आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

नेपाल सुपर लिगको दोस्रो संस्करण आजदेखि, उपाधिका लागि नौ टोलीबिच घम्साघम्सी

आइतबार, १३ जेठ २०८१, ०८ : ३०
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) को दोस्रो संस्करण शुक्रबारदेखि सुरु हुँदै छ । प्रतियोगिताका खेलहरू काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ । उद्घाटन खेल साबिक विजेता काठमाडौँ रेजर्स र नवप्रवेशी स्पोर्टिङ इलामबिच खेलाइनेछ । उद्घाटन खेल साँझ ६ बजे सुरु हुनेछ । 

क्लब स्तरीय यो फुटबल प्रतियोगिता पुस १४ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौँ रेजर्स नेपाल सुपर लिगको पहिलो संस्करणको विजेता टोली हो । पहिलो संस्करणको फाइनलमा काठमाडौँ रेजर्सले धनगढी एफसीलाई हराउँदै उपाधि चुमेको थियो । प्रतियोगिताको पहिलो संस्करणमा सातवटा टोलीले मात्र सहभागिता जनाएका थिए । 

विराटनगर बाहिरियो, तीन नयाँ क्लब थपिए

प्रतियोगिताको दोस्रो संस्करणमा भने देशभरका नौवटा फ्रेन्चाइज क्लबको सहभागिता रहने छ । नेपाल सुपर लिगको दोस्रो संस्करणमा कर्णालीबाहेक सबै प्रदेशका क्लबहरूको प्रतिनिधित्व रहेको छ । बागमती प्रदेशबाट काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी र एफसी चितवन गरी तीनवटा क्लबले सहभागिता जनाउँदै छन् ।

यसैगरी दोस्रो संस्करणमा गण्डकी प्रदेशबाट पोखरा थन्डर्सलेसहभागिता जनाउने छ । लुम्बिनी प्रदेशको बुटवल लुम्बिनी एफसीले प्रतियोगितामा भाग लिएको छ । सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व धनगढी एफसीले गर्दैछ । 

कोशी प्रदेशबाट भने झापा एफसी र स्पोर्टिङ इलाम डी मेची एफसीले प्रतियोगितामा सहभागिता जनाउँदै छन् । यसका अतिरिक्त प्रतियोगिताकोदोस्रो संस्करणमा मधेस प्रदेशको प्रतिनिधित्व विरगञ्ज युनाइटेड एफसीले गर्नेछ । 

पहिलो संस्करणमा सहभागिता जनाएको विराटनगर सिटी एफसीले भने यसपटक भाग लिएको छैन । दोस्रो संस्करणमा तीनवटा नयाँ क्लब थपिएका छन् । झापा एफसी, स्पोर्टिङ इलाम डी मेची एफसी र विरगञ्ज युनाइटेड एफसीले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन लागेका हुन् । 

आइकनिक, मार्की र विदेशी खेलाडी

यसपटक चितवन एफसीले विमल घर्तिमगरलाई ‘आइकनिक खेलाडी’ र विशाल श्रेष्ठलाई ‘मार्की खेलाडी’ का रूपमा आबद्ध गरेको छ । विशाल ‘ए’ डिभिजन लिग क्लब मछिन्द्रको कप्तान पनि हुन् । चितवनले अक्सनमार्फत खेलाडी भित्राउन १८ लाख रुपैयाँभन्दा बढी खर्चिएको थियो । चितवनले विदेशी खेलाडीमा घानाका टोरिक जेबरिन, रफिक अमिनु, युसिफ मुबारिक र अफ्रिल अक्वासलाई अनुबन्ध गरेको छ ।

पोखरा थन्डर्सले दिनेश राजवंशीलाई ‘आइकनिक खेलाडी’ र आयुष घलानलाई ‘मार्की खेलाडी’ का रूपमा टोलीमा समावेश गरेको छ । यसपटकको अक्सनमा पोखरा थन्डर्सले सबैभन्दा कम १५ लाख ६० हजार रुपैयाँ खर्च गरेको थियो । 

अक्सनमा न्यूनतम १८ लाख रुपैयाँ खर्च गर्नुपर्ने नियम तोडेपछि क्लबले दुई लाख ४० हजार रुपैयाँ जरिवाना तिर्नु परेको थियो । पोखराको विदेशी खेलाडीमा क्यामरुनका यभेस प्रिसो, फ्राँकलिन कुएट र स्टेफन कोजो तथा घानाका जोए अइडु र मोसेस ग्याबाह रहेका छन् । 

यसैगरी बुटवल लुम्बिनी एफसीले आशिष लामालाई ‘आइकनिक खेलाडी’ र एरिक विष्टलाई ‘मार्की खेलाडी’ को रूपमा टोलीमा आबद्ध गरेको छ । बुटवल लुम्बिनीले अक्सनमा १६ लाख ७० हजार रुपैयाँ खर्च गरेको थियो । सोही कारणले बुटवल लुम्बिनीलेएक लाख ३० हजार रुपैयाँ जरिवाना तिर्नु परेको थियो । 

बुटवल लुम्बिनीले क्यामरुनका डिफेन्सिभ मिडफिल्डर निकोलस सर्ज सङ, स्टेफेन बिनाङ, आन्द्रे थिएरी बियिक र अर्नेष्ट टाम्पीलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । यसका अतिरिक्त आइभोरी कोस्टका गोलरक्षक कोउसी क्रिस्टियन पनि बुटवल लुम्बिनीमै छन् ।

झापा एफसीले ‘आइकनिक खेलाडी’ का रूपमा आवाष लामिछानेलाई र ‘मार्की’ खेलाडीका रूपमा अञ्जन विष्टलाई भित्राएको छ ।झापा एफसीको विदेशी खेलाडीका रूपमा अमेरिकाका धिरज थाजली, उज्वेकिस्तानका सामन्दर ओचिलोभ, सर्बियाका स्टेफन क्युफिक, स्पेनका नान्डो कोजर र स्पेनकै योर्गे कानिल्सलाई क्लबमा आबद्ध गरेको छ । झापा एफसीले अमेरिकी क्लब डालास एफसीसँग साझेदारी पनि गरेको छ ।

विरगञ्ज युनाइटेड एफसीले भने तेज तामाङलाई ‘आइकनिक खेलाडी’ र दीप कार्कीलाई ‘मार्की खेलाड’ का रूपमा टोलीमा आबद्ध गरेको छ । विरगञ्जले खेलाडी भित्राउन अक्सनमा १९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम खर्चिएको थियो । विरगञ्जले विदेशी खेलाडीका रुपमाघानाका विलियम ओपोकु, आबेड ओउसु, हानस कोफी र अकिन्स बाफुर तथा कंगोका सामला जाजीलाई आबद्ध गरेको छ ।

यसका अतिरिक्त विकेश कुथु स्पोर्टिङ इलाम डी मेची एफसीमा, आशिष चौधरी धनगढी एफसीमा, अनन्त तामाङ ललितपुर एफसीमा र हिसुब थपलिया काठमाडौँ रेजर्स एफसीमा ‘मार्की खेलाडी’ का रूपमा आबद्ध भएका छन् । 

ललितपुर सिटीले खेलाडी भित्राउन अक्सनमा सबैभन्दा बढी २४ लाख रुपैयाँ खर्च गरेको थियो । ललितपुरले विदेशी खेलाडीका रूपमा फ्रान्सका पाला इबु केबे र गोलरक्षकजेफ्री बाल्टसलाई अनुबन्ध गरेको छ। ललितपुरका अन्य विदेशी खेलाडीमा नाइजेरियाका करिम ओमोलाजा र इमोह एजिकेल तथा प्यालेस्टाइनका जोनाथन कान्टिलाना रहेका छन् । 

यसैगरी धनगढी एफसीले अक्सनमार्फत खेलाडी भित्राउन १९ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको थियो । धनगढीले विदेशी खेलाडीका रूपमा अघिल्लो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका नाइजेरियाकाओलावाले अफिज, सेनेगलका फालु डियाग्ने, इङ्ल्यान्डका ट्रेई विलियम्स, लेबनानका मोहम्मद ताहा र घानाका रिचर्ड आगिमाङलाई आबद्ध गरेको छ । 

यसैगरी काठमाडौँ रेजर्सले अक्सनमार्फत खेलाडी भित्राउन २० लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको थियो । काठमाडौँले विदेशी खेलाडीका रूपमा क्यामरुनका ओलिभर किङ्ग्वे, आन्द्रेस निआ र जुनियर निकेनग्वेलाई भित्राएको छ । उज्वेकिस्तानका टोजिडिनोभ कोमिलजोन पनि विदेशी खेलाडीका रूपमा काठमाडौँमा आबद्ध छन् । 

स्पोर्टिङ इलामले भने अक्सनमार्फत खेलाडी भित्राउन २० लाख ५० हजार रुपैयाँभन्दा बढी रकम खर्चिएको थियो । इलाममा विदेशी खेलाडीका रूपमा सेनेगलका इब्राहिमा डिटे, अब्दोलाय बा, अमाथ नदाव र बोदोउ दयाए रहेका छन् । 

६ नेपाली र तीन विदेशी प्रमुख प्रशिक्षक

बालगोपाल महर्जन काठमाडौँ रेजर्स, नवीन न्यौपाने पोखरा थन्डर्स, विजय महर्जन बुटवल लुम्बिनी, युगलकिशोर राई धनगढी, मेघराज केसी स्पोर्टिङ इलाम र सनोज श्रेष्ठ विरगञ्ज युनाइटेडको प्रमुख प्रशिक्षकको जिम्मेवारीमा छन् । 

तीनवटा क्लबले भने प्रमुख प्रशिक्षकमा विदेशीलाई भित्राएका छन् । ललितपुर एफसीको प्रशिक्षक प्रशिक्षक इयान एन्ड्र्यू गिलान हुन् । उनी स्कटल्यान्डमा जन्मिएका उनी हाल अस्ट्रेलियन नागरिक हुन् । उनी यूईएफएबाट ब्यवसायिक लाइसेन्सप्राप्त प्रशिक्षक पनि हुन् । 

यसैगरी एफसी चितवनले भारतका मेहराजुद्दिन वादुलाई आफ्नो प्रमुख प्रशिक्षक बनाएको छ । उनी भारतका पूर्व खेलाडी पनि हुन् । झापा एफसीले भने स्पेनिस नागरिक ओरियोल मोहेदानोलाई प्रमुख प्रशिक्षकको जिम्मेबारी सुम्पिएको छ । 

एनएसएलका सबैभन्दा महँगा १० खेलाडी

नेपाल सुपर लिगको दोस्रो संस्करणमा सहभागी क्लबहरूले अक्सनमार्फत खेलाडी भित्राएका हुन् । अक्सनमा पहिलो श्रेणीको खेलाडीका लागि न्यूनतम एक लाख ५० हजार र अधिकतम तीन लाख ५० हजार रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । 

यसैगरी दोस्रो श्रेणीको खेलाडीका लागि न्युनतम एक लाख र अधिकतम एक लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको थियो । तेस्रो श्रेणीको खेलाडीका लागिभने न्यूनतम ८० हजार र अधिकतम एक लाख ३० हजार रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । 

अक्सनका क्रममा पहिलो श्रेणीमा २७ जना खेलाडी सहभागी थिए। त्यसमध्ये १० जना खेलाडीले अधिकतम तीन लाख ५० हजार रुपैयाँ पाएका थिए ।सुदिप गुरुङ,सीमान्त थापा,लाकेन लिम्बु, दिनेश हेन्जन, सेसेहाङ आङदम्बे,सनिश श्रेष्ठ, कृतिसरत्न छुन्जु, आशिष गुरुङ, छिरिङ गुरुङ र दीपेश गुरुङ अधिकतम मूल्यमा बिक्री भएका खेलाडी हुन् । 

अक्सनमार्फत खेलाडी खरिद

खेलाडीका रूपमा काठमाडौँ रेजर्समाअञ्जन राई, अभिषेक बराल, महेन्द्र कार्की, प्रशान्त अवस्थी, कुलदीप कार्की, जियारथ शेख, राजिव लोप्चन, सुशील यादव, रोहन खड्गी, मौसम सुब्बा, दीपेश गुरुङ, अमित तामाङ, खमिर गिल्सन रराजाबाबु थापा आबद्ध भएका छन् ।

यसैगरी ललितपुर सिटीमा विवेक पौडेल, अनिल राई, करण रावत, सञ्जित राई, आदित्य शाक्य, अनिल महर्जन, सनिश श्रेष्ठ, दिनेश हेञ्जन, निरज चौधरी, रोशन पहारी, विशाल सुनार, सेसेहाङ आङ्दम्बे, प्रवेश कुँवर र विजय श्रेष्ठ रहेका ।

यसैगरी विरगञ्ज युनाइटेडमा खेलाडीका रूपमा सिमान्त थापा, जय गुरुङ, दिवाकर चौधरी, सुदीप गुरुङ, युवराज खड्का,सुरज गुरुङ, भिसन गुरुङ, शत्रुघन चौधरी, सुनिल खड्का, हरिशराज भट्ट, सुशील लामा र सुवास गुरुङ आबद्ध भएका छन् ।

एफसी चितवनले खेलाडीका रूपमा नवयुग श्रेष्ठ, अमृत श्रेष्ठ, एकराज बुढाथोकी, प्रदीप भण्डारी, राजेश परियार, रोशन रानामगर, बुद्ध तामाङ, हेम तामाङ, उत्सव राई, विक्रम धिमाल, शरणविक्रम बस्नेत, छिरिङ गुरुङ र पुस्कर खड्कालाई आबद्ध गरेको छ ।

स्पोर्टिङ इलाममा समित श्रेष्ठ, सन्तोष खत्री, आशिष राई, सन्तोष महत, सौरभ लिम्बु, भरत खवास, दीपेश घले, बिराज महर्जन, जितेन्द्र कार्की, आशिष गुरुङ, नवीन लामा, सुरोज बस्नेत, आशिष चापागाई र विमल पाण्डे आबद्ध छन् । 

यसैगरी धनगढी एफसीमा देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिशरत्न छुन्जु, रामचन्द्र वाजी, साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ र टेकेन्द्र थापा रहेका छन् । 

पोखरा थन्डर्सले पुजन होना, दीपेश आले मगर, अनिश पोमु लिम्बु, पदम भट्टराई, नरेन्द्र चौधरी, अञ्जल महर्जन, पदमकुमार तामाङ, सुरज जिउ ठकुरी, कमलबहादुर थापा, सञ्जीव विष्ट, सुनिल घलान, जीवन गुरुङ र विपन कँडेललाई भित्राएको छ ।

यसैगरी बुटवल लुम्बिनीमा असिम भुसाल, जन्मजय धामी, सरोज तामाङ, मणिकुमार लामा, अशोक थापा, मनग्य नकर्मी, नीराजन धामी, पासाङ लामा, निशान राणा, चन्दनकुमार दास, गौरव श्रेष्ठ, जिलेस्पीजंग कार्की र प्रकाश बुढाथोकी आबद्ध छन् ।

झापा एफसीले भने अनिश देउला, प्रदिप लामा, भरत चौधरी, प्रशान्त लक्सम लिम्बु, योगेश गुरुङ, अशोक खवास, सुदीप श्रेष्ठ, लक्ष्मण रुचाल, लाकेन लिम्बु, समिराज थोकर, सुरज विष्ट, छिरिङ लामा र सुमित श्रेष्ठलाई आबद्ध गरेको छ ।

आयोजक भन्छ, ‘नेपाली फुटबलले नयाँ उचाइँ हासिल गर्नेछ’

नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टका निर्देशक श्रेयन्स कार्कीले ठुलो आर्थिक चुनौतीबिच फ्रेन्चाइज टोलीहरूको सहयोग र आम समर्थकको चासोका कारण दोस्रो संस्करणलाई भव्य बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

कार्कीले नेपाल सुपर लिग नेपाली फुटबलको सबैभन्दा ठुलो घरेलु प्रतियोगिता ‘सहिद स्मारक ए डिभिजन लिग’ को प्रतिस्पर्धी नभएको पनि बताएका छन् । ‘एनएसएल सहिद स्मारक ए डिभिजन लिगको प्रतिस्पर्धी होइन । एनएसएलको आयोजनाले नेपाली फुटबललाई नयाँस्तरमा लैजान मद्दत पु¥याउने विश्वास लिएका छौँ,’ बुधबार आयोजित पत्रकारसम्मेलनमा उनले भनेका छन् ।

नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टकी अध्यक्ष आश्रेयता कार्की चौधरीपनि एनएसएललाई नेपाली फुटबल विकासको सारथिका रूपमा अगाडि बढाउने उद्देश्यअनुरूप आयोजना गरिएको बताउँछिन् । दोस्रो संस्करणका क्रममा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका लिजेन्ड डिडियर ड्रोग्बालाई नेपालमा ल्याउने तयारी भइरहेको पनि आयोजकले जनाएको छ । 

यसका अतिरिक्त प्रतियोगिताका क्रममा विश्व फुटबलका अन्य हस्तीलाई पनि ल्याइने आयोजकले उल्लेख गरेको छ । एनएसएलको दोस्रो संस्करणमा भारतका तीनजना रेफ्रीको पनि सहभागिता रहने बताइएको छ । 

आयोजकले उपाधि विजेता टोलीलाई कति नगद पुरस्कार दिने भन्ने विषयमा टुंगो लागि नसकेको पनि जनाएको छ । यद्यपि, उपाधि विजेता टोलीले ७५ लाख रुपैयाँ वा त्योभन्दा बढी नगद पुरस्कार पाउने जानकारी निर्देशक कार्कीले दिएका छन् । 

एन्फाको प्राविधिक सहयोग

नेपाल सुपर लिगको दोस्रो संस्करणलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहेको छ । प्रतियोगिताका क्रममा कुल ४० वटा खेल हुनेछन् । सबै खेल दशरथ रंगशालामै खेलाइने आयोजकले जनाएको छ । 

राम्रो खेल मैदानको अभाव रहेकाले सबै खेल दशरथ रंगशालमैखेलाउन बाध्य भएको आयोजकको भनाइ छ । प्रतियोगिताको नियमअनुसार, सहभागी नौवटै क्लबले पाँच—पाँचजना विदेशी खेलाडीलाई टोलीमा समावेश गरेका छन् । 

तर, एउटा क्लबले प्रत्येक खेलमा एकैपटक बढीमा तीनजना विदेशी खेलाडीलाई मात्र मैदानमा ओराल्न पाउने प्रावधान छ । प्रतियोगितामा सहभागी क्लबहरूले खेलाडी अनुबन्ध गर्न ठुलो धनराशी खर्च भएको बताउँदै आएका छन् । 

क्लबहरूले अधिकांश खेलाडी अक्सनबाट खरिद गरेका हुन् । तर, आइकनिक खेलाडी, मार्की खेलाडी र विदेश खेलाडीको मूल्य भने आपसी सहमतिमा तय गरिएको हो । त्यसैले अक्सनबाट खरिद गरिएका खेलाडीको मूल्य सार्वजनिक भए पनि अन्य खेलाडीका लागि खर्चिएको रकम भने क्लबहरूले बाहिर ल्याएका छैनन् । नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबलका रूपमा नेपाल सुपर लिगको आयोजना गरेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप