आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मुर्रा

भारतबाट ल्याइयो १५ मुर्रा राँगा

वार्षिक ४० हजार पाडा–पाडी उत्पादन हुने
मङ्गलबार, ११ वैशाख २०८१, २० : १४
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । नेपालले भारतबाट नश्ल सुधारका लागि १५ वटा मुर्रा राँगा ल्याएको छ । बाँकेको नेपालगञ्जस्थित रुपैडिया–जमुनाहा नाकाबाट १५ वटा मुर्रा राँगा भित्र्याइएको हो ।

नेपालगञ्जस्थित पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा. विनय कुमार कर्णका अनुसार ती राँगा दुई वटा ट्रकमा ल्याइएको हो । नेपालगञ्जस्थित पशु होल्डिङ्ग सेन्टरमा राखेर स्वास्थ्य परीक्षण प्रक्रिया पूरा भएपछि मात्रै तिनलाई देशका विभिन्न स्थानमा पठाइने उनले बताए ।

कहाँ राखिन्छ राँगा ?

मुर्रा राँगा कृत्रिम गर्भाधानका लागि पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन् कार्यालय (पोखरा, नेपालगञ्ज र लहान) मा राखिने छ । पोखरा केन्द्रमा सात वटा, लहानमा पाँच वटा र नेपालगञ्ज प्रजनन् केन्द्रमा तीन वटा राँगा राखिने पशुविकास अधिकृत डा. माधव प्रसाद आर्यालले बताए ।

कृत्रिम गर्भाधानबाट वार्षिक ४० हजार पाडापाडी उत्पादन

मुर्रा जातको नश्ल सुधारका लागि ल्याएको राँगाको वीर्यबाट वार्षिक ४० हजार पाडापाडी उत्पादन हुने डा.अर्यालले बताए ।

नश्ल सुधारका लागि ल्याएका पशुको वीर्यबाट कृत्रिम गर्भाधान प्रक्रियामार्फत उन्नत जातको पशुचौपायाको विकास हुन्छ । नेपालमा हाल वार्षिक रुपमा भैँसीको दुध १४ लाख ६४ हजार मेट्रिक टन उत्पादन हुँदै आएको सरकारी तथ्यांक छ । कृत्रिम गर्भाधानबाट नश्ल सुधार भइ भैँसीको दुध उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।

उपहारमा राँगा कसरी आयो ?

उन्नत र रैथाने जातका नश्ल अन्तर्राष्ट्रियस्तरमा ओसार–पसार गर्न कानुनीप्रक्रिया लामो र झन्झन्टिलो छ । एक देशबाट अर्को देशमा नश्ल ओसार–पसार गर्न विभिन्न मापदण्ड पूरा गर्नुपर्ने भएकाले सहज रुपमा नश्ल पाउन कठिन हुन्छ ।

नेपालले भारतसँग २०७३ सालदेखि नश्ल सुधारका लागि मुर्रा राँगा खरिद गरेर ल्याउने गरी माग गरिरहेको थियो । तर, भारतको रैथाने अनुवांशिक वस्तु अन्यत्र लैजान कडा नीति भएका कारण सात वर्षसम्म पनि यो प्रयास सफल हुन नसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो (जेठ १७–२४ गते) भारत भ्रमणका क्रममा नेपाललाई भारतले १५ वटा मुर्रा राँगा अनुदान तथा उपहार दिने सहमति भएको थियो । सोही समझदारी अनुसार विभिन्न मापदण्ड पूरा गरी आज १५ वटा राँगा ल्याइएको हो । भारतको भैँसीको उन्नत जातमध्ये मुर्रा एक हो । यो प्रजाति भारतको पञ्जावमा विशेष रुपमा पाइन्छ ।

नश्ल सुधारका लागि विदेशबाट ल्याएका पशुचौपायाको संख्या १३१ पुग्यो

नेपालले आज भारतबाट १५ वटा मुर्रा राँगा ल्याएसँगै नश्ल सुधारका लागि विदेशबाट ल्याएका पशुचौपायाको संख्या एक सय ३१ पुगेको छ । तीन वर्ष यता करिब एक सय १६ वटा पशुचौपाया नश्ल सुधारका लागि आयात गरिएको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बताए ।

उनका अनुसार कोरियाबाट गत वर्ष नश्ल सुधारका लागि एक सय २ वटा उन्नत जातका गाई र आठ वटा साँढे ल्याइएको थियो । सोही वर्ष अमेरिकाबाट नश्ल सुधारका लागि ६ वटा उन्नत जातका राँगा ल्याइएको थियो । विभिन्न संघ संस्थाले नश्ल सुधारका लागि पशुचौपाया भित्र्याउने भएकाले विदेशबाट कति त्यस्ता पशुचौपाया ल्याइए भन्ने यकिन तथ्याङ्क पाउन मुस्किल छ ।

अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, भारत लगायत विभिन्न मुलुकबाट नश्ल सुधारका लागि पशुचौपाया भित्रिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू
लेखकबाट थप