आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फुड पोइजनिङ रोक्ने विद्युतीय नाकको विकास

बिहीबार, १३ वैशाख २०८१, १५ : ४९
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । मान्छेको नाकले के–के सुँघ्छ, के–के थाहा पाउँछ । यसको सुँघ्ने क्षमता अभूतपूर्व छ । हरेक नाकमा झण्डै चार सय गन्ध थाहा पाउने रिसेप्टर हुन्छ । 

यी रिसेप्टरहरुले १० खर्ब ओटा फरक–फरक गन्ध थाहा पाउन सक्छन् । यस्तो खालको उच्च कोटीको सुँघ्ने क्षमतालाई विस्थापित गर्ने वैज्ञानिक उपकरण बनाउनु कम्तीको चुनौतीपूर्ण काम होइन ।

तर कृत्रिम बौद्धिकता(एआई)मा हालै भएको प्रगतिले निश्चित खालको गन्ध थाहा पाउने र बताउने हाई–टेक सेन्सरयुक्त विद्युतीय नाक विकास भएका छन् । यसले खानेकुराको सुरक्षामा कायापलट गर्न सक्ने निर्माताहरु बताउँछन् । खानेकुरा कुहिएर वा बिग्रिएर त्यसमा उत्पन्न हुने घातक ब्याक्टेरियाहरु हुन् सालमोनेला र इ. कोली । दुवैको आफ्नो ‘विद्युतीय व्यक्तित्व’ छ भन्छन् ई–नाक बनाउने इजरायली कम्पनी सेन्सिफाईका सह–विकासकर्ता प्राध्यापक राज जेलिनेक ।

कम्पनीले बनाएको ई–नाकमा कार्बनको नानोपार्टिकल्स कोट गरिएको छ । यसमा ब्याक्टेरियाका कारण उत्पन्न हुने गन्ध अर्थात् भोलाटाइल अर्गानिक कम्पाउन्ड (भीओसी) पहिचान गर्ने इलेक्ट्रोड्स छ । फरक खालको ब्याक्टेरियाले फरक भीओसी फिंगरप्रिन्ट बनाउँछ । जसले सेन्सिफाई यन्त्रमा फरक विद्युतीय संकेत सृजना गर्छ । यसलाई एआई सफ्टवेयर प्रणालीले रेकर्ड गर्छ । यसले आफ्नो डेटाबेसमा चेक गरेर प्रयोगकर्तालाई सूचित गराइदिन्छ ।

विश्वभर फुड पोइजनिङ गम्भीर समस्याको रुपमा रहेको छ । यसका कारण लाखौं मानिसको मृत्यु भइरहेको छ । खाद्य उद्योगमा संक्रमणको समस्या निवारणमा यो उपकरण सहयोगी हुने आशा कम्पनीले गरेको छ । कम्पनीले ई–नाकको मूल्य सार्वजनिक गरेको छैन । तर यो सस्तो हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप