आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाथीभरामा दसैँ-तिहारमा मात्रै ६१ हजार बढी दर्शनार्थी

सोमबार, ०७ जेठ २०८१, १४ : ५१
सोमबार, ०७ जेठ २०८१

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँ तिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१ हजार पाँच सय ६६ दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन् ।

वर्षभर नै पाथीभराको दर्शनका लागि तीर्थयात्री आउने गरे पनि दसैँ तिहारको समयमा तुलनात्मक रुपमा धेरै दर्शनार्थी पुगेका समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले बताए । नवरात्रका समयमा देवीको पुजाआरधना गर्न उपयुक्त मानिने र चाडवाड, बिदालगायतका कारणले पनि उक्त समयमा धेरै दर्शनार्थी आएका उनको भनाइ थियो ।

यहाँ आउने दर्शनार्थीको गणनाका लागि अहिले गणना गर्ने प्रविधि सहितको सिसी क्यामेरा जडान गरिएकाले उक्त सङ्ख्यामा दर्शनार्थी आएका देखिएको निर्देशक हाङ्वाङले बताए । यस वर्ष दसैँ तिहारमा मौसम सफा रहेकाले स्वदेशी तथा विदेशी तीर्थयात्रीको आगमन बढेको उनले जानकारी दिए । 

समितिका निर्देशक हाङ्वाङका अनुसार पाथीभरा मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । पाथीभरामा भारतको सिक्किम, आसामलगायतका ठाउँबाटसमेत तीर्थयात्री आउने गरेका छन् ।

पाथीभरा पुग्न ताप्लेजुङ सदरमुकाम हुँदै सवारी साधनमा काफ्लेपाटीसम्म र सो भन्दामाथि पैदल हिँड्नुपर्छ । करिब चार घण्टाको उकालो चढेपछि पुगिने मन्दिर तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्दछ । दर्शनार्थीको चापलाई मध्येनजर गर्दै मन्दिर दर्शनका लागि जनशक्ति खटाएर आवश्यक व्यवस्थापन गरिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप