आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनताको आवश्यकता र मागलाई सम्बोधन गर्नुपर्छ : मन्त्री चित्रकार

शनिबार, ०५ जेठ २०८१, २० : ३४
शनिबार, ०५ जेठ २०८१

हेटौंडा । बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले राजनीतिक परिवर्तनपछि जनताको आवश्यकता र माग मुखरित भएको बताएका छन् । उनले  राज्यका निकायहरुले जनताको आवश्यकता र मागलाई सम्बोधन गर्नुपर्ने बताए । 

विकेन्द्रीकरणको मुख्य उद्देश्य अनुसार जनताको अपेक्षाहरुलाई सम्बोधन गर्न राज्यका संरचनाहरुले जिम्मेवार ढंगबाट काम गर्नुपर्ने उनले बताए ।

‘संघीयतापछि जनताका अपेक्षा तीव्र रुपमा मुखरित हुँदै आएका छन् । हामीले त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ । त्यस तर्फ हाम्रो मानसिकता परिवर्तन भएका छन् कि छैनन् ? त्यो महत्त्वपूर्ण कुरा हो,’ उनले भने, ‘कर्मचारी संरचना नै राज्यको मनोविज्ञान परिवर्तनको मूल आधार हो । आर्थिक समृद्धिका लागी हामी कसरी अघि बढिरहेका छौँ । हाम्रो गतिशीलता कति छ ? त्यसले नागरिकका अपेक्षामा महत्त्वपूर्ण अर्थ राख्दछ ।’

संघीयतामाथि प्रश्न उठिरहेका समयमा जनताको अपेक्षाहरुलाई सम्बोधन गर्नु नसक्नुको जिम्मेवारी सबैले लिनुपर्ने उनको धारणा छ । जनताका सेवा सुविधाका विषयमा सबैले गम्भीर ढंगबाट सोच्ने र काम गर्ने हो भने अहिलेको व्यवस्था अत्यन्त उत्तम सावित हुने उनले बताए ।

उनले भने, ‘संघीयताको उद्देश्यका रुपमा स्थापित गरेका हौँ । हामीले जनतालाई राज्य र जनताका अपेक्षा तथा अधिकारका लागि संघीयता ल्याएका हौँ । राज्य र जनतालाई जोड्न संघीयता ल्याएका हौँ । त्यसमा हामी कति सफल भयौ । हामीले जनतालाई डेलीभर कति दिन सक्यौ ? संघीयतालाई कति माथि उठाउन सक्यौ ? जनताका अपेक्षा पूरा भयो कि भएन ? समृद्धिका विषय समेटियो कि समेटिएन ? यस विषयमा छलफल गर्नुपर्छ ।’

प्रदेश सरकारले निजामती कर्मचारी ऐन जारी गरेपनि कार्यान्वयनमा केही समस्या रहेको उनले बताए । ऐन कार्यान्वयनको लागि आवश्यक संरचनाहरु निर्माण लगायतका काम भइरहेको उनको भनाई छ । उक्त ऐन कार्यान्वयन लगायत कर्मचारी प्रशासनलाई चुस्तदुरुस्त बनाउन नियमावली निर्माणको काम अन्तिम चरणमा रहेको उनले बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप