आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : घरमै रोकिए दुर्गा प्रसाईं, राप्रपाको अविश्वास–पूर्वराजाको मौनता

तीनकुनेमा प्रदर्शनको प्रयास असफल, अदालतमा रिट
आइतबार, १३ जेठ २०८१, २२ : ३९
आइतबार, १३ जेठ २०८१

आज मिति २०८० साल मंसिर महिनाको ८ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

घरमै रोकिए प्रसाईं
बिहीबार बल्खुमा प्रदर्शन गरेका दुर्गा प्रसाईले शुक्रबार राजधानीको तीनकुनेमा प्रदर्शनको तयारी गरेपनि स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले रोकेको छ । प्रसाईं तीनकुनेमा प्रदर्शनका लागि अनुमति नलिएको भन्दै प्रसासनले रोकेको हो भने शुक्रबार प्रसाई भक्तपुरस्थित घरमै रोकिए । प्रसाईंले आफूलाई घरमै प्रहरीले नजरबन्दमा राखेको आरोप लगाएका छन् । 


भक्तपुरका प्रमुख जिल्ला अधिकारीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंकै सुरक्षाका लागि उनलाई निगरानीमा राखिएको बताएकी छिन् । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार उनलाई नजरबन्दमा राखिएको नभई सुरक्षा चुनौतीका कारण निगरानीमा राखिएको हो ।

दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन आएको आरोपमा काठमाडौँको तीनकुनेमा प्रहरीले पक्राउ गरेका अधिकांश व्यक्तिहरू रिहा भएका छन् । प्रदर्शन स्थलबाट शुक्रवार पक्राउ गरिएका मध्ये २६१ जनालाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) कुमोध ढुङ्गेलले रातोपाटीलाई बताए ।
शनिबार पनि प्रदर्शन हुने
प्रसाईंले भोलि पनि काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् । शुक्रवार ठिमीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले शनिवार तीनकुनेमा प्रदर्शन  हुने र त्यहाँ आफू पनि सहभागी हुने बताए ।

राष्ट्रिय मानवअधिकार आयोगले घृणायुक्त अभिव्यक्ति बन्द गर्न आग्रह गरेको छ । राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा बिहीबार काठमाडौँमा आयोजित प्रदर्शन र त्यसपश्चात् विभिन्न सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका घृणायुक्त अभिव्यक्तिहरुप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अदालतको आदेश र नयाँ रिट
माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डा।आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाऊआदेश जारी गरेको हो ।

यसैबीच भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् ।

प्रसाईंमाथि राप्रपाको अविश्वास
झापाको औपचारिक कार्यक्रमपछि प्रसाईंले विभिन्न चरणको कार्यक्रम गर्दै यतिबेला काठमाडौँ केन्द्रित अभियान थालेका छन् । तर, प्रसाईंको आन्दोलनप्रति राप्रपासहित धेरै राजावादी संघ संगठन ‘कन्भिन्स्ड’ हुन सकेका छैनन् । प्रसाईंले बिहीबारदेखि सुरु गरेको ‘व्यवस्था विरोधी’ आन्दोलनमा राप्रपाका केही नेताले व्यक्तिगत रुपमा साथ दिए पनि राजतन्त्रको आवश्यकता औँल्याउने गरेको राप्रपाले संस्थागतरुपमा केही निर्णय गरेको छैन । प्रसाईंको अभियानबारे ९ महिनाअघि ‘कठोर’ अभिव्यक्ति दिएका लिङ्देन अझै पनि सकारात्मक नरहेको उनको प्रतिक्रियाले स्पष्ट हुन्छ ।

यस्तै पूर्वराजा निकट स्रोतले दुर्गा प्रसाईं र  पूर्वराजाबीच कुनै संवाद र सहकार्य नभएको दाबी गरेको छ । प्रसाईंले पूर्वराजाको समर्थनमा आन्दोलन गरेको भने पनि उनको कार्यक्रममा ९ महिनाअघि सहभागी हुनबाहेक अन्य सम्बन्ध नरहेको पूर्वराजा निकट स्रोतको भनाइ छ । प्रसाईंले पनि बिहीबारको पत्रकार सम्मेलनमा आफ्नो प्रदर्शनमा पूर्वराजाले समर्थनमा पत्रसमेत नपठाएको भनेर असन्तुष्टि पोखेका थिए ।
बरु पूर्वराजा शुक्रबार अर्को एक कार्यक्रमका लागि झापा पुगेका छन् । 

ओलीको निर्देशन, महेशको गर्जन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र काम लाग्दैन भनेर नै नेपाली जनताले फालेको बताएका छन् । 

शुक्रबार एमाले पार्टी कार्यालय च्यासलमा राष्ट्रिय युवा संघको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले १७ वर्षअघि नै फालेकाले त्यो पुन फर्किन्छ भनेर मुर्खहरुले मात्रै भन्दै आएको बताएका हुन् ।

एमाले नेता तथा राष्ट्रिय युवासंघका इन्चार्ज महेश बस्नेतले गणतन्त्र विरोधी दुर्गा प्रसाईंलाई एमाले नेता कार्यकर्तालाई छोएर देखाउन चुनौती दिएका छन् ।  एमाले पार्टी कार्यालय च्यासलमा शुक्रवार युवा संघको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता बस्नेतले बिहीबार प्रसाई समर्थकले हेटौँडा र कलंकीबाट तीनकुने हिँडेका आफ्ना कार्यकर्तामाथि आक्रमण प्रयास भएको भन्दै युवा संघ सशक्त भएकाले प्रतिरोध गर्न सफल भएको बताए ।


संसदीय समिति–उजुरी आह्वान
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको  बैठकले पत्रिकामा सूचना प्रकाशन गरेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

फिल्म क्षेत्र चौपट
नेपाली फिल्मको व्यवसाय बिग्रिएको धेरै भइसक्यो । करिब दर्जन फिल्म रिलिज हुँदा एकाधले मात्र लगानी उठाउने अवस्था अझै सुध्रिएको छैन ।

यो वर्ष नेपाली फिल्मको व्यवसाय राम्रो हुने आश फिल्मकर्मीको थियो । बितेको ७ महिनामा भएको व्यवसायले भने त्यो देखाएको छैन । गत वैशाखदेखि कात्तिक अन्त्यसम्म प्रदर्शनमा आएका ३३ फिल्ममध्ये ६ सफल हुँदा अन्य सबै व्यावसायिक रुपमा असफल छन् । यसले पनि फिल्मको व्यवसाय कस्तो छ भनेर झल्काएको छ ।

यो पनि....
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भएर सेक्रेटरी समेत भइसकेका एक व्यक्ति यतिबेला रुसी सेनामा भर्ना भएका छन् । माओवादी हुँदै पछिल्लो समय विप्लवको पार्टीमा आबद्ध डायमण्ड सी म्याग्देली भ्लादिमिर पुटिन राष्ट्रपति रहेको रुसी सेनामा भर्ना भएका हुन् ।

धनगढीका लागि उडेको श्री एयरलाइन्समा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्काइएको छ । शुक्रबार दिउँसो ३ः४० बजे चालकदलसहित ७६ यात्रु बोकेर एयरलाइन्सको क्यू ४०० नम्बरको जहाज धनगढी उडेको थियो ।

रास्वपाका सभापति रवि लामिछानेले आजबाट तीन दिने मधेस थालेका छन् । पार्टी सभापति लामिछानेले सांसद मनिष झालाई साथमा लिएर आठ जिल्लाको तीन दिने  यात्रा थालेका हुन् । पहिलो दिन बारा र पर्सामा लामिछानेले सम्बोधन गरेका छन् ।

सरकारले जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो ।  

चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब रुपैयाँभन्दा बढीका सवारी साधन नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा पेट्रोल तथा डिजेल इन्जिनसहित विद्युतीय सवारीहरू गरी कुल १२ अर्ब ३६ करोड ५६ लाख ८८ हजार रुपैयाँ बराबरका गाडी आयात भएको हो ।

काठमाडौँ रेजर्स एफसीले नेपाल सुपर लिग एनएसलको दोस्रो सिजनमा विजयी सुरुवात गरेको छ ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप