आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जवानीमा कसुर, बुढ्यौलीमा कारावास

चार महिनामा १६३ जना फरार दोषी पक्राउ
सोमबार, ०७ जेठ २०८१, १५ : २७
सोमबार, ०७ जेठ २०८१

विराटनगर । जवानीको जोसमा प्रतिशोध लिएर गरेका हत्याका दोषीहरु मोरङमा धमाधम पक्राउ परिरहेका छन् । जवानीमा अपराध गरेर फरार भएकाहरु बुढ्यौली भएपछि प्रहरीको फन्दामा परेका हुन् ।

१६ वर्ष अघि व्यक्ति हत्यामा संलग्न मोरङ, मिक्लाजुङ–१ का ५० वर्षीय धनकुमार राई र सोही ठाउँका ७० वर्षीय देवी प्रसाद राईलाई प्रहरीले केही दिन अगाडि पक्राउ गर्‍यो ।

उनीहरुलाई १६ वर्ष अगाडि गरेको अपराधको सजाय भुक्तान गराउन प्रहरीले पक्राउ गरेको हो ।

२०६४ जेठ २० गते राति मोरङको साविक रमितेखोला–४, हाल मिक्लाजुङ गाउँपालिका वडा १ का सुकजित राईका दाजु ३५ वर्षका सन्तोष राईलाई धनकुमार राई समेतले कुटपिट गरी हत्या गरेकोमा अदालतको फैसलाले धनकुमार र देवीप्रसादलाई पाँच वर्ष कैद सजाय ठहर गरेको थियो ।

यस्तै यसअघि पनि प्रहरीले खुनडाँका मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका कटहरी गाउँपालिका–७ का ८७ वर्षीय विश्वास चौधरी थारुलाई ३६ वर्षपछि प्रहरीले पक्राउ गरेको थियो ।

उनीविरुद्ध ०४२ सालमा जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा परेको थियो । त्यतिबेला उनी ५१ वर्षका थिए । २०६१ जेठ १८ गते जिल्ला अदालतले चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय तोक्यो । ८७ वर्षको थकित शरीर लिएर चौधरी अहिले जेल भुक्तानका लागि कारावास पुगेका छन् ।

उल्लेखित प्रतिनिधि पात्रमात्र हुन्, जो बुढेसकालमा कारागारको चिसो छिँडीमा पुगेका छन् । मोरङ प्रहरीले चालु आर्थिक वर्षको चार महिनामा १६३ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

साउनदेखि कार्तिकसम्म फौजदारी कसुरका १४१ र देवानीका २२ जना फरार प्रतिवादी पक्राउ गरिएको मोरङका डीएसपी रञ्जन दाहालले बताए । १६३ जना फरार अभियुक्तबाट प्रहरीले ४३ वर्ष ११ महिना कैद सजाय र ३५ लाख ३८ हजार ६ सय २ रुपैयाँ जरिवाना असुल गरेको मोरङ प्रहरीको अभिलेखमा देखिन्छ ।

पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी घटनामा संलग्न प्रतिवादीहरु पक्राउका लागि अभियान नै सुरू गरिएको मोरङ प्रहरीका प्रमुख एवं एसपी दीपक पोखरेलले बताए । ‘पीडक पक्षलाई कानुनबाट भाग्न वा बच्न सकिँदैन भन्ने डर पैदा गर्न सञ्चालित फरार अभियुक्त पक्राउ अभियानलाई मोरङ प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आइरहेको छ,’ एसपी पोखरेलले भने ।

morang polish

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप