आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प पुनर्निर्माण

चिसोले पीडितको स्वास्थ्य बिग्रँदो, अस्थायी आवास निर्माण गर्न स्रोतसाधनकै अभाव

कसरी काम गरिरहेका छन् दलहरूले ?
मङ्गलबार, ०१ जेठ २०८१, १४ : २८
मङ्गलबार, ०१ जेठ २०८१

सुर्खेत । जाजरकोट भूकम्पले क्षति पुर्‍याएको प्रभावित क्षेत्रका नागरिकहरू यतिबेला पालमुनि कष्टकर दैनिकी गुजारिरहेका छन् । भूकम्प गएको आधार महिना बितिसक्दा पनि अस्थायी आवास निर्माण हुन नसक्दा कठ्याङ्ग्रिँदो चिसोमा ज्यान जाने जोखिम बढिरहेको छ । चिसोका कारण अहिलेसम्म १३ जनाले ज्यान गुमाइसके । तर राज्यबाट हुनुपर्ने कार्य भने तदारुकता साथ हुन सकिरहेका छैनन् । कात्तिक २६ गते नै आवास निर्माणको कार्यविधि पास गरेको सरकारले भूकम्पपीडितलाई दिनुपर्ने ५० हजार रकम वितरण गर्न सकिरहेको छैन । दुई किस्तामा वितरण हुने भनिएको उक्त रकमको पहिलो किस्ता पनि सबैले प्राप्त गर्न सकिरहेका छैनन् । 

राज्यको घुमाउरो प्रक्रियाका कारण ढिलाइ भइरहेको र चिसोले नागरिकको ज्यान जाने सम्भावना बढिरहेको भन्दै सरोकारवालाले तत्काल अस्थायी आवास निर्माणका ध्यान दिनुपर्ने बताइरहेका छन् । यद्यपि विभिन्न राजनीतिक दलहरू भने प्रभावित क्षेत्र केन्द्रित भएका छन् । सबैजसो दलबाट हजारौँको सङ्ख्यामा नेता, कार्यकर्ता भोलेन्टियरका रूपमा प्रभावित क्षेत्रको व्यवस्थापनमा जुटेका हुन् । 

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दल भने भूकम्प प्रभावित क्षेत्रको व्यवस्थापनमा सक्रिय बनेका छन् । यी दलहरूले आफ्ना भ्रातृ सङ्गठनलाई प्रभावित क्षेत्रमा तैनाथ गरिरहेका छन् । एमालेका केन्द्रीय सदस्य तथा विपत् व्यवस्थापन विभागका प्रमुख किरण पौडेलको नेतृत्वमा जाजरकोट र रुकुमपश्चिमा गरी एक हजार एक सय नेता, कार्यकर्ता भोलेन्टियरका रूपमा प्रभावित क्षेत्रमा खटिएका छन् भने माओवादी केन्द्रको प्रदेश कमिटीले नै ३१०० नेता, कार्यकर्ताहरू प्रभावित क्षेत्रमा खटिएको दाबी गरेको छ । 

घर पन्छाउँदै माओवादी निकट अखिल क्रान्तिकारीको टोली  2

जाजरकोट र रुकुमपश्चिम माओवादीका आधार क्षेत्र हुन् । दुवै जिल्लाका सिङ्गो पार्टी कमिटी भोलेन्टियरका रूपमा युद्धस्तरमा खटिएको छ भने बाहिरी जिल्लाबाट पनि नेता, कार्यकर्ता पुनर्निर्माणमा जुटेका छन् । माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा मात्रै २०० जना बिहीबारदेखि प्रभावित क्षेत्रमा जुटेका छन् । माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रत्येक वडामा १०० देखि २०० नेता, कार्यकर्ताहरू पुनर्निर्माणमा खटिएको दाबी गर्छिन् । 

5

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा तीनवटा समूहले काम गरिरहेको छ । कांग्रेस प्रदेश समितिका प्रवक्ता दमन शाहीका अनुसार उक्त समूहका नेविसङ्घ, तरुण दललगायतका विभिन्न सङ्गठनका नेता, कार्यकर्ता छन् । अब १४ जना केन्द्रीय सदस्यको नेतृत्वमा प्रत्येक ठाउँमा टिम परिचालन गर्ने गरी कार्यतालिका बन्दै छ ।  

एकीकृत समाजवादी निकट विद्यार्थी संगठन

समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र युवा सङ्घको टोली पनि प्रभावित क्षेत्रमा खटिएको छ । आरती लामाको नेतृत्वमा अनेरास्ववियुको ५० जनाभन्दा बढीको टोली प्रभावित क्षेत्रमा खटिएका छन् । 

यस्तै रास्वपाको जिल्लाको टोली पनि निरन्तर प्रभावित क्षेत्रमै सक्रिय रहेको छ । 

रास्वपाद्धारा निर्माणाधिन अस्थायी आवस अनुगमन गर्दै सांसद निशा डाँगी  2

–कसरी काम गरिरहेका छन् दलहरूले ? 

एमालेका नेता, कार्यकर्ता भने अघिल्लो शुक्रबारदेखि नै प्रभावित क्षेत्रमा सक्रिय भएर काम गरिरहेका छन् । दुवै जिल्लाको कमान्ड गरिरहेका किरण पौडेलका अनुसार एक हजार ७५ जना फिल्डमै सक्रिय छन् भने त्यसमा बाँकी स्वयंसेवक सामान ढुवानी गर्नेदेखि खानपिनको व्यवस्थापन कार्यमा सक्रिय छन् ।

एमाले स्वयंमसेवकहरु

यसरी पुनर्निर्माणमा खटिने १५ वटा टोली रुकुम पश्चिममा छ । त्यस्तै एमालेले कार्यकर्तालाई कार्य विभाजन गरी २५ वटा टोलीलाई जाजरकोटमा अस्थायी आवास निर्माण, भत्किएका घरहरू पन्छाउने काम लगाइरहेको पौडेलले रातोपाटीलाई जानकारी दिए । ‘हजारौँ घर ध्वस्त छन्, हामीले प्राथमिकताका आधारमा काम गरिरहेका छौँ,’ उनले भने, ‘असहाय, ज्येष्ठ नागरिक, अशक्त, एकल महिला र गरिबीको रेखामुनि रहेका नागरिकलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ । दोस्रोमा स्थानीयको माग अनुसार हामीले काम गरेका छौँ ।’ 

शुक्रबारबाट बारेकोटमा पनि काम सुरु गरिएको उनले बताए । बारेकोट भूकम्पको इपिसेन्टर हो । त्यहाँ थप ५० जनाको फोर्स पठाउने तयारी भइरहेको उनले बताए । पहुँच नपुगेको र विकट कुसे गाउँपालिकामा पनि थप ५० जनाको फोर्स पठाइँदै छ । उनी भन्छन्, ‘सबैजसो ठाउँमा एमालेको सहभागिता छ । हामीले आफ्ना लागि चाहिने खाद्यान्नलगायत हरेक कुरा आफैँले गरेका छौँ । आफ्ना निम्ति बस्ने टेन्टसमेत बनाएर बसेका छौँ, दुई ठाउँमा सेन्ट्रल क्याम्प छ । यस्तै बाटामा आउनेहरूलाई असजिलो भएको खण्डमा बस्ने भनेर दुई ठाउँमा क्याम्प बनाएका छौँ ।’ 

उनका अनुसार एमाले स्वयंसेवकले मुख्यगरी भग्नावशेष पन्छाउने र टहरा निर्माण गर्ने कामलाई प्राथमिकता दिएका छन् । पुरिएका सामान निकाल्ने, भत्किएका संरचना सफा गरिदिने, आधा भत्किएको छ भने पनि त्यसलाई पूर्ण रूपमा भत्काई खाली गरिदिने काम भइरहेको पौडेल बताउँछन् । ‘हामीले ठाउँ हेरेर, स्थानीय स्रोत साधनलाई मध्यनजर गरेर टहरा निर्माणको काम गरेका छौँ,’ उनले भने, ‘कतिपय संरचना दिगो हुने तरिकाले पनि बनेका छन्, नलगाड नगरपालिकामा भोलिसम्म २० वटा अस्थायी बसोबासका लागि अस्थायी आवास बनाइसक्छौँ । स्ट्रक्चर कस्तो बनेको छ भने पछि सरकारले दिएको रकमबाट टिन खरिद गरेर माथिबाट छानो हाले पुग्ने खालको छ । त्यो खालको फाउन्डेसन र मेटेरियल बनाइएको छ । कतिपय स्थानमा स्रोत नै छैन, त्यहाँ स्थानीय स्तरमा पाइने काठ जोडेर तत्काल घामपानीबाट जोगाउने, हावाहुरीबाट जोगाउने खालको र पछि अर्को संरचना निर्माण गर्नुपर्ने खालको अस्थायी संरचना बनाइएको छ ।’ 

चिसो पालमुनि रहेका जनतालाई त्योभन्दा अलि सुरक्षित स्थानमा राख्ने गरी काम भएको उनले बताए । अहिलेसम्म एमाले स्वयंसेवकले दुई जिल्लामा करिब ५०० अस्थायी टहरा निर्माण गरेको उनको आकलन छ । रास्वपाले अहिलेसम्म १७ वटा अस्थायी टहरा निर्माणको काम गरेको छ । तीमध्ये १० वटा पूर्ण रूपमा बनिसकेका छन् भने बाँकी सम्पन्न हुने तयारीमा छन् ।      

रास्वपाद्धारा निर्माणाधिन अस्थायी आवस अनुगमन गर्दै सांसद निशा डाँगी

रास्वपाको भौतिक पूर्वाधार विभाग प्रमुखसमेत रहेकी सांसद निशा डाँगीका अनुसार आठबिस नगरपालिकाको–१४ र सानोभेरी गाउँपालिकाको १, २ र ४ वडामा अस्थायी आवास निर्माण गरिएको छ । रास्वपा रुकुमका नेतासमेत रहेका इन्जिनियर मानबहादुर शाहीको टोलीले ती संरचना निर्माण गरेको हो भने अरू आवास पनि निर्माण गर्ने तयारी भइरहेको उनले बताए । ‘पार्टीको जिल्लाका सबै साथी नै स्वयंसेवकको रूपमा आवास निर्माणमा खटिनुभएको छ,’ सांसद डाँगीले रातोपाटीसँग भनिन्, ‘रुकुम पश्चिममा ३०, ३५ जना र केही जाजरकोटमा हुनुहुन्छ, केही सल्यानबाट पनि आउनुभएको छ ।’ 

कांग्रेसका प्रदेश समिति प्रवक्ता दमन शाही कांग्रेसका स्वयंसेवकले अहिलेसम्म कम्तीमा करिब १०० को हाराहारीमा अस्थायी आवास निर्माण भएको अनुमान गर्छन् । ‘११ हजार आवास पार्टीका तर्फबाट निर्माण गर्ने हाम्रो लक्ष्य हो,’ उनले रातोपाटीसँग भने, ‘प्रदीप पौडेलको टोली नलगाड, भेरीको रिम्नालगायतका क्षेत्रमा काम गरिरहेको छ ।’ 

कांग्रेसले कर्णालीमा भूकम्प प्रभावितका लागि पुनर्स्थापना सहजीकरण तथा अनुगमन समिति पनि बनाएको छ । रुकुम पश्चिममा कांग्रेस नेता कृष्णबहादुर रोकाया र जाजरकोटमा सनक रोकायाको नेतृत्वमा जिल्लाको टोली पनि प्रभावित क्षेत्रमा छ ।

माओवादीले जिल्ला र प्रदेशको सम्पूर्ण शक्तिलाई पुनर्स्थापनामा खटाएको छ । जाजरकोटका शक्ति बस्नेत सुरुदेखि नै सक्रिय छन् भने रुकुम पश्चिममा जनार्दन शर्माको कमान्डमा सिङ्गो पार्टीको जिल्ला कमिटी नै भोलेन्टियरका रूपमा पुनर्निर्माणमा सक्रिय छ ।

घर पन्छाउँदै माओवादी निकट अखिल क्रान्तिकारीको टोली

यस्तै समाजवादीले पार्टीका तर्फबाट करिब ५०० अस्थायी आवास निर्माण गर्ने लक्ष्य लिएको छ ।  

चाँडो अस्थायी आवास निर्माण गरिनुपर्ने

प्रभावित क्षेत्रमा खटिएका नेताहरू अस्थायी आवास निर्माणमा ढिलाइ भइरहेको बताउँछन् । मङ्सिरभित्र पालमुक्त गरेर अस्थायी आवासमा स्थानान्तरण नगर्ने हो भने चिसोले ज्यान जाने खतरा बढिरहेको नेताहरूको भनाइ छ । यद्यपि सरकारले अस्थायी आवास निर्माणबारे अहिलेसम्म कुनै तदारुकता देखाएको छैन । माओवादीका प्रदेश अध्यक्ष विमला केसी भन्छिन्, ‘अहिले भूकम्प प्रभावित जिल्लाहरूको आवश्यकता अस्थायी आवास निर्माण हो, चिसोले नागरिकको स्वास्थ्य बिग्रिरहेको छ । अस्थायी आवास निर्माण कार्यमा जमेर लाग्नुपर्छ ।’ 

मङ्सिर महिनाभित्र अस्थायी आवास निर्माण गरिसक्नु अनिवार्य आवश्यकता भएको उनको भनाइ छ । यद्यपि प्रभावित जिल्लाहरूमा टिनलगायतका पूर्वाधार सामग्रीको अभाव भइरहेको केसी बताउँछिन् । रास्वपा सांसद डाँगी प्रभावित क्षेत्रमा राज्यबाट प्रशस्त त्रुटिहरू भइरहेको बताइन् । ‘सार्वजनिक संरचनाका भवनहरू सामान्य त्रुटिले भत्किएको देखियो,’ उनले भनिन्, ‘राहत वितरणमा पनि त्रुटि देखिएको पाएँ । पार्टीगत रूपमा वितरण गरिएको भन्ने कुरा पनि मैले सुनेँ ।’ 

कांग्रेस प्रदेश कमिटीका प्रवक्ता शाही सार्वजनिक संरचना निर्माणका लागि चाँडो पहल गर्नुपर्ने बताउँछन् । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह पनि जनतालाई पालबाट छिटो मुक्त गराउन आवश्यक रहेको बताउँछिन् । ‘पालमुनि वृद्धवृद्धा र बालबालिकाको अवस्था निकै कठिन छ, कसैको आँखा सुनिएको छ, मुख सुनिएको छ, रुघाखोकी, टन्सिल जस्ता बिरामी बढिरहेको देखिन्छ,’ उनले भनिन् । 

भूकम्पबाट जाजरकोट, रुकुम पश्चिममा मात्रै करिब ६० हजार बढी घरमा क्षति पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप