आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘राति १० बजे आएर लुगा पनि लगाउन नदिई बाहिर निकाले’

शुक्रबार, ११ जेठ २०८१, १५ : ३६
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा भाग लिन इटहरीदेखि काठमाडौँ आएका सर्वसाधारणलाई नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले मध्यरातमा ‘डिस्टर्ब’ गरेको आरोप लागेको छ । 

होटेलमा सुतिरहेका बेला मध्यरातमा मानवीय संवेदना भुलेर बाहिर निकाल्न खोजिएको भन्दै युवा संघको आलोचना भइरहेको छ। सो प्रकरणमा मोरङबाट काठमाडौँ आएको बताउने सिर्जना राई बोलेकी छन् । बुधबार दुर्गा प्रसाईँले आयोजना गरेको पत्रकार सम्मेलनमा राईले एमालेको कार्यकर्ताहरूले गएराति १० बजेको समयमा लुगा पनि लगाउन नदिई बाहिर निकालेको आरोप लगाइन् । 

‘हामी एउटा महिला त्यसमाथि पनि एउटै लुगामा सुत्न लागेका थियौँ । ३०/३५ जनाको झुण्ड आयो। भकुन्डे जस्तो अनुहार भएको केटाले ए लुगासुगा लगाउन पाउँदिनस्, तुरुन्त फिर्ता जाऊ भन्यो’, उनले आक्रोश पोखिन् ।  

लघुवित्तले मार्न आँट्यो, यसै मरौँला, उसै मरौँला भनेर काठमाडौँ आएको भन्दै उनले काठमाडौँमा झन्डै इज्जत लुटिएको बताइन् । 

पत्रकार सम्मेलनमा उनको भनाइ जस्ताको जस्तै

मेरो नाम सिर्जन राई हो । मोरङबाट आएको हो माइक्रोफोन समातेर अहिलेसम्म बोलेको छैन । म सत्य मात्रै बोल्छु । छातीमा हात राखेर कसम खान्छु । लघुवित्त र सहकारीले गर्दा पीडित भएर निस्किएको हो । सत्य के हो, असत्य के हो ?  कांग्रेस र एमालेलाई पनि भोट हाल्यौँ । रातभरि भोट माग्न हिँडेको मान्छे । 

प्रचण्ड जस्तै जंगलजंगलमा हिँड्यौँ । आज हामी आफ्नै ठाउँमा दुःख, सुख भोग्दै गर्दा लघुवित्तले मार्न आँट्यो । दुर्गा दाइ नै सत्य रहेछ भनेर लायो । गरिबको लागि सत्य रहेको रहेछ । हामी बाच्न चाहन्छौँ । हामीले ऋण खाएको हो । हामीलाई गाँस बास र कपास दिने सरकारले हामीलाई नै रोडमा निकालेको छ। जसरी नि मर्ने नै हो भनेर काठमाडौैं आएको हामीलाई एमालेको झोलेहरूले राति १० बजेको बेला आएर लुगा पनि लगाउन नदिई बाहिर निकाले । हामी एउटा महिला त्यसमाथि पनि एउटै लुगामा सुत्न लागेका थियौँ । ३०÷३५ जनाको झुन्ड आयो। भकुन्डे जस्तो अनुहार भएको केटाले ए लुगासुगा लगाउन पाउँदिनस्, तुरुन्त फिर्ता जाऊ भन्यो । तर, तिनीहरूसँग भागेर जाँदैनौँ । नेपालका नारीको अस्तित्व कसले जोगाउने ?  अस्मिता जोगाउन सडकमा निस्कियौँ । एउटा भाइले भन्यो, दिदी नमस्कार । उसले त्यो दिदिलाई कपडा त लगाउन देऊ भन्यो। पाँच मिनेटमा निक्ली भनेर धम्की आएपछि सडकमा निस्कियौँ । प्रशासनलाई खबर गर्न सफल भयौँ । पछि प्रहरी आए । प्रहरीले होटेलमा पु¥याए । यो नेपालमा हामी महिलाको सुरक्षा रहेनछ भन्ने लाग्यौँ । हामी महिला जाग्यौँ भने यो देश हामी बनाउँछौँ । पद  पाएर बसेको सरकारले हाम्रो शब्द सुनिदिनुपर्‍यो । त्यो गुन्डाहरूको होइन । हामी गरिबको शब्द सुनिदिनुपर्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप