आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
दुर्व्यवहार प्रकरण

गएराति लखेटिएका महिलाहरू अझै त्रासमा : सबैका साझा पीडा लघुवित्तको ऋण (भिडियो)

मङ्गलबार, ११ वैशाख २०८१, १७ : २१
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । गएराति लोकन्थलीको एक पार्टी प्यालेसमा एमालेको भातृ सङ्गठन युवासङ्घ नेपालका कार्यकर्ता बताउने समुहको दुर्व्यवहारमा परेका महिलाहरू बुधवार पनि त्रासमा थिए । लोकन्थलीबाट काठमाडौँको एक होटेलमा उद्धार गरेर राखिएका उनीहरुले बुधवार रातोपाटीसँग आफूहरू बसेको ठाउँ मिडियाबाट सार्वजनिक नगर्न आग्रह गरे ।

मेडिकल व्यवसायी दुर्गा प्रसाइले भोलिदेखि गर्ने भनिएको आन्दोलनमा सहभागी हुन पूर्वका झापा, मोरङबाट उनीहरू काठमाडौँ आएका थिए ।  लोकन्थलीको पार्टी प्यालेसमा सुतिरहेका उनीहरूलाई युवा सङ्घ नेपालका केन्द्रीय सचिवालय सदस्य विनोद राई नेतृत्वको टोलीले राति १० बजे उठाएर लखेटेका थिए ।

युवा सङ्घको लखेटाइमा परेका उनीहरूलाई सन्तोष राजावादीको समूहले उद्धार गरेर काठमाडौँको एक होटेलमा बसोबासको व्यवस्था मिलाएको थियो । उनीहरू मध्ये अधिकांशले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका थिए । प्रसाईँले २० लाख भन्दा मुनी रहेको ऋण मिनाहा गर्नुपर्ने अभियान ठिक लागेर आन्दोलनमा सहभागी हुन काठमाडौँ आएको उनीहरुले बताए ।

मोरङको केराबारी ८ बाट आएकी बिन्दमाया विश्वकर्माले गएरातिको घटनाले अझै त्रासमा रहेको बताइन् । उनले भनिन्– ‘हामी लघुवित्तबाट पीडित भएर यहाँ आएका थियौँ । हामीले नै हिजो केपी ओलीलाई भोट हालेका थियौँ तर उहाँहरूकै पार्टीका गुन्डाहरूबाट हामी पीडित भयौँ । गुन्डाहरूलाई पाल्ने पैसा बरु हामी पीडितहरूलाई दिएको भए हुन्थ्यो । यो काठमाडौँ एरिया उहाँहरूको रहेछ, यो आन्दोलन सकिएपछि सुरक्षित रूपमा हामीलाई गाउँ पठाइदिनुहुन्छ भन्ने आस गरेको छु ।’

मोरङबाट आएकी दीपा शिवाले गएराति आफूहरूमाथि लछारपछार गर्ने काम भएको बताइन् । सुतिरहेको बेला लात्तीले हान्ने, अपशब्द बोल्ने, लुगा समेत लगाउन नदिने काम भएको गुनासो गरिन् । उनले आफू लघुवित्त संस्थाबाट पीडित रहेकोले बिरामी अवस्थामा भए पनि आन्दोलनका लागि काठमाडौँ आउनुपरेको बताइन् । 

शिवाले भनिन्– ‘हामीलाई जीवन विकास लघुवित्तले समस्या पारेको छ । दुर्गा सरले त्यसको समाधान गर्छौँ भनेपछि हामी उहाँको पक्षमा आएका हौँ । पाँच–छ लाख ऋण छ, हामी यहाँ भएका सबै लघुवित्त पीडित हौँ । दुर्गा सरले अलिकति आस देखाएपछि हामी पछि लागेर यहाँ आएका हौँ ।’

यस्तै लघुवित्तले रातदिन पीडित बनाएर काठमाडौँ आएको बताउने राजकुमारी धिमालले राति लखेटेपछि हिजोको रात त्रासमा बितेको बताइन् । उनले भनिन्–‘लघुवित्तले रातदिन दुःख दिएर सबै घरबारी लिलाम गरेर, कसैको भात पकाउने भाँडा समेत उठाएर लगेको छ । त्यसको पीडाले काठमाडौँ लड्न आएको हुँ । लघुवित्तले घरी कालो सूचीमा राख्छु भन्छ, घरी सबै सामान उठाएर लैजान्छु भन्छ । धम्काएको धम्काई गरेपछि म यो अभियानमा हिँडेको हुँ ।’

कोशी प्रदेशका विभिन्न जिल्लाबाट आन्दोलनका लागि भन्दै काठमाडौँ आएका महिलाहरूले लघुवित्तको ऋणको पीडाले काठमाडौँ आएको बताए । पुराना राजनीतिक दलहरूले आफ्नो समस्या नदेखेपछि सो बारेमा दुर्गा प्रसाईँले आवाज उठाएपछि उनको पछि लागेको उनीहरुले बताए । 

हेर्नुहोस् भिडियो- 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप