आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओपनएआईको सीईओमा फर्किने भए स्याम अल्टम्यान

मङ्गलबार, ११ वैशाख २०८१, १७ : ५७
मङ्गलबार, ११ वैशाख २०८१

क्यालिफोनिर्या । च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईमा ५ दिनयताको अनिश्चय र हाइ भोल्टेज ड्रामालाई अन्त्य गर्दै कम्पनीको पूर्व कार्यकारी अधिकारी (सीईओ) स्याम अल्टम्यानले कम्पनीमा पुनरागमन गर्ने भएका छन् । बुधबार कम्पनीले बताएअनुसार बर्खास्त गरिएका सीईओ अल्टम्यानलाई पुनःस्थापित गरिने निर्णय भएको हो । कम्पनीको सञ्चालक समितिमा पनि व्यापक हेरफेर हुँदैछ ।

सञ्चालक समितिले अल्टम्यानलाई पदच्यूत गरेपछि राजिनामा दिएका कम्पनीका सह–संस्थापक ग्रेग ब्रोकम्यान पनि कम्पनीमै फर्किने भएका छन् । ओपनएआईका सयौं कर्मचारीहरुले पुरानो सञ्चालक समितिलाई राजिनामा दिने दबाब दिँदै अल्टम्यान र ब्रोकम्यानलाई कम्पनीमा नल्याएदेखि राजिनामा दिएर माइक्रोसफ्टमा जाने धम्की दिएपछि उनीहरुलाई फिर्ता ल्याउन कम्पनी बाध्य भएको हो ।

अल्टम्यानलाई कम्पनीका सीईओको रुपमा फिर्ता ल्याउने विषयमा आफूहरु सैद्धान्तिक सहमतिमा पुगेको ओपनएआईले माइक्रोब्लगिङ वेबसाइट एक्सको एउटा पोष्टमा भनेको छ । यसको साथमा ब्रेट टेलरको अध्यक्षतामा नयाँ सञ्चालक समिति पनि गठन गरिने भएको छ । कम्पनीको सञ्चालक समितिका नयाँ अध्यक्ष सेल्सफोर्सका  पूर्व–सीईओ टेलर छन् । अन्य दुई सदस्यहरु भने अमेरिकाका पूर्व अर्धमन्त्री ल्यारी समर्स र प्रश्नको उत्तर दिने वेबसाइट क्वराका सीईओ एडम डी’एन्जेलो छन् । यसअघिको सञ्चालक समितिबाट नयाँ समितिमा पर्ने डी’एञ्ेलो एक मात्रै सदस्य हुन् ।

आइतबार मात्रै अल्टम्यान र ब्रोकम्यानलाई माइक्रोसफ्टले आफ्नो नयाँ एआई टिमको नेतृत्वको लागि नियुक्त गरेको थियो । यद्यपि, अल्टम्यान ओपनएआईमा फर्किन सक्ने सम्भावनालाई माइक्रोसफ्टका सीईओ सत्य नदेल्लाले अस्वीकार भने गरेका थिएनन् । गएको शुक्रबार ओपनएआईको सञ्चालक समीतिले अल्टम्यानलाई अचानक बर्खास्त गरेको थियो । आज बिहान ब्रोकम्यानले एक्समा एउटा पोष्ट गर्दै आफूहरु  फेरि ओपनएआईमै फर्किन लागेको अनि रातिदेखि कोडिङको काम सुरु गर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप