आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विपिनको रिहाइका लागि कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्र मन्त्रीको आग्रह

बिहीबार, १३ वैशाख २०८१, १३ : ०७
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

शुक्रवार परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरे । विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले जानकारी दिए ।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिए । भेटका क्रममा परराष्ट्र मन्त्री साउदले गाजामा युद्ध विराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेका मध्यस्थकर्ताको भूमिकाको प्रशंसा पनि गरे ।

यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । भेटका क्रममा उनीहरूबिच रोजगारी, व्यापार तथा लगानी आदान प्रदान, सहकार्यको विकास र उच्चस्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप