आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
वेथिति

अदालतले रोक्काको आदेश दिएको जग्गा सुटुक्क नामसारी गरिएपछि...

नामसारी बदर नभए परिणाम गम्भीर हुने चेतावनीसहित व्यवसायी आन्दोलित
आइतबार, २० जेठ २०८१, १३ : ३०
आइतबार, २० जेठ २०८१

सुर्खेत । सुर्खेत जिल्ला अदालतले रोक्काको आदेश दिएको जग्गा बैंक र जिल्ला मालपोतका कर्मचारीहरूको मिलेमतोमा नामसारी गरेको आरोप लागेको छ ।

सुर्खेतका व्यवसायी प्रकाश उप्रेती र उनकी श्रीमती अर्चना उप्रेतीको नाममा रहेको ६ कित्ता जग्गा एनआईसी एसिया बैंक र मालपोत कार्यालय सुर्खेतका कर्मचारीले मिलेर देवीराम पौडेलको नाममा लिलाम गरी नामसारी गरेको आरोप लगाइएको हो ।

जग्गा धनीलाई थाहै नदिएर नामसारी गरिएको भन्दै सुर्खेतका व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । सोही विषयमा गत बुधबार सुर्खेतका व्यवसायीहरूले मालपोत कार्यालय घेराउ गरेका छन् । व्यवसायीहरू आन्दोलनमा उत्रिएसँगै मालपोत कार्यालय घेराउ गरेका हुन् । व्यवसायीहरू बैंक र मालपोत कार्यालयविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

यस्तो छ नामसारी गरिएको विषयको नालीबेली

एनआईसी एशिया बैंकमा प्रकाश उप्रेती र उनकी श्रीमतीको नाममा रहेको साबिक जर्बुटा गाविस वडा नं. १ क कित्ता नं २०४० को क्षेत्रफल ०–०–१५ (बिघा) र सोही वडा १ ख कित्ता नं. ८३५, १८६५, १४०१, १८६६ र १८६३ को क्षेत्रफलहरू क्रमशः ०–१–१०–०, ०–०–८–१, ०–०–१६–१, ०–०–११–३ र ०–०–८–१ (बिघा) जग्गालाई सुर्खेत जिल्ला अदालतले २०७९ फागुन ५ गते रोक्का गर्नु भनी बैंकलाई आदेश दिएकोमा बैंक र मालपोतका कर्मचारीहरूको मिलेर गत साउन २ गते बैंकबाट फुकुवा गराई लिलामीमा देवीराम पौडेलका नाममा दाखिला गरेको छ ।

जग्गाधनी प्रकाश उप्रेतीले अदालतले रोक्का राख्नु भनी आदेश दिएको तर बैंक र मालपोतका कर्मचारीहरू मिलेर रोक्का राखेको जग्गा फुकुवा गरी देवीराम पौडेलका नाममा दाखिला गरिएको घटनाबारे आफूले सोमबार मात्रै थाहा पाएको बताएका छन् ।

अदालतको आदेशलाई समेत बैंक र मालपोतले उल्लंघन गरेर लिलामीमा अर्कैलाई सकार गर्न लगाएको भन्दै यो काममा बैंक र मालपोतको बदमासी भएको आरोप उनको छ । ‘पौडेलले नै तपाईंको जग्गा मैले बैंकको लिलामीबाट लिएको भनेपछि मात्रै मैले थाहा पाएको हो,’ उप्रेतीले भने ।

यता मालपोत कार्यालय सुर्खेतले मङ्सिर ४ गते भूमि व्यवस्थापन तथा अभिलेख विभाग काठमाडौँलाई देवीराम पौडेलका नाममा कायम भएको जग्गाहरू बदर गरी साबिक बमोजिम नै कायम गरी आवश्यक कारबाही गर्न पत्राचार गरेको छ । मालपोत अधिकृत जनकबहादुर हमालले पठाएको पत्रमा एनआईसी एसिया बैंकमा २०७५ कात्तिक १४ गते रहेको उप्रेतीद्वयका जग्गाहरू २०७९ फागुन ५ गतेको जिल्ला अदालतले रोक्का राखेकोमा लिलाम सकारकर्ता देवीराम पौडेलका नाममा कायम भएको जग्गाहरू बदर गरी साबिक बमोजिम नै कायम गर्न भनिएको छ ।

मालपोत प्रमुखले सोधेको स्पष्टिकरण

मालपोत अधिकृत हमालले अदालतबाट रोक्का राखेको जग्गाहरू के कति कारणले पौडेलको नाममा नामसारी भएको भनी कार्यालयका दुई जना कर्मचारीलाई स्पष्टीकरण सोधका छन् । तीन दिनभित्र जवाफ दिन कार्यालयका नासु राजकुमार सिंह र खरिदार राजेन्द्रबहादुर खड्कालाई स्पष्टीकरण सोधिएको हो । यदि तोकिएको समयभित्र जवाफ नदिएमा कानुन अनुसार कारबाही गरिने पत्रमा उल्लेख छ ।

कारबाही पत्र

यता एनआईसी एसिया बैंक सुर्खेतले सबै प्रक्रिया पूरा गरेर मात्रै लिलाम गरेको भन्दै कुनै जालसाजी नगरेको दाबी गरेको छ । बैंकका सुर्खेत प्रबन्धक अशोक तिमिल्सेनाले ऋणीले समयमै ऋण नतिरेपछि लिलाम प्रक्रिया अनुसार गरेको जिकिर गरे ।

समयमै ऋण नतिर्दा बैंकले धितो लिलाम गर्नु स्वाभाविक भएको भन्दै उनले सबै काम कानुन अनुसार नै प्रक्रिया पूरा गरेर गरिएको बताए ।

व्यवसायीको नाममा जग्गा बैंक र मालपोत कार्यालय सुर्खेतका कर्मचारीले लिलाम गरी नामसारी गरेको भन्दै व्यवसायीहरू एकजुट भएर आन्दोलनमा होमिएका छन् । बुधवार सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलको नेतृत्वमा मालपोतमा आन्दोलन गरिएको हो । व्यवसायीहरूले उक्त निर्णय बदर गर्नुपर्ने माग गरेका छन् ।

व्यवसायीहरूले कार्यालयमा बिहीबार दिनभर धर्ना दिएका थिए भने कार्यालयमा मालपोत प्रमुख थिएनन् । आन्दोलन उग्र बन्ने भएपछि त्यहाँ प्रहरीसमेत तैनाथ गरिएको छ ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष कँडेलले जग्गाको नामसारी बदर नभएको खण्डमा त्यसको परिणाम गम्भीर हुने चेतावनी दिएका छन् । साथै यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी जिल्ला मालपोत र बैंकले लिनुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप