आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
युवा संघ भर्सेस दुर्गा प्रसाईं

इटहरीदेखि काठमाडौँ आएका प्रसाईंका समर्थकलाई युवा संघका कार्यकर्ताले मध्यरातमा लखेटे

युवा संघ भन्छ, ‘हाम्रो नियत त्यो होइन, कसैको संलग्नता पाइए कारबाही हुन्छ ’
आइतबार, ०६ जेठ २०८१, १० : ००
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । मङ्सिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा भाग लिन इटहरीदेखि काठमाडौँ आएका सर्वसाधारणलाई नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले मध्यरातमा लखेटेका छन् ।

मंगलबार राति चाबहिलस्थित एक पार्टी प्यालेसमा सुतिरहेको अवस्थामा अमानवीय तवरले आफूलाई युवा संघका कार्यकर्ता बताउने एक समूहले उनीहरुलाई लखेटेको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिन्छ । 

भिडियोमा पार्टी प्यालेसमा अधिकांश महिलाहरू देखिएका छन् । उनीहरु सुतिरहेका बेला ‘हेलो दिदीहरू, फोन गर्नु त युवा संघले लखेटे भनेर ! तपाईंहरु ७ गतेको कार्यक्रममा आउनुभएको हो, तपाईंहरु उठिहाल्नु त, ल छिटो गर्नुस्, १० मिनेटको समय दिन्छौँ’ भन्दै फर्किन धम्क्याएको देखिन्छ । महिलाहरूले भने, ‘पर्खिनुस् न, लुगा त लाउन दिनुस्’ भन्दै याचना गरेको देखिन्छ । 

महिलाहरूले ‘उज्यालोसम्म हामीलाई बस्न दिनुस्, उज्यालो भएपछि हामी जान्छौँ’ भनेर बिन्ती गर्दा पनि ‘हुँदैन’ भनेर तुरुन्त फर्किन चेतावनी दिएको भिडियोमा प्रस्ट सुनिन्छ । भिडियोमा आफूलाई युवा संघको बताउने युवकले, ‘युट्युबमा दुर्गा प्रसाईं भनेर कुर्लिएजस्तो होइन । देखाइदिन्छौँ भनेको होइन, अब हामी देखाइदिन्छौँ, सबैलाई काठमाडौँबाट लखेटेर’ भनेर बोलेको आवाज सुनिन्छ । भिडियोको अन्तिममा ‘दुर्गा प्रसाई पागललाई फोन गरेर युवा संघले लखेट्यो भनेर भन्नुस्’ भनिनएको छ । 

प्रसाईंका समर्थक रहेक रविन अर्यालले युवा संघका कार्यकर्ताले अमानवीय तवरले संवेदनहीन काम गरेको बताए । उनले रातोपाटीसँग भने,‘ इटहरीबाट आएको हाम्रो ग्रुपलाई चाबहिलको पार्टी प्यार्टी प्यालेसमा राखेका थियौँ, युवा संघले लखेटेको रहेछ । त्यसरी महिलाहरू सुतिरहेको ठाउँमा पुगेर संवेदनहीन तवरले लखेट्नु हुने थिएन ।’ अर्यालले आफूहरू शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने तयारी गर्दागर्दै पनि युवा संघले मुठभेटको स्थिति चाहेको बताए । उनले भने,‘ झापाबाट मात्रै पाँच सय गाडीमा मानिसहरू काठमाडौँ आइसके, हामी अव गुन्डु नै पुगेर युवा संघलाई देखाउँछौँ ।’ 

यता युवा संघका प्रवक्ता निरोज पौडेलले भने प्रसाईं समर्थकहरूलाई आफूहरूले लखेट्ने काम नगरेको बताए । उनले भने,‘ युवा संघको बदनाम गर्न हाम्रो नाम लिएको देखियो, मैले पनि भिडियोमा युवा संघको नाम सुनेको थिएँ, यदि युवा संघकै साथीहरू संलग्न देखिए कारबाही हुन्छ ।’ उनले मानवीय संवेदनाको विषयमा युवा संघ गम्भीर भएकाले यस्तो हरकत आफूहरूबाट हुन नसक्ने र नगर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप