आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईपीएल २०२४

अपडेट : धोनीले पुन: चेन्नईको कप्तानी गर्ने, अन्तत: हार्दिक मुम्बईमा

धेरै खेलाडी रिलिज गर्नेमा कोलकता, कम गर्नेमा पञ्जाब
आइतबार, ३० वैशाख २०८१, २० : १५
आइतबार, ३० वैशाख २०८१

काठमाडौँ । पूर्वभारतीय कप्तान महेन्द्र सिंह धोनीले आईपीएलको आगामी सिजनमा पनि चेन्नई सुपर किंग्सको कप्तानी गर्ने भएका छन् । त्यस्तै हार्दिक पाण्ड्यालाई गुजरात टाइटन्सले रिटेन गरेको लिस्टमा सामेल गरे पनि भारतीय सञ्चारमाध्यमले भने ३० वर्षीय खेलाडीलाई मुम्बई इन्डियन्समा कथित रुपमा ट्रेड गरेको समाचार प्रकाशित गरेको छ । यसको औपचारिक घोषणा चाँडै हुने बताइएको छ ।

आईपीएलका फ्रेन्चाइजीहरूले सन् २०२४ का लागि रिटेन र रिलिज भएका खेलाडीको सूची सार्वजनिक गरेका छन् । आइतबार रिटेन र रिलिज विन्डोको अन्तिम मिति थियो। यद्यपि, रिटेन्सन घोषणा गर्ने समयसीमा सकिए पनि, डिसेम्बर १९ मा दुबईमा हुने लिलामी हुनुभन्दा सात दिन अघिसम्म ट्रेडिङ विन्डो खुला रहन्छ। यसमा पनि खेलाडीहरु साटफेर हुन सक्नेछन् ।

यस सिजनमा २ वटा ठूला कारोबार भएका छन् । तीमध्ये रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले शाहबाज अहमदको स्थानमा राजस्थान रोयल्स (आरआर) मा मयंक डागरलाई स्थान दिएको छ भने लखनऊ सुपरजायन्ट्सले आवेश खानको स्थानमा राजस्थान रोयल्सका देवदत्त पडिक्कललाई समावेश गरेको छ। बेन स्टोक्स र जो रुटले यो सिजन खेल्न अस्वीकार गरेका छन् ।

यस सिजनका लागि शार्दुल ठाकुर र जो रुट जस्ता खेलाडीलाई रिलिज गरिएको छ, जसको अर्थ उनीहरु सबै डिसेम्बर १९ मा हुने लिलामीमा प्रवेश गर्नुपर्नेछ ।कोलकाता नाइट राइडर्सले सबैभन्दा बढी १२ खेलाडी र पञ्जाब किंग्सले सबैभन्दा कम ५ खेलाडी रिलिज गरेको छ ।

फ्रेन्चाइजीको खातामा १०० करोड

यस मिनी लिलामीका लागि टोलीको पर्स ५ करोड भारु बढाएर १०० करोड रुपैयाँ पुर्‍याएको छ । यसको मतलब गत वर्षसम्म टोलीले ९५ करोड रुपैयाँसम्मका खेलाडीलाई आफ्नो टोलीमा राख्न सक्थे भने अब १०० करोड रुपैयाँसम्मका खेलाडी राख्न सक्नेछन् ।

आगामी लिलामीमा खेलाडी किन्न सक्ने क्षमता रिटेन्सन विन्डोद्वारा निर्णय गरिनेछ। यदि कुनै टोलीले १० करोड रुपैयाँको खेलाडी रिलिज गर्छ भने उसले लिलामीमा १५ करोड रुपैयाँ (१० करोड+५ करोड अतिरिक्त) पाउनेछ ।

कुन टोलीले कसलाई रिलिज गर्‍यो ?

डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले बेन स्टोक्स, अम्बाती रायडु, डेभोन प्रिटोरियस, काइल जेमिसन र सिसान्डा मगला जस्ता खेलाडीलाई रिलिज गरेको छ ।

राजस्थान रोयल्सको टोलीले अर्को सिजनका लागि जो रुट, जेसन होल्डर र ओभेड म्याकोयलाई रिलिज गरेको छ भने कप्तान सञ्जु सैमसन, शिमोरन हेटमायर र यशस्वी जैसवाल जस्ता खेलाडीलाई राखिएको छ।

कोलकाताले आफ्ना १२ खेलाडी रिलिज गरेको छ जसमा ६ विदेशी र ६ भारतीय खेलाडीको नाम छ । कोलकाताले शाकिब अल हसन, लिटन दास, डेभिस भिसा, लोकी फर्गुसन, जोन्सन चार्ल्स र टिम साउथी जस्ता विदेशी खेलाडीलाई रिलिज गरेको छ । फ्रेन्चाइजीले रिलिज गर्ने भारतीय खेलाडीमा आर्य देसाई, नारायण जगदीसन, मनदीप सिंह, कुलवंत खेजरोलिया, शार्दुल ठाकुर, उमेश यादव रहेका छन् ।

पञ्जाब किंग्सले राजनगड बाबा र शाहरुख खानलाई रिलिज गरेका छन् । रिलिज भएका खेलाडीमा भानुका राजपाक्षे पनि परेका छन् । फ्रेन्चाइजले ५ खेलाडी मात्रै रिलिज गरेको छ ।

लखनउ सुपर जायन्ट्सले ८ खेलाडीलाई रिलिज गरेको छ । यसमा जयदेव उनाडकट र करण शर्मा जस्ता ठूला नाम छन् । उनाडकटको लखनउसँग २०२३ को सिजन राम्रो रहन सकेन, उनले ३ खेल खेल्ने मौका पाए जसमा उनले कुनै सफलता पाउन सकेनन्।

मुम्बई इन्डियन्सले कुल ११ खेलाडी रिलिज गरेको छ । जसमा इंग्ल्याण्डका फास्ट बलर जोफ्रा आर्चरसहित ६ विदेशी खेलाडी रहेका छन् । आर्चरले चोटका कारण गत सिजन एक खेल पनि खेल्न सकेनन् ।

दिल्ली क्यापिटल्सले टोलीबाट कुल ११ खेलाडी रिलिज गरेको छ । टिमबाट राइले रुसो, सरफराज खान र रोभम्यान पावेल जस्ता ठूला नाम रिलिज भएका छन् । सर्फराज खान घरेलु क्रिकेटका शीर्ष खेलाडीमध्ये एक हुन् । गत सिजन सरफराजले ४ खेल खेल्ने मौका पाएका थिए जसमा उनले जम्मा ५३ रन मात्र बनाउन सकेका थिए ।

गुजरातले फास्ट बलर शिवम मावीलाई टिमबाट रिलिज गरेको छ । २०२२ सिजनमा ६ खेलमा ५ विकेट लिने मावीलाई गुजरात टाइटन्सले २०२३ को आईपीएलमा एक खेल खेल्ने पनि मौका दिएको थिएन। गत सिजन उनलाई ६ करोड भारुमा टोलीले समावेश गरेको थियो । अर्कोतर्फ, रिंकु सिंहविरुद्ध ५ बलमा ५ छक्का खर्च गर्ने बलर यश दयाललाई पनि टोलीले रिलिज गरेको छ ।

सनराइजर्स हैदरावादले इंग्ल्याण्डका अलराउन्डर ह्यारी ब्रुकलाई रिलिज गरेको छ । टोलीले ह्यारी ब्रुकलाई २०२३ सिजनमा १३.२५ करोडमा समावेश गरेको थियो। ब्रुकले आफ्नो पहिलो सिजनमा खासै राम्रो प्रदर्शन गर्न सकेनन्। उनले ११ खेलमा २१.२१ को औसतमा १९० रन मात्र बनाएका छन् ।

रोयल च्यालेन्जर्स बैंग्लोरले फास्ट बलर हर्षल पटेललाई रिलिज गरेको छ । हर्षल २०१२ देखि २०१७ सम्म आरसीबीको हिस्सा थिए। २०१८ देखि २०२० सम्म दिल्ली क्यापिटल्समा रहेपछि, उनी सिजन २०२१ मा बैंग्लोरमा फर्किए र १५ खेलमा ३२ विकेट लिए । हर्षलले त्यो सिजनपछि टिम इन्डियाका लागि टी–२० अन्तर्राष्ट्रियमा डेब्यू पनि गरेका थिए । त्यसपछि टोलीमा हर्षलको प्रदर्शन लगातार घट्दै गयो । २०२२ सिजनमा १५ खेलमा १९ विकेट लिएका थिए भने २०२३ मा १३ खेलमा १४ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप