आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

शनिबार, ०५ जेठ २०८१, १३ : ०४
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका-८ बाघमारास्थित सडकमा बा.४ ख ५९४८ नम्बरको बस र ज. ११ प ९१७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक महोत्तरी बर्दिबास नगरपालिका-२ बस्ने ४३ वर्षीय श्याम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी केयर अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै काब्या अस्पताल जनकपुर रिफर गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिन्धुलीकै दुधौली नगरपालिका-७ सिमराईस्थित सडकमा प्र.१-०२-००१ ख ९६१० नम्बरको हाईसको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-७ बस्ने ५९ वर्षीय गंगा बहादुर विकको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

यसैगरी कैलालीको गोदावरी नगरपालिका-४ बुढितोलामा से.१ ख १४३८ नम्बरको मिनिट्रक अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेकी ३६ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार  १६ जनामध्ये ७ जनाको निसर्ग अस्पताल धनगढी र ९ जनाको पदमा अस्पताताल अत्तीरीमा उपचार भइरहेको छ । हाल फरार मिनिट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

उता नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-१२ उन्नति भिलेजस्थित सडकमा प्रदेश २-०३-००१ ख ६२८४ नम्बरको टेलरमा बागमती प्रदेश ०३-००४ प ७१६५ नम्बरको मोटरसाइकल ठोक्किएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक नवलपरासी गैंडाकोट नगरपालिका-१४ अमरापुरी बस्ने ३० वर्षीय राजु क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पूर्वकै कावासोती नगरपालिका-१६ पत्थर खोलास्थित सडकमा लु.३ च १०२४ नम्बरको कार र लु.२ ख ५८०५ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा कार चालक हाल वतन नखुलेका ४५ वर्षीय  हरिसुन्दर श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयामा प्र.२-०२-००१ प ४४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक लक्ष्मिनिया गाउँपालिका-४ सपही बस्ने २६ वर्षीय रंजित यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

यता ललितपुरको महालक्ष्मी नगरपालिका-४ लुभुमा बा.प्र.०२-०३३ प १७८२ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ सानागाउँ बस्ने दोलखा तामाकोसी गाउँपालिका-१ भिरकोट घर भएका १९ वर्षीय आषिश कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । १ जनाको उपचार भइरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप