क्षेत्रको छनोट प्रतियोगिताबाट आयरल्यान्ड र स्कटल्यान्डले आगामी विश्वकपमा स्थान पक्का गरेका छन् । 

यसका अतिरिक्त पूर्वी एसिया तथा प्रशान्त क्षेत्रको छनोट प्रतियोगिताबाट पपुवा न्युगिनी टी—२० विश्वकपमा छनोट भइसकेको छ । अमेरिकी क्षेत्रको छनोट प्रतियोगिताबाट क्यानडाले विश्वकपमा स्थान बनाएको हो । नेपाल र ओमान भने एसियाली क्षेत्रको छनोट चरण पार गर्दै टी—२० विश्वकपमा पुगेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप