आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा सडक महोत्सवको तयारी सुरु, यसपालि रजत वर्ष मनाइने

बुधबार, ३० जेठ २०८१, १५ : १४
बुधबार, ३० जेठ २०८१

पोखरा । पोखरामा हरेक वर्ष आयोजना हुँदै आएको अङ्ग्रेजी नयाँ वर्षको नयाँ वर्ष लक्षित सडक महोत्सवको तयारी थालिएको छ । यो वर्ष महोत्सव पुस १२ देखि १६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले २५ वर्षदेखि महोत्सव आयोजना गर्दै आएको छ । यो वर्ष रजत जयन्ती मनाउने तयारीमा जुटेको महोत्सव संयोजक विश्वराज पौडेलले जानकारी दिए । पोखरालाई नयाँ वर्षको गन्तव्य स्थलका रूपमा प्रवर्द्धन गर्न महोत्सव गरिएको उनले बताए । 

पोखराको लेक साइड क्षेत्रको करिब ३ किलोमिटर क्षेत्रमा महोत्सव हुँदै आएको छ । महोत्सवमा मुख्य आकर्षणको रूपमा सांस्कृतिक कार्यक्रम, मौलिक भेसभुसा प्रदर्शन सँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, रात्रिकालीन कन्सर्ट रहनेछन् । 

नयाँ वर्षको दिन लेक साइड क्षेत्रमा सडकमै झर्छन् रेष्टुरेण्टहरु । बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ, पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीहरूको विषयमा टक शो पनि हुने बताइएको छ । वरपर उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पति लगायतका कृषि उपजहरूलाई प्राथमिकता साथ स्टलमा राखिने पौडेलको भनाई छ । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले अङ्ग्रेजी नयाँ वर्ष महोत्सव पोखराको ब्रान्डका रूपमा स्थापित भैसकेको बताए । ‘नयाँ वर्ष मनाउन नै पर्यटकहरू पोखरामा भेला हुन थालेका छन् । कतिपय दोहोर्‍याएर आउँछन्,’ उनले भने, ‘पोखरा पर्यटकका लागि सबै सुविधा दिन तयार छ । स्तरीय सुविधा दिन्छौँ ।’ महोत्सवबाट कमाएको रकमबाट २० प्रतिशत पोखराको सुन्दरतामा खर्च गर्ने निर्णय रेवानले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप