कविता : पूजा
बुधबार, ३० जेठ २०८१, १५ : २२
पौने रातमा उठेर
चिसो पानीले नुहाउँदै
म मातेर
मस्त निद्रामा भएको बेला
मेरी आमा
भगवानका पाउमा
अररो कम्मर लगाएर
सकी नसकी
वर्षौंदेखि एउटा
गुप्त वरदान मागिरहेकी छन्
आफ्नो
कुहिएको फोक्सो जाति होस् भन्ने
वरदान
उनले कहिल्यै मागिनन्
बाथ र दमले ग्रस्त
आफ्नो रोगको
उनलाई कहिल्यै पीर भएन
आफू बाँच्ने
वरदान माग्नु पर्ने
होइन र मान्छेले ?
त्यसको सट्टामा उनले
सदैव मेरो
दीर्घ जीवन मागिन्
मानौँ
म बाँचिदिए
उनी त्यसै बाँच्छिन्
र उनको
एक मुट्ठी सास
मेरो हो !