आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री,उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति,उपसमितिबिच भेटघाट

मङ्गलबार, ११ वैशाख २०८१, १६ : ५५
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा गृह मन्त्रालयले सार्थक पहल लिएकोमा खुसी व्यक्त गरेका छन् । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासनको नीतिगत सुधारबारे सुझाव पेस गर्न गठन गरेको अध्ययन समिति र उपसमितिका संयोजक तथा सदस्यहरूसँग बुधवार बिहान भएको भेटघाटमा उनले प्रशासन तथा सुरक्षा सुधारको आवश्यकता र प्राथमिकता किटेर सुझाव आउने अपेक्षा गरे । सुझावले सिङ्गो सरकारलाई नै प्राथमिकता निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा समेत उनले गरेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठसहितको उक्त भेटघाटमा गृह प्रशासनलाई सबल तथा सक्षम बनाउन, जनताको सुरक्षाको निश्चितता गर्न र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुधारका क्षेत्र तथा कार्ययोजनाबारे छलफल भएको थियो। उपप्रधानमन्त्री श्रेष्ठले सरकार गठन हुने बित्तिकैको संसद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारका प्राथमिकताको चर्चा गर्नुभएको र सोही उद्देश्य पूरा गर्न सुधारको पहल गरिएको बताए। 

अध्ययन समितिका संयोजक पूर्व मुख्यसचिव लीलामणि पौडेलले एउटा समस्या सुधारेर अर्को समस्यामा हात हाल्ने भन्दा पनि हरेक समस्याको सुधारमा उत्तिकै केन्द्रित हुनुपर्ने बताए। त्यसका लागि गृह मन्त्रालय र सबै मन्त्रालयले ध्यान दिनुपर्ने उनको भनाई थियो ।

समिति र उपसमितिहरूमा प्रशासन सुधारका पक्षमा योगदान दिएका व्यक्तित्वहरू संयोजक र सदस्य छन् । उनीहरूले तलब, भत्ता नलिएरै स्वयंसेवकका रूपमा काम गर्ने बताए। ‘अध्ययन वा सुझाव समितिप्रति मानिसमा गहिरो अविश्वास छ। तर हामी स्वयंसेवीका रूपमा खट्नेछौँ र आफ्ना अनुभव र नयाँ प्राथमिकताबारे निष्कर्ष दिनेछौँ,’ संयोजक पौडेलले भने, ‘हामीलाई जुन विश्वास गर्नुभएको छ, प्रतिवेदन कार्यान्वयन हुने अपेक्षा समेत गर्दछौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप