आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केपी ओली कपमा पुलिस क्लबका कुशल भुर्तेलले बनाए पहिलो शतक

बुधबार, ३० जेठ २०८१, १४ : ४१
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगितामा कुशल भुर्तेलले शतक बनाएका छन् । उनी जारी प्रतियोगितामा नेपाल पुलिस क्लबको तर्फबाट खेल्दैछन् । 

उनले आइतबार पोखरा रंगशालामा खेलिएको मधेस प्रदेशविरुद्धको खेलमा शतक बनाएका हुन् । जारी प्रतियोगितामा बनेको यो पहिलो शतक हो । 

ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ५६ बलमा शतक पुरा गरेका हुन् । शतक पुरा गरेलगत्तै अर्को बलमा उनी आउट भएका थिए । उनलाई मधेस प्रदेशका विशाल सुसलिङ आफ्नो बलिङमा आफैले क्याच गरेका थिए । 

पेभेलियन फर्किनुअघि कुशल भुर्तेलले ५७ बलको सामना गरी सात छक्का र आठवटा चौका हिर्काएका थिए । १६औँ ओभरको अन्तिम बलमा पेभेलियन फर्किनुअघि कुशल भुर्तेल र सुनिल धमलाले नेपाल पुलिस क्लबका लागि एक सय ३८ रनको साझेदारी गरेका थिए । 

अर्का ओपनर सुनिल धमलाले टोलीको खातामा ४५ रनको योगदान गरे । उनले लामो समय क्रिजमा टिकेर ४७ बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । उनी तेस्रो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । उनलाई मधेस प्रदेशका बलर विशाल पटेलले विकेटकिपर अनिल साहद्वारा क्याच गराएका थिए । 

तेस्रो नम्बरका ब्याट्सम्यान रसिद खान भने पाँच रनमा तीन रन बनाउँदै आउट भए । रसिदको विकेट पनि विशाल सुसलिङले नै लिएका थिए । विशालले उनलाई राकेश कामतद्वारा क्याच गराएका थिए । चौथो नम्बरका ब्याट्सम्यान दिलिप नाथ तीन बलमा एक रन बनाउँदै आउट भए । विकेटकिपर ब्याट्सम्यानलाई दिलिपलाई विशाल पटेलले बोल्ड गरेका थिए । 

अर्जुन साउद दुई बलमा एक रन बनाउँदै आउट भए । उनलाई रुपेश सिंहले बोल्ड गरेका हुन् । 

करण केसीले अविजित १६ रन बनाए । उनले पाँच बलमा एक छक्का र दुई चौका पनि हिर्काए । कप्तान आरिफ शेख एक बलमा ६ रन बनाउँदै अविजित रहे । 

पुलिस क्लबले अतिरिक्त रुपमा एक रनमात्र पायो । समूह ‘सी’ अन्तर्गतको उक्त खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको विभागीय टोली नेपाल पुलिस क्लबले मधेस प्रदेशको टोलीलाई जितका लागि एक सय ७६ रनको लक्ष्य दिएको छ । 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप