नेसपाले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने
संगठन विस्तारको समयावधि २ महिना थप
मङ्गलबार, ११ वैशाख २०८१, १८ : ५४
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बुधबार भक्तपुरको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले २०८१ वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले माघ–फागुनमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । मङ्सिर–पुसमा वडा र पालिकाहरूको भेला सम्मेलन सम्पन्न गर्ने निर्णय भएको नेसपाले जनाएको छ ।
यस्तै सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिने नेसपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले संगठन निर्माण तथा विस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पुर्याउने निर्णय गरेको छ ।
नेसपाले माओवादी केन्द्रसहित बृहत् समाजवादी केन्द्र निर्माणका लागि अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता संयोजन समिति पनि बनाएको छ ।