आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘सुदर्शन–कपिला सिरपा’ कास्कीको नेवा खलःलाई प्रदान गरिने

शनिबार, ०५ जेठ २०८१, १४ : ४९
शनिबार, ०५ जेठ २०८१

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यसपटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई  प्रदान गर्ने भएको छ । 
विराटनगरमा एक कार्यक्रमको आयोजना गरि झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा अनवरत रुपमा क्रियाशील संस्था नेवा खल: कास्कीलाई उक्त सम्मानबाट सुशोभित गर्ने भएको हो ।

विराटनगरमा फागुन ४  गते भव्य कार्यक्रम आयोजना गरी नेवा खलः कास्कीलाई  ‘सुदर्शन–कपिला सिरपा’ पुरस्कार तथा सम्मान अर्पण गरिने झी पुचः  का अध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा सांस्कृतिक स्मारिका समेत विमोचन गर्ने तयारी गरिएको छ । 

वि.सं. २०३८ सालमा स्थापना भएको झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति एवं संस्थालाई कदर स्वरुप प्रत्येक २–२ वर्षमा सुर्दशन–कपिला सिरपा (सम्मान) बाट सुशोभित गर्दै आएको छ । झी पुचःका संरक्षक एवं समाजसेवी सुर्दशन श्रेष्ठद्वारा स्थापित उक्त सिरपाबाट यसअघि २०७६ साल फाल्गुण ११ गते संस्कृतिविद सत्यमोहन जोशी सम्मानित भईसकेका छन् । यसअघि २०७८ सालमा भारतको गान्तोकस्थित सिक्किम नेवा गुठीलाई पनि सम्मान गरिसकेको छ । 

पहिलो पटक काठमाडौँ नक्सालमा आयोजित एक भव्य समारोहका बीच नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान गरेपछि झी पुचः ले उक्त पुरस्कारलाई निरन्तरता दिँदै आएको झी: पुचका निर्वतमान अध्यक्ष हरीबहादुर श्रेष्ठले बताए । ‘सुदर्शन–कपिला सिरपा’ विराटनगर–१० निवासी सुर्दशन श्रेष्ठ र उनको परिवारद्वारा स्थापित पुरस्कार हो । 

२०७६ सालको नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रमबीच श्रेष्ठ र उनको परिवारद्वारा नेपाली भाषा एवं संस्कृतिको जगेर्णा गर्ने व्यक्ति वा संस्थालाई झी पुचः मार्फत् प्रत्येक २–२ वर्षमा कदर स्वरुप ‘सुदर्शन–कपिला सिरपा’ द्वारा सुशोभित र नगद रु. २ लाखको सिरपा थैली प्रदान गर्ने घोषणा गरिएको थियो । त्यसका लागि १५ लाखको अक्षय कोष खडा गर्ने उद्घोष भएअनुसार झी पुचः विराटनगरले सुदर्शन कपिला ट्रष्टको विनियमावली बनाई झी पुचः अन्तर्गत सुर्दशन कपिला सिरपा विशेष समिति निर्माण गरि कार्य गर्दै आएको छ ।

दाता सुर्दशन बहादुर श्रेष्ठद्वारा अक्षयकोष स्थापनाका लागि प्रदान गरिएको १५ लाखमा हाल दाताहरुले समेत ५ लाख रुपैयाँ सहयोग गरेका छन् । झी पुचःको अक्षयकोष रकम हाल २० लाख पुगेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप