आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ढिलै भए पनि न्याय पाएँ : प्रेम चलाउने

बिहीबार, १३ वैशाख २०८१, १२ : ५६
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेलाई जेल सजाय सुनायो । तीन वर्ष अगाडि त्रिवि परिसरभित्रै भएको कुटपछि घटनामा संलग्नलाई जनही दुई वर्षको कैद सजाय सुनाइएको थियो । न्यायाधीश विनोद खतिवडाको इजलासले कुटपिटमा संलग्न र कुटपिट गर्न लगाउने सबैलाई सजाय र जरिवानाको फैसला सुनाएको थियो । 

२०७७ कात्तिक २० गते काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा दर्ता भएको उक्त मुद्दामा अदालतले ज्यान मार्ने उद्योग नभई कुटपिट र अङ्गभङ्गमा दोषी ठहर गरेको हो । घटनामा संलग्नमध्ये मुख्य योजनाकार मानिएका हरि आचार्य, सह योजनाकार योगेन्द्र रावल तथा कुटपिटमा संलग्नहरू रुपेश साह, रविनकुमार लामा, नीरज रानामगर र सयुज श्रेष्ठलाई जनही दुई वर्ष कैद र पीडित उपप्राध्यापक प्रेम बहादुर चलाउनेलाई उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५९३ रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । साथै प्रतिवादीहरूलाई जनही २० हजार रुपैयाँ जरिवानाको फैसलासमेत भएको छ । घटनामा सहयोगी रहेका भनिएका दीपकराज ओझालाई भने अदालतले सफाइ दिएको छ । 

अदालतको फैसलापछि चलाउनेले ढिलै भए पनि न्याय पाएको बताएका छन् । अदालतको फैसलापछि रातोपाटीसँग प्रतिक्रिया दिँदै चलाउनेले आफ्नो घाउमा मल्हम लगाउने काम अदालतबाट भएको बताए ।  

‘अदालतले मेरो घाउमा थोरै भए पनि मल्हम लगायो । तर, पूर्ण न्याय पाएको स्थिति होइन् । तीन वर्षमा मैले जुन क्षति बेहोरे, त्यो क्षतिको तुलनामा यो आंशिक न्याय प्राप्त गरेको हो’ उनले भने । 

आफ्ना विरुद्ध सम्पूर्ण राज्यसत्ता नै लडिरहेको अवस्थामा ढिलागरी भए पनि न्याय मिलेको उनको भनाई छ । ‘हामीसँग सरकार लडिरहेको थियो, सरकारमा बसिरहेका ठूल्ठूला मान्छेहरू लगिरहेका थिए । त्यो हिसाबले ‘गड सी द ट्रु वट वेइट’ भन्छन् नि । त्यस्तै भयो’ उनले भने ।  

आफूले न्याय पाउनुको हकदार आम नेपाली जनता भएको उनको भनाई छ । सबैको साथ र सहयोगका कारण राज्यसत्ता नै आफ्ना विरुद्ध लागिरहेको अवस्थामा न्याय मिलेको बताए । 

अदालतको फैसलापछि दोषी ठहर भएकाहरू अब तत्काल थुनामा जानुपर्ने उनको भनाई छ । उनीहरूले कानुन हातमा लिएर राज्यलाई नै चुनौती दिइरहेको बताए । 

यो बीचमा पीडकहरूबाट पटक पटक ज्यान मार्ने सम्मको धम्की आएको तर, आफू न्याय पाइने आसमा निरन्तर लडिरहेको बताए । 

‘उनीहरूबाट थुप्रै खालका थ्रेटन आए । चलाउनेलाई निध्याउनुपर्छ भन्ने खालका सामाजिक सञ्जालबाटै धम्की दिइरहेका थिए । फेक आइडी बनाएर जसरी पनि निध्याउनुपर्छ भन्ने मनसायका अभिव्यक्तिहरू निरन्तर दिइरहेका हुन्थे’ उनले भने । 

उनले घटना भएको तीन वर्षपछि न्याय पाएका हुन् । अदालतले दोषी ठहर गर्दै फैसला गरिरहँदा दुई जना भने विदेशमा छन् । घटनाका मुख्य योजनाकार हरि आचार्य यति बेला अमेरिकामा छन् । त्यस्तै नीरज राना मगर अस्ट्रेलियामा छन् । त्यस्तै रवीन कुमार राना फरार छन् । 

उनले ज्यान मार्ने उद्योग जस्तो गम्भीर प्रकृतिको अपराधमा संलग्नहरू कसरी अमेरिका तथा अस्ट्रेलिया पुगे भन्दै प्रश्न गरे । 

‘अमेरिका जस्तो देशमा एउटा अपराधी कसरी पुग्यो ? अटेम्टु मर्डरमा मुद्धा चलिरहेको मान्छे अमेरिका र अस्ट्रेलिया कसरी पुगे ?’ उनले प्रश्न गरे । 

देशको कानुनमन्त्रीले नै अपराधी जोगाउन अदालतमाथि नाङ्गो हस्तक्षेप गरेको उनको भनाई छ । उनीहरूले अदालतको पवित्रतामाथि प्रहार गरेको बताए । 

‘न्यायालयभित्र मेरा अधिवक्ता तथा सरकारी वकिल, बाहिर खुला इजलासमा पत्रकार मित्रहरू मेरा निम्ति सत्य र न्यायको दुत बन्नु भयो र न्यायको बहस पैरवी गर्नु भयो । तपाइहरूले गर्दा केहि हदसम्म अँध्यारोमाथि उज्यालो, असत्य र अन्याय  माथि सत्य र न्यायको जित भएको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

न्यायमूर्तिले पनि अदालतको शाख र गरिमा जोगाएको बताए । आफू सबैको ऋणी रहेको भन्दै अबदेखि आफूजस्तै अन्यायमा परेकाहरूका निम्ति लडेर ऋण तिर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप