आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वार्थी साथीलाई कसरी चिन्ने ?

आइतबार, २० जेठ २०८१, १३ : ३९
आइतबार, २० जेठ २०८१

काठमाडौँ । असल साथी त्यही हो, जसले तपाईँलाई खुसी वा सुखमा मात्रै होइन दुःख अनि पीडा भएको बेलामा पनि साथ दिन्छ । सच्चा साथीहरूले कहिले पनि देखावटी वा बनावटी व्यवहार गर्दैनन् ।  उनीहरूको चिन्ता र चासोमा कुनै बनावट हुँदैन । तर, कोही साथी स्वार्थी खालका हुन्छन् । भित्र अर्कै स्वार्थ हुन्छ बाहिर देखाउन चाहिँ अरू नै कुरा देखाउँछन् । यस्ता साथी हरेक फ्रेन्ड सर्कलमा हुन्छन् । 

सबैले यस्ता मतलबी अनि स्वार्थी साथीलाई चिन्न सक्दैनन् । तपाईँको साथमा छु भनेर देखाउने तर हरेक कुरामा आफ्नै स्वार्थ खोज्ने साथी जीवनको कुनै न कुनै मोडमा तपाईँले पनि भेट्नु भएको होला । यस्ता व्यक्तिहरू तपाईँबाट आफ्ना केही स्वार्थ पूरा भइरहेको छ वा तपाईँबाट लाभ पाइन्जेलसम्म मात्रै साथी बनेर रहन्छन् । 

साँचो मित्र भावनात्मक र व्यवहारिक साथ अनि सहयोगका अमूल्य स्रोत हुन्छन् । केही अनुसन्धानका अनुसार जीवनमा असल मित्र भएका मानिसहरूलाई तनाव हुन्न । यसले मानसिक र शारीरिक स्वास्थ्यलाई तन्दुरुस्त राखी राख्न मद्दत गर्छ । नक्कली अनि देखावटी साथीमाथि विश्वास गर्न सकिन्न । जब जब तपाईँलाई यिनीहरूको खाँचो पर्छ, त्यतिबेला यिनीहरूले तपाईँलाई चाहिएको साथ, सरसहयोग, सहानुभूति र बफादारी देखाउन सक्दैनन् ।

स्वार्थ साथीलाई कसरी चिन्ने ? 

नक्कली साथीहरू उनीहरूलाई चाहिएको बेलामा तपाईँको आसपास भइरहन्छन् । तर तपाईँलाई केही साथ सहयोग चाहिएको बेलामा चाहिँ उनीहरू बेपत्ता हुन्छन् वा कुनै न कुनै बाहाना बनाएर पन्छिन्छन् । तपाईँको कुनै साथी मित्रले पनि यस्तो गरिरहेका छन् भने उनीहरूसँग दूरी बनाउनु नै राम्रो हुन्छ । 

एकोहोरो सम्बन्धः

स्वार्थी साथीसँगको तपाईँको सम्बन्ध एकतर्फी हुन्छ । जस्तै: साथीभाइसँग कुरा गर्दा पनि उनीहरू आफ्नै बारेमा मात्रै गफिइरहेका हुन्छन् । उनीहरूको जीवनमा के भइरहेको छ भनेर भन्छन्, तर तपाईँको जीवनमा भइरहेको उथलपुथलबारे उनीहरूलाई वास्ता अत्तोपत्तो हुन्न । साथमा भएको बेलामा पनि उनीहरूको रुचि आफैँमा हुन्छ । आफ्नोबारे मात्रै बोल्छन् अनि सुन्न मन पराउँछन् । अरूको कुरा सुन्दै सुन्दैनन् । जसको व्यवहारमा यस्तो खालको व्यवहार देखिन्छ, त्यस्ता साथीहरूबाट टाढा बस्नमै तपाईँको भलाइ छ । 

अविश्वसनीय:

यस्ता साथीलाई विश्वास गर्न सकिन्न । यिनीहरूले तपाईँसँग गरेको वाचा पनि पूरा गर्दैनन् । कुनै पनि कुरामा यिनीहरूमाथि भर पर्न सकिन्न । भर पर्नै मुस्किल छ । तपाईँलाई परेको बेलामा सहयोग गर्छु भनेर वाचा गरे पनि अन्तिम समयमा तपाईँलाई अप्ठ्यारोमा छाडेर भाग्छन् । 

विश्वासघात:

देखावटी अनि झूटा साथी कहिले पनि कोही प्रति बफादार हुन सक्दैनन् । तपाईँले उनीहरूलाई भन्नु भएका गोप्य कुरा अरूलाई भन्दै हिँड्न पनि सक्छन् । तपाई नभएको बेलामा तपाईँकै कुरा काट्छन् । तपाईँबारे भए/नभएको अफवाह फैलाउँछन् । 

बेइज्जत गर्ने:

यस्ता व्यक्तिले अरूको अगाडि तपाईँलाई झुटो साबित गरेर तपाईँको बेइज्जत पनि गर्छन् । तपाईँको अपमान गर्न, उपहास गर्न पछाडि पर्दैनन् । 

ईर्ष्या:

 यस्ता साथी तपाईँको सफलता र उपलब्धिबाट डराउँछन्, प्रगतिको ईर्ष्या गर्छन् । तपाईँको उपलब्धिमा रमाउनुको सट्टा उल्टै तपाईँसँग प्रतिस्पर्धा गर्ने कोशिश गर्छन् । यस्ता व्यक्तिसँग जति छिटो सक्नु हुन्छ टाढिनुमै तपाईँको हित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप