आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्राभिस हेडकी पत्नी र छोरीलाई बलात्कारको धम्की, अन्य खेलाडीलाई पनि गालीको वर्षा

फाइनल खेलमा भारतीय दर्शकको भूमिकालाई लिएर व्यापक आलोचना
शनिबार, ०५ जेठ २०८१, १५ : ४१
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण अस्ट्रेलियालाई कीर्तिमानी रूपमा छैटौँ उपाधि चुमाउँदै सकिएको छ । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति सम्पन्न विश्वकपको फाइनल खेलमा अस्ट्रेलियाले आयोजक राष्ट्र भारतलाई ६ विकेटले हराएको थियो ।

खेलमा हार—जित स्वाभाविक पक्ष हो । तर, भारतीय भूमिमा आयोजित विश्वकपको फाइनल खेलमा दर्शकको भूमिकालाई लिएर यतिबेला व्यापक आलोचना भइरहेको छ । विश्वकै ठूलोमध्येको एक नरेन्द्र मोदी क्रिकेट स्टेडियममा फाइनल खेल हेर्न एक लाख ३० हजारभन्दा बढी समर्थक उपस्थित थिए ।

रङ्गशाला बाहिर पनि दर्शकको थामिनसक्नु भिँड थियो । दर्शकको यो अपार उपस्थितिलाई क्रिकेटप्रतिको आशक्तिका रूपमा हेरिएको थियो । तर, भारतले फाइनल खेल हार्ने अवस्था सृजना भएपछि खेल सकिनुअघि नै रंगशालाको अधिकांश सिट खालिभइसकेको थियो । 

उपाधि विजेता टोली अस्ट्रेलियालाई ट्रफी प्रदान गर्ने बेलासम्म त स्टेडियममा छिट्टफुट्ट दर्शकमात्र उपस्थित थिए । दर्शकको यो व्यवहारलाई लिएर अहिले व्यापक टिप्पणी र आलोचना सुरु भएको छ । के रंगशालामा उपस्थित दर्शकहरू वास्तबमै क्रिकेटप्रेमी नै थिए त ? भारतभित्र यस विषयमा गम्भीर वहस सुरु भएको छ । 

‘फाइनल खेल निकै रामोञ्चक थियो । म पहिलोपटक भारतले विश्वकपको फाइनल खेलेको हेर्न स्टेडियम पुगेको थिएँ । तर, आजको दिन भारतको थिएन,’ फाइनल खेल हेर्न स्टेडियम पुगेको सिराज नमबुदिरीले भन्छन् । 

उनी मुम्बईबाट फाइनल खेल हेर्न आफ्ना भाइसँग अहमादाबाद पुगेका थिए । ‘खेल सकिँदासम्म त रङ्गशाला दर्शकशून्य अवस्थामा पुगिसेको थियो । वास्तबमै त्यसलाई रमाइलो क्षण भन्न सकिँदैन । यदि यही खेल मुम्बई वा चेन्नईमा खेलाइएको भए पुरस्कार वितरण समारोहसम्म नै दर्शकले गतिलो साथ दिने थिए,’ उनी भन्छन् । 

सिराजको विचारमा क्रिकेट हेर्न रङ्गशाला पुग्नु र क्रिकेटलाई मनैदेखि माया गर्ने समर्थक हुनु दुई फरक विषय हो । ‘खेलमा हार—जित स्वाभाविक प्रक्रिया हो । तर, एउटा वास्तविक क्रिकेटप्रेमी आफ्नो टोलीले हार्ने अवस्था आयो भन्दैमा बिचैमा खेल छाडेर भाग्दैन । पक्कै पनि अन्तर्राष्ट्रिय स्तरमा यसले भारतको राम्रो तस्बिर प्रस्तुत गर्दैन,’ उनी भन्छन्, ‘वास्तविक समर्थक कहिल्यै बिचैमा खेल छाडेर भाग्दैन । यदि कोही बिचमा खेल छाडेर भाग्छ भने त्यो नक्कली समर्थक हो ।’ 

दक्षिण एसियाली राष्ट्रहरूमा क्रिकेटको निकै गहिरो प्रभाव छ । यस क्षेत्रमा क्रिकेट खेलले एउटा संस्कृतिको रूपमा हुर्कने अवसर पाएको छ । त्यसमाथि पनि भारतमा त क्रिकेट भनेपछि हुरुक्कै हुने समर्थकको सङ्ख्या करोडौँमा छ ।  

क्रिकेटको सामान्यभन्दा सामान्य प्रतियोगिता आयोजना हुँदा पनि रङ्गशाला खचाखच भरिने गर्छ । रेस्टुरेन्ट, पब र क्याफेहरूमा फरक रौनक देखिन्छ । सार्वजनिक स्थानमा राखिएका ठुल्ठुला स्क्रिनहरुमा क्रिकेट हेर्नेको ओइरो लाग्छ । तर, विश्वकपको फाइनलमा आइतबार राति त्यही देशका समर्थकले देखाएको व्यवहार भने नितान्त फरक थियो । 

फाइनल खेलमा दर्शकको व्यवहार कतिसम्म निराशाजनक थियो भने अस्ट्रेलियन ब्याट्सम्यान ट्राभिस हेडले शतक पुरा गर्दासमेत अधिकांश समर्थकले उनको अभिवादनको जवाफ फर्काएनन् । यो विषयलाई लिएर पनि अहिले विभिन्न टिप्पणी हुन थालेको छ । 

यसका अतिरिक्त सामाजिक सञ्जालमा भारतीय समर्थकहरूले अस्ट्रेलियन खेलाडीप्रति देखाएको व्यवहारलाई लिएर पनि आलोचना बढेको छ । एकातिर अस्ट्रेलियन खेलाडी नरेन्द्र मोदी स्टेडियममा जितको खुसीयाली मनाउँदै थिए भने अर्कोतिर भारतीय समर्थकद्वारा सामाजिक सञ्जालमा उनीहरूमाथि गालीको वर्षा भइरहेको थियो । 

फाइनल खेलमा एक सय ३७ रन बनाउने अस्ट्रेलियन टोलीका ओपनर ब्याट्सम्यान ट्राभिस हेड सामाजिक सञ्जालमा सबैभन्दा बढी भारतीय समर्थकको कोपको शिकार बनेका थिए । सामाजिक सञ्जाल इन्स्टाग्राममा त कतिपय भारतीय समर्थकले ट्राभिस हेडकी श्रीमती र छोरीलाई बालात्कार गर्नेजस्तो घृणित घम्कीसमेत दिन भ्याएका थिए ।    

यसैगरी टेलिभिजनमा अस्ट्रेलियाका खेलकुद प्रस्तोता इयान हिगिन्समाथि पनि भारतीय समर्थकहरूले गालीको वर्षा गरेका थिए । आफ्नो टोली फाइनलमा पराजित भएपछि भारतीय समर्थकले न्युजिल्यान्डका खेलाडी जिम्मी निसमलाई समेत गाली गर्न बाँकी राखेनन् । 

निसामले त आफूमाथि गरिएको अशोभनीय टिप्पणीको स्क्रिनसट्स नै लिएर सेयर गरेका थिए । भारतीय समर्थकले निसमलाई पनि अस्ट्रेलियन खेलाडी सम्झिएर गाली गरेका थिए । भारतीय समर्थकद्वारा आफूहरूमाथि निरन्तर गालीको वर्षा भएपछि खेलाडीहरू यस विषयमा गुनासो पनि गरेका थिए । ‘खेलमा भोगेको हारले समर्थकलाई निराश र भावुक बनाउँछ भन्ने कुरा हामी खेलाडी पनि बुझेका छौँ तर, आक्रोश पोख्ने यो बिलकुल गलत तरिका हो,’ न्युजिल्यान्डका खेलाडी निसामले भनेका छन् । 

यतिमात्र होइन, आफ्नो टोली फाइनलमा पराजित भएपछि भारतीय समर्थकहरूले ग्लेन म्याक्सवेलकी श्रीमतीलाई समेत सामाजिक सञ्जालमार्फत गालीगलौज गरेका थिए । फाइनल खेलमा म्याक्सवेलले नै अस्ट्रेलियाका लागि विजयी रन प्रहार गरेका थिए । म्याक्सवेलकी पत्नी विनी रमन भारतीय मूलकै नागरिक हुन् । विनीका पति म्याक्सवेल अस्ट्रेलियाको जितको कारण बनेको भन्दै भारतीय समर्थक उनीमाथि खनिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप